ताइवानलाई स्वतन्त्र देशको मान्यता दिँदै आएको नाउरुले तोड्यो कूटनीतिक सम्बन्ध – Nepal Press

ताइवानलाई स्वतन्त्र देशको मान्यता दिँदै आएको नाउरुले तोड्यो कूटनीतिक सम्बन्ध

काठमाडौं । प्यासिफिक टापुको देश नाउरुले ताइवानलाई दिँदै आएको स्वतन्त्र देशको मान्यता तोडेको छ । अमेरिकी पक्षधर राष्ट्रपति विलियम लाइ ताइवानको नयाँ राष्टपति निर्वाचित भएको परिणाम सार्वजनिक भएको एक दिनपछि सोमबार नाउरुले यस्तो सार्वजनिक घोषणा गरेको वासिङ्टन पोस्टले उल्लेख गरेको छ ।

पोस्टका अनुसार आफ्नो देशको हितमा उचित निर्णय गरेको भन्दै नाउरुले जनवादी गणतन्त्र चीनसँग औपचारिक सम्बन्ध बनाएर ताइवानको मान्यता तोडेको हो । नाउरुले ताइवानलाई स्वतन्त्र देश नमानेर चीनको एक अभिन्न अंग मान्ने भन्दै अब ताइवानसँग कुनै आधिकारिक सम्बन्ध तथा उठबस नहुने बताएको छ ।

प्यासिफिक टापु देशहरुले ताइवानलाई मान्यता नदिएर चीनसँग सम्बन्ध बनाएको पछिल्लो चार वर्षमा यो तेस्रो उदाहरण हो । यस अगाडि सन २०१९ मा किरिबाटी र सोलोमन आइल्याण्डस ताइवानसँगको सम्बन्ध तोडेर चीनसँग जोडिएका थिए ।

वासिङटन पोस्टका अनुसार अब ताइवानलाई मान्यता दिने देशहरु ११ मा सीमित भएका छन् । ती ११ देशमा बहुसंख्यक साना तथा टापु देशहरु छन् । संयुक्त राष्ट्रसंघ, त्यसका सुरक्षा परिषदका सदस्य, जी-७ देखि जी-२० कुनै पनि देशले भने ताइवानलाई स्वतन्त्र देशको मान्यता दिएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर