प्राधिकरणले विद्युत काटेपछि उद्योगीहरुले थाले आन्दोलन, हजारौं रोजगारी प्रभावित – Nepal Press

प्राधिकरणले विद्युत काटेपछि उद्योगीहरुले थाले आन्दोलन, हजारौं रोजगारी प्रभावित

रुपन्देही । ट्रक र डेडिकेटेड लाइन प्रयोग गरेर लामो समय महसुल भुक्तानी नगरेको भन्दै विद्युत काटिएका रुपन्देहीका उद्योगीहरु आन्दोलनमा उत्रिएका छन् । निःशर्त विद्युत जडानको माग गर्दै सिद्धार्थ राजमार्ग कोरिडोरका उद्योगीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आफूहरुको विद्युत लाइन जडान नगरिएसम्म आन्दोलन गर्ने जनाएका छन् ।

आन्दोलनअन्तर्गत आइतबार उद्योगीहरुले नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र अगाडि धर्ना दिएका छन् । बुटवल-भैरहवा औद्योगिक सिद्धार्थ राजमार्ग कोरिडोरमा सञ्चालित १९ वटा उद्योगको विद्युत लाइन काटेको थियो । उद्योगीहरुले प्राधिकरणको ट्रकलाइनको ‘छुट बील’ न्यायसंगत नरहेको र त्यसविरुद्ध कानूनी बाटो अवलम्बन गरिएको बताए ।

उद्योग र विद्युत प्राधिकरणबीचको विवाद उच्च अदालत तुलसीपुर बुटवल इजलासमा हाल विचाराधीन रहेकै अवस्थामा तिर्नै नपर्ने रकम असुल गर्न उद्योगहरुको विद्युत लाइन काटेको उद्योगीहरुको आरोप छ । उद्योगीले अदालतको फैसला नआउञ्जेल लाइन जडान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले ट्रक र डेडिकेटेड लाइन प्रयोग नगरेका उद्योगलाई पनि महसुल बुझाउन पत्र पठाएकाले आन्दोलनमा उत्रिनुपरेको बताए ।

प्राधिकरणले विद्युत प्रयोग गरेको प्रमाण उपलब्ध गराए शुल्क तिर्न तयार रहेको तर, प्रयोग नगरिएको विद्युतको शुल्क तिर्न नसकिने उनले बताए । उनले उद्योगीहरुको आन्दोलनमा सिद्धार्थ उद्योग वाणिज्य संघको ऐक्यवद्धता रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले प्राधिकरणले उद्योगी व्यवसायीमाथि अत्याचार गरेको बताए ।

उद्योगको लाइन काट्नु भनेको श्रमिकको रोजगारी खोस्नु सरह हुने जनाउँदै उनले प्रयोग नगरिएको विषयमा सेवा शुल्क लिन खोजेर उद्योगीमाथि अत्याचार गरिएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठले उद्योगीले पैसा तिर्न नखोजेको भन्ने भ्रम फैलाइएको र यस्ता कुरामा कुनै सत्यता नरहेको बताए ।

उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति राजेशकुमार अग्रवालले भने, ‘जसले तिर्नुपर्ने हो, त्यसले तिर्ने र तिर्नु नपर्नेले तिर्दैन । तर, सबैलाई एउटा किसिमले व्यवहार गरेर लाइन काटिएको छ ।’

घराना फुड्स प्रालिका सञ्चालक विकास गोयन्काले उद्योगहरु पूर्ण सञ्चालन हुन नसकेको अवस्थामा लाइन काटेर के गर्न खोजिएको भन्दै प्रश्न गरे । अहिले आन्दोलनमा कर्मचारीहरु आएको र आगामी दिनमा श्रमिक पनि सडकमा आउन बाध्य हुने उनको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले केही उद्योगहरुको लाइन काटिएको र लाइन जोड्न उद्योगबाट निवेदन आएको बताए । उनले कार्यालयमा आएका ज्ञानपनपत्रलाई तालुक कार्यालयमा पठाइएको र तालुक कार्यालयबाट आएको निर्णय उद्योगीलाई जानकारी गराइएको बताए ।

प्राधिकरणले लाइन काटेपछि उद्योगसँग जोडिएका ढुवानी व्यवसायीहरुसमेत प्रभावित भएका छन् । उद्योग बन्द हुँदा पाल्पा तथा रुपन्देहीका टिप्पर व्यवसायीहरुले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् ।

पाल्पाको तिनाउ तथा रैनादेवी छहराका चुनखानीबाट ढुवानी गर्ने ३०० टिपर बन्द गरेर बस्नु परेको व्यवसायी तोया लम्सालले बताए । तमन्ना मल्टिप्रपोज कम्पनी प्रालिका सञ्चालक लम्सालका अनुसार रुपन्देहीको सर्वोत्तम सिमेन्ट उद्योगमा चुनढुङ्गा ढुवानी गर्ने टिपरहरु उद्योग बन्द भएदेखि गुडेका छैनन् ।

पाल्पाका ५ दर्जन व्यवसायी, टिपर चालक/सहचालक तथा खानीमा रहेका कामदार गरी ७०० बढी मजदुरको रोजीरोटी खोसिएको लम्सालले गुनासो गरे । उनले दैनिक लाखौंको क्षति व्यहोर्नुपरेको उनले बताए ।

भारतमा निर्यात गर्दै आएको सर्वोत्तम सिमेन्टले लाइन काटिएपछि आफूसँग जोडिएका ३ हजार बढी व्यवसायी तथा मजदुर मर्कामा परेको बताएको छ । कम्पनीका उपमहाप्रवन्धक नेत्र घिमिरेका अनुसार दैनिक ३ हजार टन क्लिङ्कर तथा ३ हजार टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योगमा लाइन काटिँदा सरकारले समेत दैनिक ५० लाख बढी राजस्व गुमाइरहेको बताए ।

प्राधिकरणले जानकारीविना नै लाइन काटेको उनको गुनासो छ ।

अर्घाखाँची सिमेन्ट उद्योगले पनि सरकारले विद्युत कटौती गरेपछि करिब ४०० जना प्रत्यक्ष रोजगारीमा रहेका कर्मचारीलाई बिदामा राख्नुपरेको बताएको छ । उद्योगसँग जोडिएका ढुवानी व्यवसायी तथा अन्य गरी थप एक हजार बढीले रोजगारी गुमाउनु परेको कम्पनीका चिफ फाइनान्सिएल अफिसर राजु पौडेलले बताए ।

उद्योग बन्द हुँदा सरकारलाई दैनिक ५० लाख राजस्व घाटा लाग्नुका साथै भारत निर्यातबाट हुने आर्थिक लाभ गुमेको उनले बताए ।

बक्यौता रकम नतिरेका ६१ उद्योगमध्ये प्राधिकरणले हालसम्म ९ वटाको मात्रै लाइन काटेको छ । लाइन काटिएको अधिकांश उद्योगले कामदार कटौती गर्न थालेका छन् ।

विद्युत प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोगको बक्यौता नतिर्ने ४ ठूला लाइन काटेको थियो । जसमा जगदम्बा स्टिलले ४ अर्ब १४ करोड, घोराही सिमेन्टले १ अर्ब ३६ करोड, रिलायन्स स्पिनिङ मिल्सले १ अर्ब ९४ करोड र अर्घाखाँची सिमेन्टले १ अर्ब ३० करोड बक्यौता तिर्न बाँकी रहेको छ ।

त्यस्तै सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल प्रालि र त्रिवेणी स्पिनिङ मिल्सको बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटेको हो ।

लक्ष्मी स्टिलले ७४ करोड १० लाख, सर्वोत्तम सिमेन्टले ६८ करोड ९० लाख, अशोक स्टिलले ७४ करोड ५० लाख, सोनापुर मिनरल्स एण्ड आयलले ६१ करोड २० लाख र त्रिवेणी स्पिनिङ मिल्सले ८६ करोड ९० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । ९ वटा उद्योगले ११ अर्बभन्दा धेरै बक्यौता तिर्न बाँकी छ । ६१ वटा उद्योगले समयमै महसुल नतिरेको र जरिवानासहित २५ अर्ब बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर