आईएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेजको सीईओमा बाबुराम शर्मा नियुक्त
काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बाबुराम शर्मा नियुक्त भएका छन् ।
भेन्चर हायर पर्चेजमा बिजनेश हेडको रुपमा साढे तीन वर्ष अगाडि प्रवेश गरेका शर्मालाई मंगलवार बसेको बोर्ड बैठकले कम्पनीको महाप्रबन्धकबाट सीईओमा बढुवा गर्ने निर्णय गरेको हो ।
डेढ दशकभन्दा बढी आइएमई ग्रुपमा काम गरेका शर्मा आईएमई फाइनान्सबाट ग्रुपमा प्रवेश गरेका थिए । पछि फाइनान्स बैंकसँग मर्ज भएपछी बैंक हुँदै ४ वर्ष आईएमई मोटर्स वीरगंजको प्रमुख समेत भएर काम गरीसकेका छन् ।
सरकारी जागीर छोडेर बैङ्किङ सेवातिर लागेका उनले बैंकिङ्ग र अटोमोबाइल क्षेत्रमा विशेष दख्खल राख्छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशात्र र अंग्रेजीमा स्नातकोत्तर गरेका उनले म्यानेजमेन्ट डेभलमेन्ट कलेज (म्यान) बाट ईएमबीए समेत गरेका छन् ।
आइएमई ग्रुप अन्तर्गतको वित्तिय कम्पनी भेन्चर हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कारोबार गर्न इजाजत प्राप्त संस्था हो । ३० करोड चुक्ता पूँजी रहेको कम्पनीले अहिले बजारमा दुई अर्बभन्दा बढी लगानी गरेको छ ।
लगातार ४ वर्षदेखि नाफामा रहेको कम्पनीलाई आगामी दिनमा पब्लिक लिमिटेड कम्पनी बनाउने र छिट्टै आईपीओ समेत निष्काशन गर्ने तयारी रहेको बुझिएको छ ।