कांग्रेसमा इतर समूहको दबाबले अन्तिम अवस्थामा पुष्पा भुसालको टिकट खोसेर गुल्मीकी विष्णु सापकोटालाई – Nepal Press

कांग्रेसमा इतर समूहको दबाबले अन्तिम अवस्थामा पुष्पा भुसालको टिकट खोसेर गुल्मीकी विष्णु सापकोटालाई

माओवादीबाट झक्कु मैदानमा, एमालेबाट दाङकी तुलसा केसी र पाल्पामा झपेन्द्र जीसी

रुपन्देही । नेपाली कांग्रेसमा लुम्बिनीबाट राष्ट्रिय सभामा उम्मेदवार बनाउन अर्घाखाँचीकी पुष्पा भुसालको नाम संस्थापन समूहबाट तयारी गरेपछि इतर समूहले अस्वीकार गर्‍यो ।

आइतबार भुसाल निकट नेताहरूले उनको उम्मेदवारी टुंगो लागेको बताए पनि केन्द्रमा इतर समूहले त्यसलाई अस्वीकार गरेपछि समस्या आएको हो । सोमबार मनोनयन गर्ने समय भए पनि आइतबार रातीसम्म यो विषयमा सानेपामा विवाद रहेको थियो । राती २ बजे इतर समूहबाट गुल्मीकी विष्णुकुमारी सापकोटाको नाम इतर समूहले अगाडि बढाएर टुंगो लगाएको हो ।

उम्मेदवारी पाएकी सापकोटा पार्टी प्रदेश सदस्य हुन् । उनी गुल्मी पार्टी सचिव तथा महिला संघ सभापतिको जिम्मेवारी पूरा गरेकी अनुभवी नेतृ हुन् ।

यसअघि उम्मेदवार भएका, अवसर पाएका व्यक्तिलाई अहिले राष्ट्रिय सभामा पठाउन नहुने बलियो आवाज उठे पनि लुम्बिनीबाट पुनः पुष्पा भुसाललाई अगाडि सारेपछि इतर समूहले खबरदारी गरेको हो ।

०७४ को निर्वाचनमा समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनेर अन्तिम समयमा उपसभामुख बनेकी भुसाल ०७९ मंसिरमा अर्घाखाँचीबाट प्रतिनिधि सभामा पराजित उम्मेदवार हुन् ।

पार्टीमा संस्थापन समूहको बलियो साथ पाएकी उनलाई जिल्ला तथा प्रदेशमा बलियो रहेको इतर समूहले सधैँ आलोचना र असहयोग गर्दै आएको छ । पछिल्लो निर्वाचनमा सत्तारुढ गठबन्धन दलको बलियो आधार क्षेत्र भएको अर्घाखाँचीमा उनकै पार्टीको असहयोगका कारण उनी पराजित भएकी हुन् ।

नेकपा एमालेका तत्कालीन सचिव टोपबहादुर रायमाझीले गठबन्धन दलको बलियो मतभार रहे पनि भुसाललाई पराजित गरेर चौथो पटक संसद यात्रा तय गरेका थिए । यद्यपि नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका कारण उनी अहिले निलम्बनमा छन् । यो मुद्दा अदालतबाट नटुंगिदासम्म अर्घाखाँचीको प्रतिनिधि सभा सदस्य पद यत्तिकै रहने छ । त्यसो त भुसाललाई संस्थापन समूहमै रहेका नेता बालकृष्ण खाणको पनि बलियो साथ छैन । यो कारणले पनि उनलाई समस्या भएको हो । तर नेता पूर्णबहादुर खड्का र सभापति शेरबहादुर देउवाले उनलाई अगाडि सारेका हुन् ।

लुम्बिनीमा पार्टीको प्रदेश समितिमा इतर समूहको बहुमत भएकाले पनि यहाँबाट संस्थापन समूहका निर्णयमा बढी समस्या परिरहेको छ ।

प्रदेश सभापति अमरसिंह पुनको दबाबमा भुसाललाई नाम कटाउन लगाएको आरोप संस्थापन पक्षको छ । इतर समूहले भुसालले पाउने सवालमा यहाँबाट पार्टीको कोटा नै साटेर नेकपा एसलाई दिन तयार भएकाले समस्या जटिल भएको थियो ।

त्यसै गरी माओवादीबाट रोल्पाका झक्कु सुवेदी उम्मेदवार बन्ने भएका छन् । सुवेदी ०६४ सालमा अहिले नेकपा एसका अध्यक्ष माधव नेपाललाई हराएर चर्चामा आएका नेता हुन् ।

यता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट महिलामा दाङ घोराहीकी तुलसाकुमारी केसी र अन्यमा पाल्पाका झपेन्द्र जीसी उम्मेदवार बन्ने भएका छन् । केसी एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । एमालेबाट विभिन्न पार्टीमा लागेर ७० सालमा पुनः एमालेमा आएकी हुन् ।

केसी अनेमसंघ केन्द्रीय सदस्य तथा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य हुन् । घोराही निवासी केसी महासचिव शंकर पोखरेल निकट हुन् । पाल्पाका जीसी पूर्वजिविस सभापति हुन् । पार्टीमा लामो समय योगदान गरेका उनी इतिहास र भूगोलका जानकार हुन् । जिसी एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुन् । उनी उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् ।
घर्ती र केसीसहित ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो । लुम्बिनीमा २ सिटका लागि निर्वाचन हुँदैछ ।

नेकपा एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसकी अनिता देवकोटाको कार्यकाल सकिन लागेकाले आगामी माघ ११ गते नयाँ सदस्य छान्नका लागि प्रतिस्पर्धा हुन लागेको हो ।

मतभारमा स्पष्ट बहुमत रहेको सत्तारुढ गठबन्धनमा जित निश्चित भएकाले पनि उम्मेदवारहरुको बढ्दो चाख भएको नेताहरू बताउँछन् ।

प्रदेशमा कुल मतभार ८७५३मा एमालेको २८१० मतभार हुँदा कांग्रेस एक्लैको ३१७९ मतभार रहेको छ । माओवादी १३४३, जसपा २७३, लोसपा २३५, जनमत १५९, नागरिक उन्मुक्ति २१२, नेकपा एस ५३, राजमो १२९ र गठबन्धनमा नरहेको राप्रपाको २६९, जनता प्रगतिशीलको ३८ र स्वतन्त्रको ५३ मतभार छ । त्यस कारण पनि गठबन्धनमा सामान्य खटपटले पनि निर्वाचन परिणाम तलमाथि हुने अवस्था देखिँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर