कहिले बन्ला पतलीखेत खोला पुल ? – Nepal Press

कहिले बन्ला पतलीखेत खोला पुल ?

डोटी । सजहपुर–बोगटान–दिपायल सडक अन्तरगत पतलीखेत खोलामा निर्माण हुन लागेको मोटरेबल पुल म्याद सकिएको दुई वर्ष बित्दा समेत काम सम्पन्न भएको छैन ।

बोगटान फुड्सिल गाउँपालिका–४ को पतलीखेत खोलामा निर्माण हुन लागेको पुलको काम २०७८ साल असोज २१ गते सम्पन्न भइसक्नु पर्ने थियो तर अहिलेसम्म करिब ५५ प्रतिशत मात्रै काम भएको भएको छ ।

पुल निर्माणका लागि संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कुलपाते डोटीले २०७६ चैत्र २३ गते टेण्डर आव्हान गरेको थियो ।

भ्याट सहित ५ करोड ६ लाख ९२ हजार रुपैयाँ लागत अनुमान रहेको पुल निर्माण गर्न नेपालगञ्जको नेपाल मेघा सिस्ने जेभी छनौट भएको थियो ।

निर्माण कम्पनीले भ्याट सहित तीन करोड ६६ लाख ३० हजार रुपैयाँमा पुल निर्माण गर्ने कबोल गरेको थियो । पुल निर्माणका लागि कम्पनीका प्रतिनिधि बमबहादुर खड्का र कार्यालयबीच २०७७ साल असार २१ गते सम्झौता भएको थियो ।

१५ मिटर लम्बाइ र ७.५ मिटर चौडाइ रहेको पुल निर्माणको कार्य २०७८ साल असोज २१ गते सम्पन्न भइसक्नु पर्ने गरी सम्झौता भएको थियो ।

तोकिएको समयभित्र काम सम्पन्न नभएपछि ठेक्काको म्याद २०८० साल असार २५ गतेसम्म थप भएको थियो । सो अवधिमा पनि काम सम्पन्न भएन । त्यसयता ठेकेदार सम्पर्कमै आउन नचाहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

‘गत वर्षदेखि ठेकेदारले कुनै काम गरेको छैन, काम गर्छु मात्रै भन्छन् तर काम गर्न आउँदैनन्’ सडक डिभिजनका सूचना अधिकारी रामप्रसाद जोशीले भने ‘हामीले पटक पटक पत्राचार गरेका छौँ, तर पनि मान्दैनन् ।’

उनले ठेकेदारका प्रतिनिधि खड्का सम्पर्कमै आउन नमानेपछि मूल ठेकेदार दीपेन्द्र शाहीलाई पत्राचार गरिएको बताए ।

‘ठेक्का सम्झौता रद्द गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोधेपछि शुक्रवार मूल ठेकेदार शाहीकी श्रीमती सम्पर्कमा आउनु भएको छ’ सूचना अधिकारी जेशीले भने ‘उहाँले तुरुन्तै काम अगाडी बढाउने भनेर जानु भएको छ ।’

यदि फेरी पनि काम सुरु नभए ठेक्का सम्झौता रद्द गर्ने प्रक्रियामा जाने उनले बताए ।

पुल निर्माणका लागि हालसम्म ठेकेदारले ५२ प्रतिशत रकम भुक्तानी लिएको जोशीले जानकारी दिए ।

ठेकेदारले लगेको १६ लाख २१ हजार रुपैयाँ पेश्की फर्छ्यौट नभएको समेत जोशीले जानकारी दिए ।

यदि धमाधम काम गर्ने हो भने चार पाँच महिनामै पुल निर्माण हुने जोशीको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर