कर्णालीसँग गण्डकी ७ विकेटले पराजित (भिडिओ)
रुपन्देही । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा आइतबार भएको खेलमा जीतका लागि गण्डकीले दिएको १२३ रनको लक्ष्य कर्णालीले ३३.२ ओभरमा ७० बल बाँकी छँदै ३ विकेटको नोक्सानीमा पूरा गर्यो ।
कर्णालीको जीतमा हिमान्सु शाहीले ७१ बलमा ५३ रनको अर्धशतकीय पारी खेले । उनले ५ चौका र २ छक्का प्रहार गरे ।
यस्तै निश्चल रावलले अविजित २९, रवीन्द्र शाहीले २० र अर्जुन घर्तीले नटआउट १० रनको योगदान दिए ।
बलिङमा गण्डकीका अंकित न्यौपानेले २ र विपीन खत्रीले ७ १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १२२ रनको सामान्य योगफल बनाएको थियो । गण्डकीका लागि अमृत गुरुङ र कमल परियारले समान २१ रनको सर्वाधिक योगफल बनाए ।
अगाडिका पाँच ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा छैटौं नम्बरमा आएका ब्याट्सम्यान अश्वानी रानाले १६ र कप्तान विपीन खत्रीले १० रनमात्रै जोड्न सके । चन्द्र पौडेल १४ र अंकित न्यौपाने २ रनमा अविजित रहे ।
कर्णालीका लागि अनुज चुनारा, दिनेश अधिकारी र दीपेन्द्र रावतले समान दुई-दुई र प्रकाश जैशी, दिवान पुन तथा रवीन्द्र रावतले एक-एक विकेट लिए ।
गण्डकीले लगातार दोस्रो हार व्यहोरेको छ । उसले शनिबार लुम्बिनी प्रदेशसँग ४ विकेटको हार भोगेको थियो । प्रधानमन्त्री कपका लागि पहिलो पटक काठमाडौं बाहिर भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा ११ वटा खेल हुनेछन् । सोमबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।