सीए हापेका ऋषिलाई फापेको ‘किताब यात्रा’ (भिडिओसहित) – Nepal Press

सीए हापेका ऋषिलाई फापेको ‘किताब यात्रा’ (भिडिओसहित)

काठमाडौं । २०७४ सालको पुस महिनाको ठिहिर्‍याउने जाडो । ऋषिराम अधिकारी र विकेश भट्टराई साथीको बाइकमा बानेश्वरबाट नयाँबजार हुइँकिए । उनीहरुको झोलामा थियो पर्ल एस बकद्वारा लिखित पुस्तक ‘द गुड अर्थ’ ।

नयाँबजार पुगेर एक महिला पाठकलाई पुस्तक थमाइदिए ।

महिलाले धन्यवाद दिइन् । अधिकारी र भट्टराईले किताबको पैसा बुझे र फिरे ।

आजभन्दा ६ वर्ष पहिला किताब यात्राको पहिलो अर्डर र पहिलो डेलिभरी त्यही थियो । नयाँ बजारमा पहिलो डेलिभरी दिएको किताब यात्रा अहिले देशको कुनाकुनामा पुगिसकेको छ, संसारमा ७० देशमा घुमिसकेको छ । एक लाख पाठकलाई डेलिभरी भइसकेको छ । ५ लाख ज्यादा पुस्तक बेचिइएको छ । ६ संस्करणको किताब जात्रा साहित्य उत्सव मनाइसकेको छ ।

क्याप्सन : किताब डेलिभरी गर्दै किताब यात्राका संचालक ऋषिराम अधिकारी र विकेश भट्टराई

पाठकले जहाँबाट अर्डर गर्छन्, त्यही किताब पुर्‍याइदिनु किताब यात्राको उद्देश्य हो ।

काठमाडौंको नयाँबजारका पाठकको हातमा पुगेको ‘द गुड अर्थ’ पुस्तक पहिलो यात्रा दिल्लीबाट भएको थियो । र ऋषिको यात्रा पनि दिल्लीबाटै भएको थियो । किताब यात्राको पहिलो भ्रुण दिल्लीमै विकास भएको थियो । जहाँ ऋषि चार्टर्ड अकाउन्टेन्ट पढिरहेका थिए ।

सीएको पढाइ चौथो वर्षमा पुगिसकेको थियो । छोरो सीए भएको तस्बिर घरमा झुण्डाउने ऋषिकी आमाको सपना पनि चौथो वर्षमै पुगिसकेको थियो । ऋषि दिल्लीबाटै नेपालका अनलाइनहरुमा लेख्थे  । हरेक शुक्रबार र शनिबार फरिदावादमा हुने कोरस गायनमा समेत उनी सहभागी हुन्थे । लिड भोकलिस्टलाई साथ दिने ऋषिलगायत ९-१० जना अन्य गायकगायिका थिए । जहाँबाट एक हजार भारु आउँथ्यो नै, सँगै स्वादिला खानपिनले ऋषिको गाउने सौखमा मसलाको काम गरिरहेको थियो ।

एक दिन दिउँसो साढे एक बजेतिर ।

दिल्लीको लक्ष्मीनगरको कोठामा ऋषिका साथी बादल बस्नेत खाना पकाइरहेका थिए । बाहिरबाट मेट्रो, अटोका आवाज कोठामा छिरिरहेको थियो । बाहिरबाट कोठामा हुत्तिएर आएको आवाजलाई नै रोक्दै कुकरको सिठ्ठी बज्यो ।

ऋषि सुनाउँछन्, ‘त्यो कुकरको सिठ्ठी नौलो त थिएन । तर, त्यस दिन सिठ्ठीको आवाज बेग्लै लाग्यो । मलाई केही भनिरहेको छ कि भन्ने लाग्यो । अहो, मैले केही फरक गर्नैपर्छ भन्ने लाग्यो ।’

अनि ऋषिले नेपालका पढन्थेहरुको फेसबुक ग्रुप बुकाहोलिक्समा एक स्टाटस लेखे, ‘तपाईंहरुलाई केही पुस्तक चाहिएको छ भने भन्नुहोस् । दिल्लीबाट लिएर आउँछु ।’

उनको पोस्टमा २०० हाराहारी कमेन्ट आए । मान्छेहरुले पुस्तक अर्डर गरे ।

एक दिन बिहान ट्वाइलेटमा ऋषिले नाम सोचे, ‘किताब यात्रा’ । तर, किताब यात्राले कति लामो यात्रा गर्छ, उनैलाई यकिन थिएन । स्टार्टअपमा केही गर्ने सोच भने उनको दिमागमा निकै पहिलेदेखि नै घुमिरहेको थियो ।

अनि ऋषि दिल्लीको दरियागञ्ज पुगे । कोरस गाउँदादेखि उपहारमा पाएको औंठी बेचेर २७ हजार ५०० को चार धोक्रा किताब किने र सत्याग्रह एक्सप्रेस चढेर दिल्लीबाट रक्सौल आइपुगे । रक्सौलबाट काठमाडौं आइपुगे । बानेश्वरमा साथीको कोठामा पुस्तक राखे ।

त्यही चार धोक्रामध्ये एउटामा रहेको एक किताब नै ‘द गुड अर्थ’ थियो । जो नयाँबजारमा पहिलो पटक ‘आउन त आउँछ नि ?’ भनेर आशंका व्यक्त गरेकी पाठकको हातमा पर्‍यो ।

०००

ऋषिले ल्याएको धोक्रामा नवाजुद्दिन सिद्दिकीको भर्खरै प्रकाशित आत्मकथा ‘एन अर्डिनरी लाइफ’ पनि थियो । जो बजारमा गएपछि कन्ट्रोभर्सीमा परेर पुनः प्रकाशकले फिर्ता लिएको थियो । तर, ऋषिले ल्याएको पुस्तक भने फिर्ता हुन सकेन । उनले बुकाहोलिक्सको पोस्टमा अर्डर गरेका पाठकलाई जिम्मा लगाइदिए ।

२७ हजार ५०० को चार धोक्रा किताब ४५ हजार भारुमा परिणत भयो । किताब बेचेर भएको फाइदाले ऋषिलाई आकर्षित गर्‍यो । दिल्लीबाट कुम्लोकुटुरो बोकेरै पुनः सीए कहिल्यै पनि नपढ्ने गरेर नेपाल फिरेका थिए, सीएलाई बिट मारेर किताबको यात्रामा निस्किएका थिए । तर, ऋषिको यस यात्राबारे उनकी आमा भने बेखबर थिइन् ।

ऋषिले सीए छाडेको परिवार कसैलाई पत्तो थिएन । तर, ऋषिले किताब यात्रा सुरु गरेको सबैलाई पत्तो थियो । परिवार सोच्थ्यो, ‘सीए पनि पढ्दैछ, काम पनि गर्दैछ ।’

ऋषि किताबकै यात्रामा निस्कनुमा दुईतीन वटा कारण थिए । ऋषिका अनुसार उनको घरमा रामायणलगायत धार्मिक किताबहरु हुन्थे । ती किताबले कोर्सभन्दा बाहिरका किताबमा बढी रुचि जगाइदिएका थिए । ऋषिका बुवा पनि समाजसेवी थिए लालबन्दीमा । स्कुलका लागि जग्गा दिएर स्कुलको भवन बनाइदिएका थिए । शिक्षा प्रणाली सुधार गर्नुपर्छ भन्ने तर्क गर्थे ।

अर्कातिर लालबन्दीमा पुस्तकहरुको निकै खाँचो थियो । कि चितवन कि त हेटौंडा जानुपर्ने अवस्था थियो । यो बाध्यताले पनि उनका सुषुप्त रुपमा ज्ञान बाँड्ने किताब जस्तो कुरा मान्छेले चाहेको ठाउँमा तुरुन्त पुग्ने अवस्था बने कति राम्रो हुन्थ्यो भन्ने सोच्थे ।

