पौडीपोखरीको प्राङ्गणमा ‘जलपरी’ सँग २४ मिनेट (भिडियोसहित) – Nepal Press

पौडीपोखरीको प्राङ्गणमा ‘जलपरी’ सँग २४ मिनेट (भिडियोसहित)

सातदोबाटोको स्वीमिङ पुलको अवस्था देखेर रुन मात्रै सकिनँ

‘(अन्तरवार्ता) मास्क लगाएरै गरौं है,’ गरिमा राणाले ‘हम्बल रिक्वेस्ट’ गरिन् । अन्तरवार्ता चाहिँ गरिमाको होइन, उनकी छोरी गौरिकासँग गर्नु छ ।

हामी कालोपुलमा रहेको एउटा अत्याधुनिक पौडीपोखरीमा छौं । गौरिका (जो नेपालकी कीर्तिमानी पौडीवाज हुन् र ‘जलपरी’ भनेर चिनिन्छिन्) कंक्रिटको पोखरीमा बाँकटे हानिरहेकी छन् ।

आमा गरिमा (भनिरहनु नपर्ला, २०५० सालकी एसएलसी बोर्ड फस्र्ट हुन्) बाख्रा रुँघ्न बसेको गोठालो झैं चनाखो मुद्रामा किनारामा उभिएर छोरीलाई नजर लाइरहेकी छन् ।

घडीको सुईले १० बजेको जनाउ दिएसँगै ‘जलपरी’ पोखरीबाट निस्किइन् । आमाले उनलाई टावेल दिइन् । कपाल पुछ्न सहयोग गरिन् । घुँगुरिएको कपाललाई चुल्ठो बनाउनुअघि जलपरीले एउटा अजंगको टिसर्ट र टाउजर शरीरमा भिरिसकेकी थिइन् ।

(यो गेटअपमा उनी माइतिघर मण्डलामा धर्ना दिन पुगेकी क्रान्तिकारी युवतीझैं देखिइन् । यद्यपि, म उनले हातमा प्लेकार्ड बोकेर मण्डलामा उग्रस्वरले चिच्याएको कल्पना गर्नतिर लागिनँ ।)

गौरिका अलिक हतारिएकी देखिन्थिन् । गरिमा पनि । आमाछोरीले एकैछिन साउती गरे । गौरिकाले अनुहारमा मास्क लगाइन् र अन्तरवार्ताका लागि हामी समक्ष लम्किइन् ।

(मास्क लगाएर मात्रै अन्तरवार्ता गर्ने प्रस्तावमा हामी अलिकति निराश भएकै हौं । तर, हुन्न भन्न सकिएन । फेरि कोरोनाको दोस्रो छालको हल्ला जो छ । धत् कोरोना ! हटिजा ।)

पर्याप्त दुरी निश्चित गरेर अन्तरवार्ता दिने र लिने कुर्सी तयार भइसकेका थिए । गौरिकाको सामुन्ने अगाडिको कुर्सीमा गरिमा बसिन्, क्यामराको फ्रेममा नअटाउने गरी । उनको पनि अनुहार मास्कले ढाकेको थियो । यद्यपि, मुस्कुराइरहेकी छिन् भन्ने अनुमान गर्न सकिन्थ्यो, आँखाको भावबाट ।

‘सुरु गरौं,’ आमा र छोरीतिर पालैपालो हेरेर मैले सोधेँ । दुवैले मुन्टो हल्लाए । मलाई भन्दा उनीहरूलाई हतार थियो ।
(वास्तवमा यी आमाछोरीलाई केको हतार थियो ? त्यो थाहा पाउन यो लेख अन्तिमसम्म पढ्नुहोला ।)

०००

गौरिका मूलतः बेलायत बस्छिन् । डेढ महिना अगाडि नेपाल आएकी हुन् । अरु बेला बेलायतमा ट्रेनिङ गर्ने र प्रतियोगितामा भाग लिन नेपाल आउने गर्थिन् । यसपालि उल्टो भएको छ । उनले ट्रेनिङकै लागि बेलायतबाट नेपाल आएको बताइन् । किन त भन्दा बेलायतमा कोरोनाका कारण बन्द गरिएका स्वीमिङ पुल अझै खुलेका छैनन् ।

नेपालमा उनको सेड्युल टाइट छ । कारण विद्यालयको अनलाइन पढाइ । बिहान ८ देखि १० बजेसम्म उनी दैनिक स्वीमिङ प्राक्टिसका लागि यहाँ आउँछिन् । २ घण्टा पानीमा चोबलिँदै उफ्रिपाफ्री गरेर दिनभरका लागि स्फुर्ति बटुल्छिन् ।

‘पढ्नु त परिहाल्छ नि, स्वीमिङ त २७-२८ वर्षसम्म मात्रै गर्ने हो । बुढी भएपछि काम गर्नुपर्छ । त्यसैले पढाइ राम्रो गर्नुपर्छ । युनिभर्सिटीमा गएर पनि पढाइ राम्रो गर्नुपर्छ । नत्र स्वीमिङ छोडेपछि के गरेर बस्ने ?’ प्रचण्डको स्टाइलमा हातका औंलाहरू चलाउँदै उनले भनिन् ।

दिउँसो २ बजेबाट अनलाइन क्लास सुरु हुन्छ, बेलुकी ८ बजेसम्म । शनिबार परिवार र साथीभाइ (मूलतः नेपालमा उनका धेरै साथीभाइ छैनन्, उनको भनाइमा ‘कजन्सहरू’ नै साथीभाइ पनि हुन्) सँग बरालिन्छिन् ।

गौरिका बेलायत फर्किने दिन नजिकिएको छ । उता विद्यालय खुलिसक्यो । लामो समयदेखि घरमै अनलाइन क्लास बस्दाबस्दा दिक्क भएकी उनी विद्यालय जान आतुर छिन् ।

उनले भनिन्, ‘विद्यालय खुलिसक्यो । अब जाँच हुन्छ । कस्तो अनौठो लागेको छ ।’

नेपालमा बस्दा उनलाई बेलायतका साथीभाइ खुब याद आउँछन् । बेलायत गएपछि चाहिँ नेपालमा रहेका हजुरबा, हजुरआमा र कजन्सहरू याद आउने पक्का छ । यस्तै यादहरूको छालमा तैरिएर उनी कहिले यता कहिले उता गरिरहन्छिन् ।

अहिले चाहिँ गौरिकालाई विद्यालयको होमवर्क याद आइरहेको छ । ११ बजेदेखि १ बजेसम्म होमवर्क गर्ने रुटिन बनाएकी छन्, उनले । नत्र अनलाइन क्लासमा शिक्षकको खप्की खानुपर्छ ।

यति ठूलो सेलिब्रिटीलाई स्कुलको होमवर्क गर्न कसरी जाँगर चल्दो हो भन्ने लाग्न सक्छ । तर, गौरिका पढाइमा सिरियस छिन् । आखिर एसएलसी बोर्डफस्र्ट आमाकी छोरी जो परिन् ।

‘पढ्नु त परिहाल्छ नि, स्वीमिङ त २७-२८ वर्षसम्म मात्रै गर्ने हो । बुढी भएपछि काम गर्नुपर्छ । त्यसैले पढाइ राम्रो गर्नुपर्छ । युनिभर्सिटीमा गएर पनि पढाइ राम्रो गर्नुपर्छ । नत्र स्वीमिङ छोडेपछि के गरेर बस्ने ?’ प्रचण्डको स्टाइलमा हातका औंलाहरू चलाउँदै उनले भनिन् ।

गौरिकालाई अब नेपाली पढ्न र लेख्न सिक्नु छ । लकडाउनका बेला उनलाई बुवाले बाह्रखरी सिकाए । तर, नेपाली किताब पढ्न सक्ने भइसकेकी छैनन् ।

गौरिकाको भनाइमा पौडीबाजको करिअर भनेको बढीमा ३० वर्ष मात्रै हो । कसैले चोटका कारण त्योभन्दा चाँडै रिटायार्ड लिनुपर्ने पनि हुन सक्छ । त्यसपछि अर्को प्रोफेसनमा जानुको विकल्प हुन्न । पौडीपछि के गर्ने भनेर गौरिकाले सोचिसकेकी छन् । संयुक्त राष्ट्रसंघमा जागिर खाने उनको योजना छ ।

‘युएनको ह्युमन राइट्समा काम गर्ने मन छ, त्यही भएर राम्ररी पढ्नुपर्छ,’ उनले भनिन् ।

०००

काठमाडौंको पाटन अस्पतालमा जन्मेकी गारिकालाई दुई वर्षको उमेरमा आमाबुवाले बेलायत लगे । उतै हुर्किन्–बढिन् । उतैको भाषा–संस्कृति र लाइफस्टाइलमा अभ्यस्त भइन् ।

तर, उनको रगतमा नेपाल थियो । तब त उनी ‘बेलायती’ हुन सकिनन् । नेपालमा यदाकदा गौरिका र उनको परिवारको ‘राष्ट्रियता’ माथि प्रश्न उठाइन्थ्यो । डेढ वर्षअघि गौरिकाले नेपाली नागरिकता लिएपछि प्रश्न उठाउनेहरूको मुख टालिएको छ । गौरिका गौरवका साथ नेपाली पासपोर्ट बोकेर बेलायत-नेपाल आउजाउ गर्छिन् ।

त्यसो त उनी सधैं बेलायत बस्न पनि चाहन्नन् । भविष्यमा नेपाल नै फर्किने उनको सोचाइ छ, उनको । बझाङमा पुख्र्यौली घर छ । नेपाल फर्केर के गर्ने भन्ने चाहिँ योजना बनाइसकेकी छैनन् ।

लामो विदेश बसाइले गर्दा गौरिकाको नेपाली लवज फरक छ । बोलीमा अंग्रेजी टोन आउँछ । तर, जे बोले पनि मीठो सुनिन्छ ।

‘पहिले गाह्रो लाग्थ्यो नेपाली बोल्न,’ उनले सुनाइन्, ‘अहिले त धेरै जानिसक्या छु । मेरो भाइले त पटक्कै जान्दैन ।’ फेरि भाइको बचाउ गर्दै भनिन्, ‘बोल्न नजाने पनि बुझ्न चाहिँ बुझ्छ ।’

बेलायत बस्दा पनि घरमा बुवा-आमासँग नेपालीमा कुरा गर्छिन् । नेपाल आउँदा बढीभन्दा बढी नेपाली बोल्न अभ्यास गर्छिन् । मिडियासँग नेपालीमा कुरा गर्छिन् । कार्यक्रमहरूमा नेपाली बोल्छिन् । अहिले त सिपालु भइसकिन् ।

गौरिकालाई अब नेपाली पढ्न र लेख्न सिक्नु छ । लकडाउनका बेला उनलाई बुवाले बाह्रखरी सिकाए । तर, नेपाली किताब पढ्न सक्ने भइसकेकी छैनन् । बरु नेपाली गीतहरू सुन्न र फिल्म हेर्न थालेकी छन् । टिकटकमा नेपाली संवाद र गीतहरूमा अभिनय गरेर पनि उनले आफूलाई निखारिरहेकी छन् ।

आफ्नै विश्लेषणमा गौरिका बोलक्कड छिन् । उनलाई ‘फतरफतर’ बोलिरहनु पर्छ रे ! उनको गफ धेरै आमासँगै मिल्छ । हेर्दा पनि दिदी–बहिनीजस्ता लाग्छन् यी आमाछोरी । साथीभाइसँग पनि औधि गफिन्छिन् । तर, उनीहरूसँग स्पोट्र्सको कुरा कहिल्यै नगर्ने गौरिकाले बताइन् ।

गौरिका नेपाली खानाको सौखिन हुन् । खानेकुरामा उनको बेस्ट ‘तारेको आलु’ हो भन्ने धेरै अन्तरवार्तामा भनिसकिन् । नयाँ खबर चाहिँ अब उनी तारेको आलु आफैं बनाउन सक्ने भएकी छन् ।

‘मैले लकडाउनमा तारेको आलु र अरू खानेकुरा बनाउन सिकेँ,’ उनले गर्वसाथ सुनाइन्, ‘तर, मम्मीको हातले बनाएको जस्तो मीठो अरु हुँदैन ।’

घरभित्रको अरू काम पनि गर्दिहुन् ?

‘घरको काम त गर्नु परिहाल्छ नि । म हप्तैपिच्छे बेडसिट चेञ्ज गर्र्छु, अनि भाँडाहरू डिस वासरमा अपलोड/अनलोड गर्ने र घरको सरसफाइका काम गर्छु । अँ नेपालमा बस्दा चाहिँ धेरै काम गर्दिनँ ।’

बेलायतमा बस्दा खानेकुरामा अत्यधिक सजकता अपनाउने गौरिका नेपालमा चाहिँ आफूलाई केही फ्री छोडिदिन्छिन् । ‘स्पोट्र्सपर्सनले जे पायो त्यही खान हुन्न, धेरै रेस्ट्रिक्सनमा बस्नुपर्छ,’ उनी भन्छिन्, ‘तारेको आलु पनि पेटभरि खान मिल्दैन । नेपाल आउँदा चैं अलि धेरै खान्छु ।’

पौडीबाहेक गौरिकाको रुचिको खेल टेनिसमा छ । टेनिसमा उनी रोजर फेडररकी फ्यान हुन् । फुटबल पनि चाख मानेर हेर्छिन् । फुटबलमा उनको पूरापुर समर्थन म्यानचेस्टर युनाइटेडलाई छ ।

मन पर्ने फुटबलर ?

‘म्यान युका सबैजना ।’

घुमघाममा सौख छ गौरिकालाई । तर, फुर्सद पाए पो । नेपाल पटक–पटक आएर पनि उनी आफ्नो पुख्र्यौली थलो बझाङ पुग्न पाएकी छैनन् । त्यहाँ जान चौपट्ट मन छ उनलाई । तर, अहिलेको बसाइमा पनि यत्तिकै भयो । कोरोनाको बेला लामो यात्रा गर्न बुवाआमाले दिएनन् । उनी आफैं पनि कोरोनासँग डराउँछिन् । उनका बुवा डा. पारस सिंहलाई एक वर्षअघि कोरोना देखिएको थियो ।

बझाङ मात्रै होइन, उनलाई घुम्न मन लागेका पोखरालगायत अरू धेरै ठाउँ छन् । एकपटक नेपालगञ्जसम्म पुगिन् । राष्ट्रिय खेलकुदको लागि । तर, बाहिरफेर घुम्न पाइनन् । नेपालगञ्जको गर्मी भने मज्जाले चाखिन् । अनि नेपालगञ्जका मच्छडले उनलाई चाखे ।

त्यसो त गौरिकालाई गर्मीसँग गुनासो छैन । बेलायतको चिसोले उनलाई कहिले नेपाल जाऊँ झैं बनाइरहेको हुन्छ । ‘मलाई नेपालको मनपर्ने कुरा यहाँको हावापानी पनि हो,’ उने भनिन्, ‘उता धेरै चिसो हुन्छ, पानी परेको पर्‍यै गर्छ ।’

बेलायत र नेपाल तुलनायोग्य त होइनन् । तर, पनि यता र उता बस्दा उनलाई मुख्य फरक के लाग्छ ? ‘फरक त धेरै नै छ । बाटो, पुलहरू फरक छन् । तर, नेपालमा पहिले भन्दा धेरै विकास भइसकेको छ ।

उनलाई नेपालमा बस्दा असहज लाग्ने चाहिँ यहाँको प्रदूषण हो ।

‘काठमाडौंमा पल्युसनले चाहिँ कहिलेकाहीँ दिक्क बनाउँछ । नत्र नेपालको सबै कुरा राम्रो लाग्छ,’ उनले भनिन् ।

०००

गौरिकाको पौडी करिअरको कुरा गर्ने हो भने ९ वर्षबाट उनले पौडी सिक्न थालेकी हुन् । ‘लाइफ स्किल’ सिक्नुपर्छ भनेर बुवाआमाले पौडीको प्रशिक्षणमा पठाउँदा उनी यहाँसम्म आउने कसैको कल्पनामै थिएन ।

११ वर्षको उमेरमा छुट्टी मनाउनका लागि गौरिका बुवाआमासँगै नेपाल आउँदा एउटा सानो इभेन्टमा भाग लिइन् । त्यही नै उनलाई प्रोफेसनल पौडीबाज बनाउने टर्निङ प्वाइन्ट बनेको थियो ।

गौरिकाले काठमाडौंमा आयोजित ग्यालेक्सी कप पौडी प्रतियोगितामा भाग लिँदा जित्ने उद्देश्य थिएन । तर, पहिलो प्रयासमै उनले स्वर्ण जितेको मात्र होइन कि २०० मिटरमा नयाँ राष्ट्रिय कीर्तिमान नै बनेको थियो । त्यस प्रतियोगितामा उनले ४ विधामा ७ स्वर्ण जित्दै नेपालको खेल क्षेत्रमा आफ्नो शानदार इन्ट्रीको घन्टी बजाइन् । र, त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन ।

सन् २०१६ मा ब्राजिलको रियो दि जेनेरियोमा आयोजित २८औं ओलम्पिकमा भाग लिने विश्वभरका खेलाडीमध्ये उनी सबैभन्दा कान्छी थिइन् । त्यसबेला उनको उमेर १३ वर्षका थियो र अन्तर्राष्ट्रिय मिडियाले समेत उनको चर्चा गरेका थिए । ओलम्पिकमा सय मिटर ब्यास्ट्रोकको हिट चरणको आफ्नो समूहमा पहिलो हुँदा पनि उनले फाइनलमा स्थान बनाउन सकिनन् ।

राष्ट्रिय प्रतियोगितामा त गौरिकाले कीर्तिमान राख्न केही बाँकी छैन । गत वर्ष वैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदमा उनले १२ वटा स्वर्ण कुम्ल्याइन् । राष्ट्रिय कीर्तिमानका के कुरा गर्नु । लाग्छ कि गौरिकाले कीर्तिमानलाई होइन कीर्तिमानले गौरिकालाई पछ्याइरहेको छ ।

गौरिकाले सनसनी मच्चाएको अन्तर्राष्ट्रिय प्रतियोगिताचाहिँ साग हो । गत वर्ष सम्पन्न १३औं सागमा गौरिका एक्लैले नेपाललाई ४ स्वर्ण दिलाइन् । थप दुई रजत र तीन कास्य पनि उनको नाममा रहे । सागको ३५ वर्ष लामो इतिहासमा कुनै पनि नेपाली खेलाडीको यो सर्वोत्कृष्ट प्रदर्शन थियो । वैकुण्ठ मानन्धरदेखि दीपक विष्टसम्मका लिजेन्डलाई उनले पछाडि छोडेकी छन् ।

के यति सफलताको आशा गरेकी थिइन् उनले ?

गौरिकाको जवाफ छ, ‘यति नै जित्छु भन्ने एक्सपेक्टेसन त थिएन । मेन फोकस भनेको आफ्नो पर्सनल बेस्ट दिन्छु भन्ने थियो । मेडल आउँछ भन्ने पनि थियो । सोचेको भन्दा राम्रो नै भयो ।’

‘बिवाह जोसित गरे पनि के हुन्छ ? नेपाली होस कि बेलायती के फरक पर्छ ? अहिले मेरो उमेर पनि भएको छैन यतातिर सोच्ने । टाइम आएपछि सोचौंला ।’

आठौं सागमा उनले प्राप्त गरेको स्वर्णमध्ये सबैभन्दा सन्तुष्टि उनलाई २०० मिटर ब्याकस्ट्रोकमा छ । त्यसमा आफ्नो प्रतिस्पर्धीले उछिनिसकेको अवस्थामा उत्कृष्ट कमब्याक गरेकी थिइन्, उनले ।

गौरिका भन्छिन्, ‘अर्को केटीले मभन्दा छिटो स्वीम गरिरहेको थियो । जित्नै आँटेको थियो । तर, लास्टमा मैले जितेको थिएँ । मलाई एकदम धेरै खुसी लागेको थियो ।’

त्यसो त गौरिकाको आत्मसन्तुष्टि आठौं सागभन्दा बढी सातौं सागमा थियो । त्यसमा उनले पहिलोपटक स्वर्ण जित्न सफल भएकी थिइन् । सातौं सागमा २०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेर राष्ट्रिय गानका लागि अग्लो स्थानमा उभिएको क्षणलाई उनी आफ्नो जीवनकै सबैभन्दा गौरवपूर्ण क्षण मान्छिन् ।

‘त्यो मोमेन्ट सम्झिँदाखेरि अहिले पनि गौरव लाग्छ,’ उनले भावुक बन्दै भनिन्, ‘मेरो प्यारेन्ट्सको अगाडि पोडियममा बसेर राष्ट्रिय गान गाउँदा खुशीको सीमा नै थिएन ।’

०००

गौरिका नेपालमा सर्वाधिक फ्यान फलोइङ भएका सेलिब्रिटीमध्ये पर्छिन् । यति कम उमेरमा यति ठूलो नेम–फेम कमाएको स्पोट्र्सपर्सन पनि नेपालमा सायदै अरु कोही छ ।

फ्यानहरूले गौरिकाको खेलको त तारिफ गर्छन् नै, उनको रुप र जिउडालप्रति हुरुक्क हुने पनि धेरै छन् । अनि, कतिपयले त उनलाई सिधै प्रेम प्रस्तावसमेत राखिदिन्छन् । गौरिकाको चित्तदुखाइ यसैमा छ । उनलाई ‘यस्ता कुरा’ फिटिक्कै मन पर्दैन ।

आफूलाई प्रेम प्रस्ताव राख्नेहरूलाई उनले भनिन्, ‘स्वीमिङ पुलमा र सोसल मिडियामा मात्रै हेरेर मेरो बारेमा जजमेन्ट कसरी गर्नुहुन्छ ? म बाहिर कस्तो छु, कसलाई थाहा छ र ? केको आधारमा मलाई प्रस्ताव गर्ने ?’

मिडियाले पनि आफूसँग प्रेम–विवाहको प्रश्न नसोधुन् भन्ने चाहन्छिन् ।

‘भर्खर १८ वर्षको भएँ, जसले पनि बिहे कहिले गर्ने भनेर सोध्नुहुन्छ,’ उनले असन्तुष्टि राखिन् । उनले यति भन्दाभन्दै मेरो मुखबाट प्रश्न फुत्किगो, ‘बिहे चाहिँ नेपालीसँगै गर्ने कि बेलायतीसँग ?’

अन्तरवार्ताका क्रममा पहिलोपटक उनको अनुहारमा थोरै आवेग देखियो । हातका औलाहरू तीव्र गतिमा चलाइन् । ‘जोसित गरे पनि के हुन्छ ? नेपाली होस कि बेलायती के फरक पर्छ ? अहिले मेरो उमेर पनि भएको छैन यतातिर सोच्ने । टाइम आएपछि सोचौंला ।’

उनको आवेग देखेर मैले मुखैमा आइसकेका थप केही पुरक प्रश्नहरू स्थगित गरिदिएँ ।

अनि विषय मोडेर उनलाई मन पर्न सक्ने प्रश्न सोधेँ ।

‘कम उमेरमै यति ठूलो सफलताको राज तपाईंको लगाव र मेहनत मात्रै हो कि अरू पनि केही ?’

‘आफूले मात्रै प्रयास गरेर त कहाँ हुन्छ । यसमा मेरो फेमिलीको पनि ठूलो रोल छ । मलाई फेमिलीले सपोर्ट गरेर नै यहाँसम्म आएको हुँ । अनि मेरो विद्यालयले पनि मलाई धेरै कोअपरेट गरिरहेको छ ।’

०००

नेपालमा खेल क्षेत्रको अवस्था अझै दयनीय नै छ । खेलाडीहरूले आधारभूत सुविधा पाउन सकेका छैनन् । कुनै पनि राष्ट्रिय खेलाडीसँग सरकारसँग गुनासोको लामो सूची छ ।

गौरिका देशबाहिर बसेर प्रशिक्षण गर्छिन, आफ्नै खर्चमा । आफ्नै खर्चमा प्रतियोगिताहरू खेल्न आउँछिन् । नेपाललाई उपाधि दिलाउँछिन् । राज्यसँग आफूलाई यो भएन, त्यो भएन भनेर गुनासो गर्दिनन् ।

यसपालि चाहिँ उनले खुलेर एउटा गुनासो पोखिन्, तर व्यक्तिगत विषयमा होइन । सातदोबाटोमा नवनिर्मित पौडी पोखरीको पछिल्लो अवस्था देखेर उनको मन चस्केको छ । निकै खर्च गरेर बनाइएको त्यो अत्याधुनिक स्वीमिङ पुलको हिफाजत नगरिएकोमा उनले निकै गुनासो गरिन् ।
‘नेपालमा पनि बेलायतकै जस्तो मोर्डन पुल बन्यो भनेर मलाई कति खुसी लागेको थियो,’ गौरिका भन्छिन्, ‘तर अहिले त्यहाँको अवस्था देख्दा एकदमै दुःख लाग्यो । म त रुन मात्र सकिनँ । कस्तो नराम्रो भएको रहेछ ।’

उनले थपिन्, ‘मेन्टेन गरेर राखे अरु राष्ट्रिय खेलाडीहरूलाई काममा आउँथ्यो । राम्रो फेसिलिटी पाउँथे सबैले । अहिले एउटा इन्डोर पुल चलाइरहेको छु । यहाँ लेन पनि छैन । एउटा डाइभिङ ब्लक मात्रै छ । उता ८ वटा लेन छ । डाइभिङ ब्लक पनि ८ वटा छ । टाइमिङ प्याड्स पनि छ । सबै राम्रो छ । तर मेन्टेन नभएर कुहिएर बसेको छ । मलाई डिस्ग्रेसफुल नै लाग्यो ।’

‘नेपालमा पनि बेलायतकै जस्तो मोर्डन पुल बन्यो भनेर मलाई कति खुसी लागेको थियो,’ गौरिका भन्छिन्, ‘तर अहिले त्यहाँको अवस्था देख्दा एकदमै दुःख लाग्यो । म त रुन मात्र सकिनँ । कस्तो नराम्रो भएको रहेछ ।’

उनले आफ्नो व्यक्तिगत गुनासो भने केही राखिनन् । बरु सागमा पदक जित्नेहरूलाई सरकारले नगद पुरस्कारसहित सम्मान गरेकोप्रति आभार व्यक्त गरिन् ।

सागमा जितेका सबै मेडलहरूका लागि गौरिकाले सर्वाधिक ६२ लाख रुपैयाँ पाएकी थिइन् । यो उनले खेल करिअरमा पाएको सबैभन्दा ठूलो नगद रकम हो । यति धेरै पैसा केमा खर्च गरिन् उनले ?

‘मेरो पढाइमा खर्च गर्छु,’ गौरिकाले ज्ञानी देखिँदै भनिन्, ‘म अमेरिकन युनिभर्सिटीमा जान खोजेको छु । त्यसमा धेरै खर्च लाग्छ । ट्युसन फिको लागि म त्यो पैसा चलाउँछु ।’

गौरिकालाई धेरैले नेपालका लागि ओलम्पिकमा पदक जित्ने सम्भावना भएकी खेलाडीको रुपमा पनि हेरेका छन् । एसियन गेम्समा त उनीबाट स्वर्णकै आशा गरिएको छ । तर, यो त्यति सजिलो कुरा नभएको गौरिका बताउँछिन् ।

उनले भनिन्, ‘मान्छेहरू सबै जनाले गर्नुपर्छ, गर्नुपर्छ भन्छन् । तर उनीहरूलाई थाहा छैन, कति गाह्रो हुन्छ । ओलम्पिक भनेको सार्कजस्तो होइन । यसका लागि धेरै हार्डवर्क चाहिन्छ । अरू धेरै कुराले साथ दिनुपर्छ । स्टपबाइ स्टेप जानुपर्छ ।’

गौरिकाको तत्कालको लक्ष्य एसियन गेम्स हो । त्यसमा राम्रो गरेको खण्डमा उनले ओलम्पिकको सपना देख्न थाल्नेछिन् । उनको भनाइमा स्वीमिङ प्लेयरहरूको करिअर सामान्यतया २४–२५ वर्षको उमेरमा पिकमा पुग्छ । आफूले पनि त्यही उमेरमा उच्चतम उपलब्धि हासिल गर्ने उनको लक्ष्य छ । अहिल्यैदेखि ओलम्पिकको दवाव लिएर नहिँडेको उनले बताइन् ।

‘त्यसको लागि मसँग अझै धेरै टाइम छ,’ गौरिकाले भनिन् ।

०००

अन्तरवार्ताको बीचबीचमा गरिमा घडी हेरिरहेकी थिइन् । २० मिनेटमा सक्ने वाचा गरेको थिएँ । तर २४ मिनेट लम्बियो ।

वास्तवमा उनीहरूलाई हतार चाहिँ केको थियो त ? अन्तरवार्ता सकेपछि मैले सोधेँ ।

‘होमवर्क गर्न,’ जलपरीले भनिन् ।

अनि जलपरी र उनकी आमा गाडीतिर गुटुङटुङ कुदे ।

०००

(पुनश्चः हामीलाई यो अन्तरवार्ता दिएर गौरिका यसै साता बेलायत फर्किसकेकी छन् । सायद स्कुल ज्वाइन गरिसकिन् होला । फर्किनुअघि उनले जीवनमै पहिलोपटक होली मनाउन भ्याएको सन्दर्भ पनि स्मरण गराइन्छ ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर