बेलबारी सामाजिक सुरक्षा कोषमा आबद्ध हुने कोशी प्रदेशकै पहिलो पालिका – Nepal Press

बेलबारी सामाजिक सुरक्षा कोषमा आबद्ध हुने कोशी प्रदेशकै पहिलो पालिका

काठमाडौं । मोरङको बेलबारी नगरपालिका योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कोशी प्रदेशकै पहिलो पालिका बन्न सफल भएको छ ।

सरकारको मुख्य प्राथमिकताको क्षेत्रको रुपमा रहेको सामाजिक सुरक्षा कोषमा आम श्रमिकलाई जोड्ने सरकारको विशेष योजना अन्तर्गत बेलबारी नपाले अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गरेको हो ।

नगरपालिकामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकसँगै स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा समेट्नेसम्बन्धी सम्झौतापत्रमा बेलबारी नपाका मेयर दिलप्रसाद राई र कोषको कोशी प्रदेशअन्तर्गत विराटनगर शाखाका प्रमुख सौरभ मिश्रले हस्ताक्षर गरको छन् । सम्झौताको रोहबरमा बेलबारीकी उपमेयर नितु थापा र कोषका महेश प्रधान रहेका छन् ।

सम्झौतापछि मेयर राईले नगरपालिका क्षेत्रभित्रका अनौपचारिक क्षेत्र तथा स्वरोजगारका श्रमिकलाई आगामी माघ महिनादेखि नियमित रुपमा सहयोगदान गर्ने बताए ।

आगामी आर्थिक वर्षको लागि स्रोत व्यवस्थापन गरी पालिकामा कार्यरत अस्थायी तथा करार कर्मचारीलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कार्ययोजना रहेको उनले जानकारी गराए ।

कोषका विराटनगर शाखा प्रमुख मिश्रले वर्तमान सन्दर्भमा जनताको जीवनयापन तथा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याहरुको समुचित सम्बोधन गर्न सामाजिक सुरक्षा अपरिहार्य भएकोमा जोड दिए ।

यसैबीच बेलबारी नगर क्षेत्रभित्रका अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिक, जनप्रतिनिधिको लागि अभिमुखीकरणसमेत भएको शाखा कार्यालय विराटनगरका सम्पर्क व्यक्ति महेश प्रधानले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर