चिकित्सक र कर्मचारीको आन्दोलनले सेवा प्रभावित भए बीपी प्रतिष्ठानमा हस्तक्षेप गर्ने दलहरूको चेतावनी – Nepal Press

चिकित्सक र कर्मचारीको आन्दोलनले सेवा प्रभावित भए बीपी प्रतिष्ठानमा हस्तक्षेप गर्ने दलहरूको चेतावनी

विराटनगर । धरानमा क्रियाशील राजनीतिक दलका नेताहरूले बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षक, कर्मचारीको आन्दोलनले उपचार प्रभावित भए हस्तक्षेप गर्ने चेतावनी दिएका छन् ।

आन्दोलनका कारणले प्रतिष्ठानको शैक्षिक तथा स्वास्थ्योपचारमा प्रभाव परे प्रतिष्ठान प्रशासनमा हस्तक्षेप गर्ने दलहरूले चेतावनी दिएका हुन् ।

संयुक्त वक्तव्य जारी गर्दै दलहरूले आन्दोलनको कारणले अस्पतालको शैक्षिक तथा स्वास्थ्योपचार जस्तो संवेदनशील विषयहरू प्रभावित भए प्रतिष्ठानको प्रशासनमा हस्तक्षेप बढाउन आफूहरु बाध्य हुने बताएका छन् ।

तहगत वृद्धि नभएको भन्दै आइतबार चिकित्सक र कर्मचारीहरूले बहिरङ्ग सेवा बहिस्कार गरे । उनीहरूको आन्दोलनका कारण बीपी प्रतिष्ठानको सेवा प्रभावित भएको छ ।

चिकित्सक र कर्मचारीले सेवा बहिस्कार गरेको भोलिपल्ट दलहरूले विज्ञप्ति निकाल्दै राजनैतिक दलहरूको समन्वय र उपस्थितिमा भएका सम्झौता कार्यान्वयन गर्न गराउन दलहरूको तर्फबाट पहल भइरहेको हुँदा आन्दोलनलाई रचनात्मक बनाइ अघि बढ्न आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।

प्रतिष्ठानमा शिक्षक तथा कर्मचारीहरूले ९ वर्षदेखि रोकिएको बढुवाको माग राखी आन्दोलन गरिरहेको कुरामा राजनीतिक दलहरूले समस्या समाधान गर्न पदाधिकारी तथा आन्दोलनकारी शिक्षक, कर्मचारीहरूसँग संवाद गर्ने, माथिल्लो तहका नेतृत्व नेपाल सरकारसँग लबिङ गर्ने कार्य निरन्तर गरेको वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र एकीकृत समाजवादी पार्टी धरान नगर अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर