चीनलाई मालदिभ्सको सबैभन्दा ठूलो पर्यटक स्रोत देश बनाउन राष्ट्रपति मैजूको आग्रह
काठमाडौं । मालदिभ्सका राष्ट्रपति महोमद मैजूले चीनलाई पुनः मालदिभ्सको सबैभन्दा ठूलो पर्यटक स्रोत मुलुक बनाउन आग्रह गरेका छन् ।
मालदिभ्सको मिडिया अटोल टाइम्सका अनुसार कोभिड–१९ अगाडिकै स्तरमा चीनलाई मालदिभ्सको सबैभन्दा ठूलो स्रोत मुलुक चीन बनाउन उनले चीन तथा मालदिभ्सका पर्यटक सरोकारवालाहरूलाई बताएका छन् ।
चीन भ्रमणमा रहेका राष्ट्रपति मैजूले चीनको फूचौमा आयोजना भएको एक कार्यक्रममा यस्तो बताएका हुन् । चीनबाट सन २०२३ मा १ लाख ८७ हजार ११८ पर्यटकहरू मालदिभ्स पुगेको अटोल टाइम्सले उल्लेख गरेको छ ।
भारत भन्दा चीनको पहिलो राजकीय भ्रमण गरेर चीन पुगेका राष्ट्रपति मैजूले त्यस्तो बेला चीनलाई मालदिभ्सको सबैभन्दा ठूलो स्रोत मुलुक बनाउने कुरा गरेका छन् जुन बेला भारतमा मालदिभ्सको विकल्पमा भारतकै लक्ष्य दीप टापु बनाउन चर्चा चलिरहेको छ ।
गत बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लक्ष्य दीप भ्रमण गरेर स्कुबा डाइभिङ गरेको भिडियो तथा तस्बिरहरू सार्वजनिक गरेका थिए । त्यो तस्बिर आएसँगै भारतका सेलिब्रेटी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भारतमै मालदिभ्सको सुन्दरता पाइने भन्दै मालदिभ्सका राष्ट्रपतिलाई चीनको कठपुतली भनेर आलोचना गरेका थिए ।
भारतीय सेनालाई मालदिभ्सबाट फिर्ता बोलाउने देखी पहिलो भारतको राजकीय भ्रमण गर्ने परम्परा अन्त्य गरेका मैजूको विरोधमा यस्तो आक्रोश आएको थियो ।
भारतीय सामाजिक सञ्जालमा मैजूलाई चीनको कठपुतली भनेपछि मालदिभ्सका मन्त्री सहायक मन्त्रीले पनि मोदीलाई इजरायलको कठपुतली, आतंककारी तथा मुस्लिम विरोधी आरोप लाएका थिए ।
त्यस्तो आरोप लाउने तीन मन्त्री अहिले निलम्बनमा छन् । भारतले भने सबैलाई निलम्बन होइन बर्खास्त गर्न आग्रह गरेको हिन्दुस्तान टाइम्क्स तथा अटोल टाइम्सले उल्लेख गरेका छन् ।
सोमबार भारत र माल्दिभ्सले एक अर्काका राजदूतलाई बेलाएर स्पष्टीकरण समेत सोधेका छन् । भारतमा मालदिभ्सलाई पर्यटन गन्तव्य नबनाउन व्यापक सामाजिक सञ्जालमा अभियान चलिरहेको समयमा मालदिभ्सका राष्ट्रपति मैजूले चीनलाई मालदिभ्सको सबैभन्दा ठूलो पर्यटक स्रोत मुलुक बनाउन चीनबाट सार्वजनिक आग्रह गरेको सूचना सार्वजनिक भएको हो ।