राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधामबाट भार यात्रा अयोध्या प्रस्थान (भिडिओ) – Nepal Press

राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधामबाट भार यात्रा अयोध्या प्रस्थान (भिडिओ)

जनकपुरधाम । भारतको अयोध्यामा भगवान् रामको नवनिर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट अयोध्याका लागि भार यात्रा प्रस्थान गरेको छ ।

जनकपुरधामस्थित जानकी मन्दिरमा आयोजित एक कार्यक्रमका बीच जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी र मधेस सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले बिदाई गरेपछि भार यात्रा भारतको अयोध्याका लागि प्रस्थान गरेको हो ।

आज राति भार यात्रा वीरगञ्जमा विश्राम गर्नेछ भने जनवरी ५ तारिखमा सो भार यात्रा अयोध्या पुग्नेछ । अयोध्या पुगेको भोलिपल्ट भार यात्रामा लगिएका पाहुर अयोध्यास्थित रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ एवं भार यात्राका संयोजक रामरोशन दास वैष्णवले जानकारी दिए ।

पाहुरमा विभिन्न प्रकारका कपडा, आभूषण, भाडावर्तनका साथै विभिन्न मिठाई तथा पकवानहरु रहेको छ । यसका साथै भगवान् रामका लागि चाँदीको धनुष वाण, माता सीताको चरण पादुकालगायतका गरगहनासमेत पाहुरमा राखिएको छ ।

जनकपुरधाम निस्किएको भार यात्रा महोत्तरीको जलेश्वरस्थित हुलाकी सडक हुँदै मलंगवा पुग्ने कार्यक्रम रहेको छ । मलंगवाबाट बारास्थित गढीमाई दर्शनपछि वीरगञ्जमा रात्री विश्राम गर्ने कार्यक्रम रहेको छ । विरगञ्जमा वास बसेको भोलिपल्ट निस्किने भार यात्रा भारतको बेतिया, कुशी नगर, सिद्धार्थ नगर, गोरखपुर हुँदै अयोध्या पुग्नेछ ।

जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान रामको प्रतिमाको प्राण प्रतिष्ठा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *