सन्दीपलाई कहिलेसम्म पक्राउ गर्न मिल्दैन ? – Nepal Press

सन्दीपलाई कहिलेसम्म पक्राउ गर्न मिल्दैन ?

काठमाडौं। काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बुधवार ८ वर्ष कैद सजाय गर्‍यो । बलात्कार मुद्दामा यसअघि दोषी ठहर गरिएकामा अदालतले एक दिनअघि सजाय निर्धारण गरेको हो । सन्दीपले अब जिल्लाको फैसलाविरुद्ध पुनरावेदन गर्न सक्नेछन् ।

सन्दीप तत्काल थुनामा जानु पर्दैन । उनले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनेछन् । तर यो थुनछेक आदेशमा धरौटी वा साधारण तारेखमा छुटेकाको हकमा मात्र लागु हुन्छ । थुनछेक आदेशले थुनामा रहेकाको हकमा थुनामै रहेर पुनरावेदन गर्नुपर्छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले अब फैसलाको पूर्ण पाठ तयार गर्नेछन् । पूर्ण पाठ तयार भएर प्रमाणीकरण भएपछि मात्र पुनरावेदन गर्ने बाटो खुल्छ । न्यायाधीशले पूर्ण पाठमा पुनरावेदनको म्याद विपक्षीलाई दिनु भन्ने उल्लेख गर्छन् । उक्त म्याद अदालतले विपक्षीलाई पठाउँछ ।

विपक्षीले म्याद बुझेपछि पुनरावेदनको बढीमा एक सय दिन (७० दिन नियमित म्याद र ३० दिन गुज्रेको म्याद थाम्ने)को म्याद सुरु हुन्छ । उक्त अवधिमा सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरिसक्नुपर्छ । त्यो अवधिमा पुनरावेदन नगरेमा सन्दीपले जिल्ला अदालतको फैसला स्वीकार गरेको ठहरिन्छ र त्यसपछि उनी जति बेला पनि पक्राउ पर्न सक्छन् ।

उच्च अदालतले जिल्लाकै फैसला सदर गर्यो वा संशोधनसहित कसुरदार ठहर गर्‍यो भने पनि सन्दीप तत्काल पक्राउ पर्ने छैनन । त्यस्तो अवस्थामा उच्च अदालतले फैसलाको पूर्ण पाठ तयार गरेर प्रमाणीकरण भएपछि सन्दीपले दोहोर्‍याई पाऊँको निवेदन सर्वोच्च अदालतमा दिन पाउँछन्।

सर्वोच्च अदालतले अनुमति दिएमा उसले फैसला नगर्दासम्म सन्दीप पक्राउ पर्ने छैनन् । तर दोहोर्‍याई पाउँको निवेदनमा अदालतबाट अनुमति नभएमा सन्दीपलाई तत्काल पक्राउ गर्ने बाटो खुल्ने छ ।

उच्च अदालतले गरेको फैसला, फैसला भएको मितिले एक वर्षपछि स्वत: थाहा पाएको मानिने व्यवस्था छ । तर अदालतबाट फैसला थाहा पाएको मितिले सर्वोच्च जानका लागि करिब २ महिनाको समय तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *