१८ अर्ब बिगो-जरिवाना पनि अपुग भन्दै कर फर्छ्यौट आयोगका तीन पदाधिकारीविरुद्ध अख्तियार सर्वोच्चमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोगका तीन पदाधिकारीमाथिको बिगो र जरिवाना अपुग भएको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । यसअघि विशेष अदालतले सुनाएको फैसलाविरुद्ध अख्तियार सर्वोच्च गएको हो ।
विशेषले यो मुद्दामा हालसम्मकै ठूलो बिगो र जरिवाना सहितको फैसला सुनाएको थियो । आयोगका तत्कालीन तीन पदाधिकारी चुणमणि शर्मा, लुम्बध्वज महत र उमेश ढकाललाई ९-९ वर्ष जेल सजायका साथै ६-६ अर्ब भन्दा बढी विगो–जरीवाना लगाइएको छ । तर, आफूले दाबी गरे अनुसारको बिगो कायम नगरेकाले विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको आयोगको दाबी छ ।
अख्तियारले १० वटा आधार देखाई ‘बिगो कायम नगरेको हदसम्म फैसला त्रुटिपूर्ण रहेको’ दाबी गरेको हो ।
विशेष अदालतको मुद्दाको पूर्णपाठ अहिलेसम्म प्रतिवादीहरुको हातमा परेको छैन । पूर्णपाठ बुझेको ५० दिनभित्र उनीहरुले पनि सर्वोच्चमा पुनरावेदन गर्न सक्छन् ।