प्रधानमन्त्री कप क्रिकेट: कप्तान विनोदको शतकमा मधेशलाई आर्मीको विशाल लक्ष्य
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लवले मधेश प्रदेशसामु विशाल लक्ष्य प्रस्तुत गरेको छ । कप्तान विनोद भण्डारीको शतकमा आर्मीले मधेशलाई ३२१ रनको विशाल लक्ष्य दिएको हो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३२० रन बनाएको हो । आर्मीका कप्तान भण्डारीले ९३ बलमा ११३ रनको शतकीय इनिङ खेले ।
कुशल मल्ल र विवेक यादवले ३७-३७, इम्रान शेखले २६, सन्तोष कार्कीले ४२, भीम सार्की १८, बसिर अहमदले १६, शाहब आलमले ७, सोमपाल कामीले ६ र सन्दीप रजाइली शून्य रनमा आउट भए ।
बलिङतर्फ मधेशका रञ्जितकुमारले ५ विकेट लिएका छन् । ९ ओभर बलिङ गरेका कुमारले ४१ रन खर्चेर ५ विकेट लिन सफल भए । विशाल पटेलले २, राजेश यादव र रुपेश सिंहले १-१ विकेट लिए ।