वाणिज्य बैंकको सञ्चालक समितिका अध्यक्षले लिए शपथ
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले ढुंगानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको संस्थागत सुशासन तथा जोखिम व्यवस्थापनमा जोड दिई नेपाल सरकार तथा राष्ट्र बैंकको नीति निर्देशनलाई अंगिकार गर्दै ग्राहकमुखी व्यवसाय बृद्धिमा बैंक लाग्नुपर्ने बताए ।
बैंकका नवनियुक्त अध्यक्ष ढुङ्गानाले बैंकिङ्ग क्षेत्रमा आफ्नो लामो अनुभव भएको बताउँदै सदैव बैंकको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।