क्यामेरा बिसाएर कालीगण्डकी बचाउन हिँडेका गिरी भन्छन्- संस्कृति भत्काएर आधुनिक बन्नुको अर्थ छैन
काठमाडौं । कुनै समय थियो, आरके अदिप्त गिरी सिर्फ सृजनशील फोटोग्राफर पत्रकार थिए । फोटोग्राफीसँगै प्राकृतिक यात्री थिए । देशका विविध कुनाकाप्चामा पुग्नु, स्थानीयको जनजीवन, कला, संस्कृतिलाई क्यामेरामा कैद गर्नु र नेपालदेखि अन्तर्राष्ट्रिय मिडियामा छपाउनु उनको कर्म थियो ।
कला पारखी गिरी यतैकतै क्यामेरासँग रमाइरहेका थिए ।
गिरीको क्यामेराको लेन्सले नेपाली कला र संस्कृतिलाई ताक्थ्यो । आममानिसको जनजीवनमा उनको क्यामेराको बटम थिचिन्थ्यो । प्रकृतिको रहस्यमयी सौन्दर्यलाई उनैले क्यामेरामा कैद गर्थे ।
तर, अहिले गिरीको दैनिकी फेरिएको छ ।
तीन वर्षदेखि २० वर्षसम्म चलाएको क्यामेरालाई कतै बन्द गरेर राखेका छन् उनले । १०-११ देश घुमेको स्मृति कालीगण्डकी किनारमा दाउमा राखेका छन् । सम्पूर्ण सृजनशीलता शताब्दी घरको सन्दुकमा थन्काएका छन् । दृश्यसँगै शब्दहरुसित खेल्ने गिरीले सम्पूर्ण शब्दहरुलाई कुशुमपुर रंग भवनमा पोतेका छन् र लागेका छन्, कालीगण्डकीको इतिहास, सभ्यता र विरासतलाई यथावत राखिरहन ।
कोभिडकालको लकडाउनको वेला गिरी गाउँ गएका थिए पर्वत, कुस्मा ।
त्यहाँ उनले देखे- शालिग्राम पाइने आठ करोड वर्ष पुरानो कालीगण्डकीलाई अहिले डोजरले उधिनिरहेको छ । विज्ञानले डाइनोसरकालको सामुन्द्रिक जीव भनेर प्रमाणित गरेको शालिग्राममा डोजरको दाँत बर्सिरहेको छ । धार्मिक हिसाबले पनि अर्थपूर्ण शालिग्राम रोडा गिटीमा परिणत भइरहेको छ ।
२०-२२ किलोमिटरको अन्तरालमा २४-२५ वटा त क्रसर मात्रै कालीगण्डकीलाई उधिन्न तल्लीन छन् ।
अनि गिरीले सोचे- संसारकै जेठो नदी सभ्यता र धार्मिक हिसाबले आस्था र विश्वासको प्रतीक मानिने कालीगण्डकी नदी दोहन जघन्य अपराध हो । जीवित सम्पदा मास्ने अधिकार कोही कसैलाई पनि छैन ।
शालिग्रामबारे वैज्ञानिक मत छ- एमोनोइडिया सामुन्द्रिक जीव हो, (सेफर्ड आर (एनडी) डिस्कभरिङ फोसिल, ३० जनवरी २०२०) । शालिग्राममा पाइने जीवाशेष डाइनोसरकालमै लोप हुन पुगेका तिनै जीवको हो भनेर सन् १९८८ मा डलहाउस विश्वविद्यालयले अनुसन्धान गरेर प्रतिवेदन (ग्राडस्टाइन एट अल, १९८९) सार्वजनिक गरिसकेको छ । पुराणमा बज्रकीट भनिएका उक्त जीव दुई-तीन करोड वर्षअगाडि नै लोप भएका थिए ( ग्राडस्टाइन एट अल, सन् २०१२) ।
तिनै जीवाशेषलाई आधार मानेर श्रुतिस्मृतिमा सीमित सर्वप्रथम लेखिएको ऋग्वेद क्राइस्टभन्दा १ हजार ५०० वर्षअगाडि लेखिएको कुरा इन्साइक्लोपेडिया ब्रिटानिकाले लेखेको छ । अन्य ग्रन्थ त्यसपछि मात्र रचना गरिएको इतिहासकार बताउँछन् । शालिग्रामलाई अचार्यवतार मानेर पूजा गर्ने प्रचलन करिब २ हजार वर्ष अगाडिदेखि चलेको इतिहास पढ्न पाइन्छ ।
यस मानेमा लिपिबद्ध वेदपुराणभन्दा हिमालय जेठो, हिमालयभन्दा कालीगण्डकी जेठो र कालीगण्डकी भन्दा शालिग्राम जेठो भनी प्रमाणित गर्न पर्याप्त आधार छन् । त्यही शालिग्रामलाई रोडागिटी बन्न दिनुहुन्न भन्ने अभियानमा गिरी लागेका छन् ।
गिरी भन्छन्, ‘वैज्ञानिक मात्रै होइन, धार्मिक हिसाबले पनि प्राचीन पुराणलगायत धार्मिक ग्रन्थमा कालीगण्डकी नदीको गरिमा र महिमा उँचो छ । सनातन धर्म र पुराणहरूमा विश्वास मान्नेहरूका लागि कालीगण्डकी नदी श्रीकृष्णगण्डकीका नामले परिचित छ । नेपालका नदी प्रणालीमा पनि कालीगण्डकी नदीको गरिमा र महिमा विशेष र वैभवपूर्ण छ । विश्वमै अन्यत्र कहीँ नपाइने दुर्लभ शालिग्राम यस नदीमा मात्र पाइनु पनि गण्डक क्षेत्रको विशिष्ट पहिचान हो ।’
तर, वैज्ञानिक र धार्मिक हिसाबले कालीगण्डकीको संरक्षण गर्नुको सट्टा सीमित व्यक्तिहरुको स्वार्थका लागि नदी दोहन हुनु कति सान्दर्भिक हो ? लकडाउन कटाउन घर पुगेका गिरीले प्रश्नहरु तेर्साउन थाले ।
कालीको गैरकानूनी ढंगले यसरी विनाशलीला बढ्दै जाने हो भने अबको केही वर्षमै कालीको अस्तित्व समाप्त हुनेछ । यसको जिम्मेवार को हो ? गिरीले लगातार प्रश्नहरु तेर्स्याउन थाले ।
गिरीले भन्न थाले, ‘हामीलाई विकास त चाहिएकै छ । तर, संरक्षणसहितको विकास चाहिएको छ । न कि दोहनसहितको विकास ! हामीलाई त कला, संस्कृति, सभ्यतासहितको विकास चाहिएको हो । न कि कंक्रिटको बिल्डिङले थिचेको विकास !’
अनि गिरीले सञ्जालमार्फत् तिनीहरुलाई लगातार प्रश्नहरु गर्न थाले, जो मिलिभगतमा काली नदीको चीरहरण गरिरहेका थिए । स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी, दलाल, ठेकेदार, प्रशासन, पत्रकार (जो पत्रकार नै होइनन्) लगायतमाथि गिरीले सञ्जालमा बहस छेडे ।
गिरीको प्रश्नमाथि उनीहरुले समीक्षा गरेनन् । आत्मालोचना गरेनन् । बरु उल्टै गिरीमाथि सिंगो काली नदीको दोहनकारीहरु खनिए ।
उनीमाथि सामाजिक सञ्जालमा पर्वतको पत्रकारितामा देखिएका विकृत पक्षको भण्डाफोर गरेकै कारण गत साउनमा पक्राउ पुर्जी जारी भएको थियो । केही पत्रकारले गरेको आधारहीन उजुरी देखाएर उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिनु कालीगण्डकी दोहनविरुद्धको अभियानलाई कमजोर पार्ने उनीहरुको षड्यन्त्र भएको गिरीको आक्रोश छ ।
तर, गिरीको पक्षमा नागरिक समाजदेखि देशभरका पत्रकार, बुद्धिजीवीहरु एकत्रित भएपछि बाध्य भएर जाहेरी दिने पत्रकारहरुले जाहेरी फिर्ता लिएका थिए ।
अभियन्ता गिरीविरुद्ध उजुरी गर्ने अधिकांश पत्रकारहरु नेपाल पत्रकार महासंघद्वारा पत्रकार सदस्यता शुद्धीकरण अभियानको क्रममा कारबाही गरिएका व्यक्तित्वहरु हुन् । यी पत्रकारहरुलाई पत्रकार महासंघ गण्डकी प्रदेश समितिले सक्रिय राजनीतिमा लागेको, अन्य संस्थामा जागिर गरेको भनी कारबाही गरी सदस्यताबाट नै हटाइसकेको छ ।
अर्कातिर कुस्मामा ३०० वर्ष पुरानो घरलाई ‘शताब्दी घर’ नामकरण गरेर कला, संस्कृतिको संरक्षणमा लागेका छन् गिरी । यसरी लाग्नुमा गिरीको आफ्नै तर्क छ, ‘नेपाली कला, साहित्य, संस्कृति र यसको विविधता विनाशको दिशातिर छ । हाम्रो नारा संरक्षणको छ तर, व्यवहार विनाशको छ । न सम्पदा, संस्कृतिमा बृहत् खोज गर्न सक्यौं । न त सम्पदाको महत्व आममानिसलाई बुझाउन सक्यौं । परिवर्तनको लहरमा हेर्दाहेर्दै हामी खोक्रो भैसक्यौं । अब हाम्रो पुस्तामाथि संरक्षणको दायित्व थपिएको छ । त्यही सोचको परिणति र परिकल्पना हो- शताब्दी घर ।’
एकातिर, इतिहास, संस्कृति, पुरातत्वबारे अध्ययन अध्यापन हुने विश्वविद्यालय पनि राजनीतिको खेल खेल्ने मैदान बनेको छ । अहिले गतिला विद्यार्थी विश्वविद्यालयमा न उत्पादन भए न त उनीहरूले अहिलेदेखि नै संस्कृति, सम्पदा संरक्षणप्रति कुनै चासो देखाएका छन् ।
बस् हामीले ध्वंसको बाटो रोजेको गिरीको विश्लेषण छ । तसर्थ, आफ्नो सम्पदा आफैं संरक्षण गर्नतर्फ लाग्नुको विकल्प नभएकाले क्यामेरालाई कतै थन्क्याएको गिरी बताउँछन् ।
गिरी भन्छन्, ‘मान्छे इतिहासको जगमा वर्तमान बाँच्छ । हामी हाम्रा सभ्यता र संस्कृतिको जग भत्काएर ‘आधुनिक’ बन्नुको अर्थ छैन ।’
कुश्मा (कुशुमनगर) धार्मिक र सांस्कृतिक जगमा उभिएको ५०० वर्ष पुरानो शहर हो । यसैको नलेखिएको इतिहास खोजबिन गर्न गिरी लागिपरेका छन् । गिरी भन्छन्, ‘कला अनि संस्कृतिविनाको शहर आत्माविनाको शरीर जस्तै हो । पुर्खाको आत्मा झल्कने सम्पदाहरु संरक्षण गर्न पाउँदा प्रशन्न महसुस हुन्छ । म यो अभियानबाट एकै कुरा भन्न चाहन्छु, हामी स्थानीय स्रोतसाधनको अधिकतम परिचालन र व्यवस्थापनबाट दीगो र संस्थागत विकास चाहन्छौं !’
यिनै विषयलाई समेटेर गिरीसँग हामीले कुराकानी गरेका थियौं । तिनै कुराकानीको सम्पादित अंशः
– क्यामेरा बिसाएर कालीगण्डकी बचाउ अभियानमा सक्रिय हुनुभयो है ?
काली ठूलो सभ्यता बोकेको नदी हो । नदी जीवनको स्रोत हो । काली धौलागिरीको आँगन हो । तर, विकास कसरी गर्ने भन्ने हेक्काविना नै काली नदी दोहनको अतिक्रमणमा परेको छ ।
अहिले हाम्रा घरआँगनको नदीनाला मरिरहेका छन् । हाम्रो जलाधार क्षेत्र नै सुकेपछि हामी जाने कहाँ ? म त प्रकृतिको प्रेम र आदरमा डेढ दशक हिँडेको मान्छे । तर, घर पुग्दा त्यस्तो विकराल समस्या देखेपछि लड्न सुरु गरेको हुँ ।
– काली बचाउने अभियानकै क्रममा तपाईंविरुद्ध पक्राउ पुर्जी जारी भयो । उजुरी पत्रकारहरुले नै दिएका थिए । उनीहरु तपाईंसँग किन रुष्ट भए ?
उनीहरुले पहिलादेखि नै त्यहाँको शक्तिसँग साँठगाँठ गरेर रजगज गरिआएका थिए । मिडियाको मर्यादा कुल्चेर हिँडिरहेका थिए । नागरिकहरुलाई सुसूचित गर्नुपर्ने जिम्मेवारीभन्दा बाहिर गएर मिलिभगतमा जे पनि गरिरहेका थिए । बालुवा तस्करसँग साँठगाँठ गरिरहेका थिए । मैले बोल्दा उनीहरुको मुख बुझिए । त्यसैले त्यहाँको सत्ता र ठेकेदारहरुसँग मिलेर मलाई दुःख दिने नियतले उजुरी हालेका थिए ।
त्यहाँ कस्तो रहेछ भने बाँस्केट फन्डको नाममा राज्यकोषको दोहन गरिरहेका रहेछन् । करमा तर खाने परिपाटी मौलाउँदो रहेछ । डेढ-दुई करोड वार्षिक रुपमा पालिकाबाट ल्याएर खाने गर्छन् । मैले उनीहरुविरुद्ध बोलेको थिएँ ।
– तपाईंको लडाइँ त रोडागिटी गरिरहेका व्यापारी ठेकेदारहरुसँग थियो । पत्रकारहरु किन आक्रोशित भए ?
त्यहाँको नेतृत्व नै दोहनकारी छ । त्यहाँ एउटा डीएसपी जाँदा दुईतीन करोड टार्गेट गरेर जाने भन्ने छ । त्यहाँ प्रशासक, न्यायाधीश सबै दोहनकारी छन् । प्रशस्त प्रमाण र तथ्यहरु छन् । यसमा पत्रकारहरु पनि जोडिएका छन् ।
– सीधै राज्य संयन्त्रमाथि प्रश्न उठाउन त प्रमाण चाहिएला नि ?
अहिले त्यहाँका नेताहरु दलाल, तस्कार, माफियाको बोली बोल्छन् । सात पालिका छ पर्वतमा, सबै ए ग्रेडका ठेकेदारको कब्जामा छ । २०-२२ किलोमिटरमा २४-२५ क्रसरहरु छन् । यति प्रमाण काफी छैन र ?
– कानुनी हिसाबले दर्ता गरेर चलाएका होलान् नि ?
होइन, अवैध छ । कालीको दोहनमा वातावरण प्रभाव मूल्यांकन भन्ने पनि हुन्छ । तर, उनीहरुको स्वार्थ, दादागिरी, दम्भका लागि जे पनि भएको छ । पत्रकारहरुलाई किन्ने, आफ्नै मिडिया खोल्नेलगायत हर्कतहरु गर्छन् ।
– कालीगण्डकीको इतिहास अलिकति जोडौं न !
हामी कालीगण्डकीलाई वैदिक सनातन सभ्यताको हिमवत खण्डको नाभी पनि भन्छौं । ट्रान्स हिमालय भन्छौं । करोडौं वर्षअघि संसारमा दुई प्लेट ठोक्किँदा अहिलेको हिमाल खडा भएको हो । त्यसपछि हिमालभन्दा जेठो र नदीभन्दा जेठो शालिग्राम हो । जो डाइनोसर युगसँग जोडिएको प्रमाण हो । शालिग्रामलाई सामुन्द्रिक प्राणीको अवशेष मान्छ विज्ञानले । जो संसारको कुनै पनि नदीहरुमा पाइँदैन । धार्मिक आस्थाले पुग्नेहरुलाई त विष्णुको अवतार भयो ।
तर, हामी त्यही शालिग्रामलाई ढुंगा, गिटीको रुपमा कौडीको भाउमा बेचिरहेका छौं । यहाँ बेहाल छ । यहाँ विकासको हाम्रो दृष्टिकोण कमजोर छ । हामीले केका लागि गरिरहेका छौं विकास ? कसका लागि गरिरहेका छौं ? साथै प्रकृतिले पुनरुत्पादन नगर्ने चिजलाई कतै पनि ठेक्का, व्यापार गर्न पाइँदैन भन्ने अन्तर्राष्ट्रिय कानून छ । तर, पर्वतमा त्यही कानूनलाई कुल्चिएर हिँड्नेहरु छन् ।
– कालीगण्डकी बचाउनुपर्छ भन्दा विकास भाँड्न आए भन्नेहरु पनि होलान् नि ?
हामी त संरक्षणसहितको विकास हुनुपर्छ भनेर पढेर आएका हौं । अर्बान डेभलपमेन्टका कति धेरै टर्म्स छन् । हामी त्यसलाई बिर्सेर मोनोपोली, व्यक्तिगत लाभहानीका लागि ठेक्का लिने, दिने क्रमले हामीलाई कहाँ पुर्याउँछ ? सिंगो दक्षिण एसिया नै ठूलो पानीको संकटमा छ ।
भारतलगायत मुलुक हाम्रो देश छाडेर चुरे किन ताकिरहेका छन् ? उनीहरुले आफ्नो पहाड खन्न दिन्छ ? मनोमानी तरिकाले मरुभूमिको पनि एक चिम्टी बालुवा निकाल्न पाइँदैन । भएका स्रोतहरुको पनि समुचित उपयोग गर्नुपर्छ भनेर कानूनले भनेको छ ।
– यो त आक्रोश हो कि ?
होइन, यो मभित्रको बुझाइ हो । काली दुई तिहाइको हिसाबले मरिरहेको छ । एकडेढ करोडमा ठेक्का लगाएर समृद्धिको नारा घन्काएर कुनै विकास हुन्छ ? घरमा कारागार जस्तो टायल हालेको छ, ग्रिल हालेको छ । खासमा घर त हामीभित्रै छ । त्यो हेर्ने हो । हामी प्रकृतिलाई बिर्सेर कहाँ पुग्ने हो ?
– लामो समय काठमाडौं बसेर काम गर्नुभयो । अहिले एकाएक कसरी काली बचाऔं अभियानमा निस्कनुभयो ?
विश्व नै अहिले संकटमा छ । हामी टाइम बम र एटम बममाथि छौं । पृथ्वी नै मर्दैछ । हिमालमा हिउँ छैन, नदीनाला सुकिरहेको छ । वायु प्रदूषण छ भनेर राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आएर बोलिदिनुपर्ने ? राज्यसत्ताका भ्रमहरु कहिले उघारिने ? यो त सुन्दर देश हो बगैंचा जस्तो । हामीले त समुचित उपयोग गर्ने हो ।
अस्ति ७२ दिनको खडेरीले ८०-८२ वटा नदी मरे चीनमा । नर्मदा, गंगा, सरस्वतीको हाल कस्तो छ ? यो ट्रान्स हिमालय हो । दक्षिण एसियाका दुई अर्ब मानिस त यो हिमालयको पानी खाएर बाँचिरहेका छन् । ठूला नदी र समुद्रका पानी पिउन उपयुक्त हुँदैन । पिउने जलाधारको पानी हो । जलाधार सिध्याएर कहाँको पानी पिउन जाने ?