त्यसवेला भारतमा अमेजन, फ्लिपकार्टलगायतले ई-कमर्समा काम गरिरहेका थिए । त्यस्तै काम नेपालमा गर्ने सोच त ऋषिमा थियो । तर, ठ्याक्कै के गर्ने त ? स्टार्टअप त यस्तो होस्, जसले समाजलाई पनि योगदान देओस् ।

ऋषि सुनाउँछन्, ‘अनि मैले पुस्तकको व्यवसाय गर्ने निर्णय लिएँ । जसले भाषा, साहित्य, लिपिलाई पुस्तान्तरण गर्न सहयोग गरोस् । यसमा मलाई अक्षरप्रतिको मोह र प्रेम भएर पनि होला । अनि किताब बेच्ने पेशामा लाग्नुपर्छ भन्ने लागेको हो ।’

०००

अहिले त ऋषिले सीए हापेको उनको आमालाई थाहा भइसक्यो । तर, आमा ऋषिले जे गरे पनि खुशी नै हुने भइन् । भलै घरमा सीएको फोटो देख्न पाइनन् । यदि सीए बनेको भए कुनै कम्पनीको अडिट गर्दै हुन्थे ऋषि । अनि लाखौं पाठक, हजारौं लेखक र सयौं प्रकाशकको माया सीएलाई हुने थिएन । किताब यात्रा र ऋषिले अहिले त्यही माया पाइरहेको छ ।

ऋषि सुनाउँछन्, ‘त्यही माया देखेपछि आमाले सीए हापेको खासै चित्त दुःखाउनुभएन ।’

अहिले त ६ वर्षको भइसकेको छ किताब यात्रा ।

ऋषि सम्झिन्छन्, ‘६ वर्षको अवधि त्यति ठूलो यात्रा त होइन । तर, हाम्रा लागि ठूलो यात्रा जस्तो लाग्छ । कति घण्टाहरु, कति मिनेटहरु कसरी गुजारेका छौं, हामीलाई मात्रै थाहा छ ।’

अहिले किताब यात्राले ७० देशमा डेलिभरी दिन्छ । देशभर डेलिभरी सेवा दिन्छ । छैटौं किताब जात्रा साहित्यिक महोत्सव आउँदो माघमा गर्ने तयारी गरिरहेका छन् । दिल्लीमा मात्रै किताब जात्राका तीन संस्करण भए । केही समयअघि बेलायतमा पनि किताब जात्रा गरेर आए ।

ऋषिलाई अहिले पनि सम्झना छ, पहिलो साहित्यिक डेलिभरी सरस्वती प्रतीक्षाको ‘नथिया’ थियो । जुन किताब बालकोटका कोही पाठकले मगाएका थिए । ऋषिलाई अहिले पनि याद छ, किताब यात्राबाट पहिलो डेलिभरी लिने लेखक नयनराज पाण्डे थिए । पाण्डेले ‘हंश’ नामक प्रगतिशील कथा मासिकको तीन अंक मगाएका थिए ।

ऋषिलाई अहिले पनि याद छ, किताब यात्राको सेवा लिने पहिलो कलाकार ऋचा शर्मा थिइन् । राजनीतिज्ञमा केपी ओली थिए । केपी ओली प्रधानमन्त्री हुँदा डा. पाण्डुरंग वामन काणेले लेखेको ‘धर्मशास्त्रका इतिहास’को पाँच भोल्युम प्रधानमन्त्री निवासमा पुर्‍याइदिएका थिए । दोस्रो पटक ओलीलाई ‘रसियन एन्टी स्टोरिज’ डेलिभरी गरिदिए । तेस्रो पटक ‘ओशो गीता दर्शन’का आठ भोल्युम डेलिभरी दिए । चौथोपटक महाकवि लक्ष्मीप्रसादका सबै कृतिहरुको संकलन डेलिभरी दिए ।

क्याप्सन : किताब यात्राबाट पुस्तक प्राप्त गरेपछि केपी ओलीले लेखेको स्टाटस । किताब यात्राले महाकवि लक्ष्मीप्रसाद देवकोटाका सम्पूर्ण किताब अर्डर गरेका थिए ।

ओलीका पिता मोहनप्रसाद ओलीलाई पनि ‘प्रल्हाद भक्ती कथा’ डेलिभरी दिएका छन् ऋषिले ।

क्याप्सन : केपी ओलीका पिता मोहनप्रसाद ओलीलाई ‘प्रल्हाद भक्ति कथा’ डेलिभरी गर्दै किताब यात्राका संस्थापक ऋषिराम अधिकारी

बैंकरहरुमा पहिलो पटक मनोज ज्ञवालीलाई इन्सपिरेसनल ११ वटा किताब डेलिभरी दिए । जसमा ‘पावर अफ योर कन्सस माइन्ड’, ‘हाउ टु विन फ्रेण्डस् एण्ड इन्फ्लुएन्स पिपल’लगायतका पुस्तक थिए । पहिलो अन्तर्राष्ट्रिय डेलिभरी मेरिना सुवेदीलाई अस्ट्रेलिया कुरियर गरे ।

भारतीय गायक, कवि पियुष शर्मालाई किताब जात्रामा काठमाडौं ल्याए । पियुष सम्झन्छन् ऋषि, ‘उहाँलाई नेपाल ल्याउँदैछु भन्दा कसैले पत्याएनन् । किताब जात्रामा ल्याएपछि सबैले पत्याए । उहाँलाई जानेवेला मैले सारंगी र ढाकाटोपी उपहार दिएको थिएँ । संयोग कस्तो भने सारंगी चाहिँ सत्यमोहन जोशी मार्ग अगाडिको पसलबाट किनेको थिएँ ।’

०००

ऋषिले किताब यात्राकै क्रममा ‘कारागारमा लाइब्रेरी’ अभियानसमेत चलाए । भलै त्यो अभियान भने अहिले केही समयका लागि प्राविधिक कारणले रोकेका छन् । तर, कारागारमा लाइब्रेरी अभियानको क्रममा ऋषिको अनुभूति भने गजबको छ । यो अभियानअन्तर्गत नख्खु कारागार पुगेका थिए ऋषि ।

त्यहाँका सुरक्षाकर्मीले भने, ‘सुरक्षाको हिसाबले अलि गाह्रो होला । मानसिकलगायत समस्या भएका कैदीहरु पनि छन् ।’

तर, ऋषि कारागारभित्र गए केही सहयोगीका साथ । उनीहरुसँग संवाद गरे । आफ्नो योजना सुनाए र फिरे । यसपछि त कैदीहरुले किताब यात्रालाई फोन पो गर्न थाले ।

ऋषि सुनाउँछन्, ‘उहाँहरुले फोन गरेर किताब अर्डर गर्न थाल्नुभयो । परिवारलाई फोन गर्न छुट्याएको समय हामीलाई फोन गरेर किताब अर्डर गर्नुभयो । त्यो भनेको उहाँहरु पढ्न खोजिरहनु भएको छ । अचम्म त के लाग्यो भने उहाँहरुले ‘माइन्ड सेट’ नामक किताबसम्म अर्डर गर्नुभएको छ ।’

ऋषिले कर्पोरेट हाउसमा लाइब्रेरी अभियान पनि चलाए । दुईतीन वटा बैंकमा लाइब्रेरी पनि बनाइदिए । ऋषिको सपना छ, अस्पतालमा पनि लाइब्रेरी होस् । दुईतीन महिना बसेर उपचार गर्नुपर्ने बिरामीहरु पुस्तक पढून् । बिरामी कुरुवाहरुको हातमा पुस्तक होस् । तर, कतिपय अवस्थामा आफूहरुले पुस्तक र लाइब्रेरीबारे राम्रोसँग बुझाउन नसकेकाले योजनाहरु पूरा हुन ढिला भएको हो कि भन्ने उनलाई लाग्छ ।

क्याप्सन : किताब यात्रा सुरू गर्दाताका, एउटा कोठाबाट ऋषिराम अधिकारी र उनका साथीहरूले यो व्यवसाय सुरु गरेका थिए ।

ऋषि भन्छन्, ‘तर, हामी कति पनि विचलित छैनौं । हाम्रो उद्देश्य भनेकै कारागार, अस्पताल, कर्पोरेट हाउसहरुमा पुस्तक होस् भन्ने हो ।’

ऋषिले पुस्तकको दुनियाँमा ठूलो बजार देखेका छन् । तर, आफूहरुले सानो टुक्रा जति पनि काम गर्न नसकेको उनको बुझाइ छ । ऋषिका अनुसार नेपालीहरु भएका संसारभरका देशहरुमा पुस्तक पुर्‍याउनै बाँकी छ । ठूलो मात्रामा किताबहरु बिक्री हुनै बाँकी छ । ई-बुकमा काम गर्नै बाँकी छ । अडियो बुकमा काम गर्नै बाँकी छ । यात्रा पब्लिसिङ भनेर पब्लिकेसन सुरु गरेका छन् । उनलाई लाग्छ, यस पब्लिकेसनबाट राम्रा पुस्तकहरु प्रकाशन गर्नै बाँकी छ ।

साहित्यमा पनि हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’, अमर न्यौपानेको ‘सेतो धरती’, बुद्धिसागरको ‘कर्णाली ब्लुज’, सुविन भट्टराईको ‘इजोरिया’लगायत दर्जनौं पुस्तक हजारौंको संख्यामा किताब यात्राले मात्रै बेचेको छ ।

ऋषि सुनाउँछन्, ‘हामीले कस्ता किताब निकालिरहेका छौं ? हाम्रा पाठकले खोजेको किताब कस्तो हो ? यसको समीक्षा गर्नै बाँकी छ । रिसर्च डेभलपमेन्टमा काम गर्नै बाँकी छ । पठन संस्कृतिको विकासमा लगानी के के गर्न सकिन्छ, अध्ययन गर्नै बाँकी छ । यसमा राज्यले पनि चासो दिन जरुरी छ । भलै नतिजा तत्काल नदेखिएला, दुईतीन पुस्तापछि पनि देखिन सक्छ । तर, जरुर देखिनेछ ।’

ऋषिलाई अहिले पनि सम्झना छ, किताब यात्राको सुरुवातकालीन समयमा उनी एक भुपू सैनिकको घर केही किताब डेलिभरी गर्न पुगेका थिए । ती सैनिकले ऋषिलाई खाजा खुवाएर २०० रुपैयाँ टिप्स पनि दिएका थिए । त्यो पैसा अहिले पनि ऋषिले सुरक्षितसाथ राखेका छन् ।

पाठक वा ग्राहकको त्यस्तो माया पाएपछि पुलकित बनेका ऋषि किताब यात्राको यात्रामा झनै दह्रिलो गरी हिँडेका थिए । आज ६ वर्षपछि ऋषि दुई हजारभन्दा बढी किताब उपहारमात्रै दिने हैसियतमा पुगेका छन् । एक जना दाइको बाइकबाट साथीको अफिसबाट सुरु गरेको किताब यात्रा अष्ट्रेलिया, जापान, कोरिया हुँदै माल्टासम्म पुगिसकेको छ ।

ऋषि भन्छन्, ‘दुनियाँ जहाँ पुगे पनि, प्रविधिमा जति फड्को मारे पनि फिजिकल किताबको महत्व छुट्टै हुन्छ, कहिल्यै घट्दैन । त्यसमा प्रविधिले झनै साथ दिएको छ ।’


प्रतिक्रिया

One thought on “सीए हापेका ऋषिलाई फापेको ‘किताब यात्रा’ (भिडिओसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर