शिवराजका मेयरले एकलौटी गरेको भन्दै वडाध्यक्षद्वारा नगर कार्यपालिका बैठक बहिष्कार
रुपन्देही । कपिलवस्तुको शिवराज नगरपालिका वडाअध्यक्षहरुले मेयर अजय थापाले एकलौटी गरेको भन्दै नगर कार्यपालिकाको बैठक बहिष्कार गरेका छन् । वडाअध्यक्षहरु अनुपकुमार चौधरी र रिजवान अहमदले मेयर थापामाथि आरोप लगाउदै बैठक बहिष्कार गरेका हुन् ।
नगर प्रमुख थापा स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत चलेको वडाअध्यक्षहरुले आरोप लगाएका छन् । शिवराज नगरपालिकाको पुस २६ गते हुने १४ औं नगर सभामा आफू अनुकुलका योजना मात्र समावेश गरेको वडा नं ७ का अध्यक्ष अनुपकुमार चौधरीले बताए ।
नगरसभामा सबै वडाअध्यक्षको योजना समावेश गर्न अनुरोध गर्दा पनि मेयर थापाले मधेसी समुदायलाई बाइपास गरी एकलौटी पेलेर जान खोजेको वडाअध्यक्ष चौधरीले आरोप लगाए ।
मेयर थापा र केही कर्मचारीहरुले पालिकालाई आफू अनुकुल गैरकानुनी तवरले चलाउन खोजेको वडा नं ८ का वडाअध्यक्ष रिजवान अहमदले बताए । आज बसेको कार्यपालिका बैठकमा मेयर थापा र प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले आफ्नो योजनालाई बेवास्ता गरी मेयर थापाको इसारामा चलेको आरोप लगाए । मेयर थापाले गर्दा वडाको विकास गर्न नसेको निर्वाचित जनप्रतिनिधिहरुले बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले आफू कसैको पक्षमा नरहेको बताए । मेयर थापाको इसारामा नचलेको प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए । राप्रपाबाट मेयर जितेका थापा कार्यपालिकामा एक्लै छन् । वडा नं ८ को अध्यक्ष चौधरी माओवादी र ८ का अध्यक्ष कांग्रेसका हुन् । बहुमत कार्यपालिका सदस्य एमालेका छन् ।