बुटवलमा सार्वजनिक क्षेत्र ओगटेका घरटहरा हटाउन सुरु
रुपन्देही । बुटवल उपमहानगरपालिकाले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान सुरु गरेको छ । सार्वजनिकस्थल अतिक्रमण गरी बनाएका संरचना हटाएर विश्रामस्थल, पार्क र चौतारी निर्माण गरिने उपमहानगरले जनाएको छ ।
अभियानअन्तर्गत आइतबार बुटवल उपमहानगरपालिका- ५ हाटबजार लाइनका ३ वटा टहरा र नेपालगञ्ज रोडको एउटा टहरा भत्काइएको छ ।
पटक पटक पत्राचार गरे पनि सार्वजनिक स्थलमा निर्माण भएका टहरा नहटाएपछि आइतबार इलाका प्रहरी कार्यालय बुटवल, नगर प्रहरी, भूमि शाखा र स्थानीयको सहयोगमा ती टहरा हटाएको वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार हाटबजार लाइनमा टहरा हटाएका सडक क्षेत्रबाहेकको स्थलमा उजिरसिंह फल्चा, रामापिथेकस पार्क निर्माण गरिनेछ ।
यस्तै नेपालगञ्ज रोडमा सार्वजनिक स्थल र सडक क्षेत्रमा पर्ने वडा नं ५ का बाँकी टहरा हटाउन बुटवल उपमहानगरपालिकाले पत्राचार गरिसकेको र केही दिनभित्रै ती टहरा हटाइने उनले बताए । यस्तै वडा नम्बर ६ र अरु वडामा पनि सार्वजनिक स्थलको संरक्षण गर्दै पार्क र चौतारी निर्माण गर्ने अभियान बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको छ ।
बुटवललाई उपयुक्त विश्रामस्थलका रुपमा विकास गर्न पर्यटकीय स्थल, पार्क, चौतारी, सार्वजनिक शौचालय र पिउने पानीको व्यवस्था गर्ने गरी चालू आर्थिक वर्षमा बजेट विनियोजन गरिएको मेयर खेलराज पाण्डेयले बताए ।
उनका अनुसार चालू आर्थिक वर्षमा केही स्थानमा मोडेलका रुपमा केही चौतारी निर्माण गरिनेछ । आगामी आर्थिक वर्षमा बुटवलका सबैजसो वडामा पार्क र चौतारी निर्माण गरिने मेयर पाण्डेयको भनाइ छ ।