कर विवाद : पोखरा महानगरपालिकाको सभा स्थगित, अध्ययनका लागि समिति गठन – Nepal Press

कर विवाद : पोखरा महानगरपालिकाको सभा स्थगित, अध्ययनका लागि समिति गठन

पोखरा । पोखरा महानगरपालिकाको १४औँ नगरसभा स्थगित भएको छ । अब नयाँ मिति माघ १८ गतेलाई तोकिएको छ ।

पुस २९ गते महानगरको हिउँदे सभा बोलाइए पनि करको विषय सम्बोधन हुन नसक्दा नगरसभा स्थगित भएको हो । पोखरा महानगरपालिकाका प्रवक्ता मोती तिमिल्सिनाले आर्थिक ऐनमा राजश्वसम्बन्धी विषय समेटिने जानकारी गराउँदै त्यसमा केही संशोधन गर्नुपर्ने विषयवस्तुहरूको अध्ययन गर्न ४ नम्बरका वडाध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्य समिति गठन भएको बताए । वडाध्यक्षहरू किरण बराल, प्रेमप्रसाद कर्माचार्य, तोरण बानिया, अमृत तिमिल्सिना, गंगाबहादुर केसी, कार्यपालिका सदस्यहरू निर्मल दियाली, हरिमाया विक र सदस्य सचिवमा महानगरका राजश्व प्रमुख दीपेन्द्र पण्डित अध्ययन समितिका समितिका सदस्य छन् ।

आर्थिक ऐन २०८० मार्फत कर वृद्धि भएको थियो । कर वृद्धि भएको करिब ७ महिनापछि कार्यपालिकामा बहुमत रहेको कांग्रेसले विरोध जनाएको हो । गत आर्थिक वर्षका तुलनामा एक सय प्रतिशतसम्म मालपोत तथा भूमिकर वृद्धि भएको महानगरले बताउँदै आएको छ भने व्यवसायीले ३ सय प्रतिशतसम्म कर वृद्धि गरेको भन्दै विरोध जनाइरहेका छन् ।

यो पनि पढ्नुहोस् : करका नाममा ढाड सेक्दै पोखरा महानगर, एकै वर्षमा ५० प्रतिशतभन्दा धेरै बढाइयो मालपोत तथा भूमिकर

पोखरा महानगरपालिकाले पोखराको घरजग्गा कर घटाउने एजेण्डा नराखेपछि पोखराको कार्यपालिका बैठक स्थगित भएको थियो । मंगलबार बस्ने भनिएको कार्यपालिका बैठक कर घटाउने एजेण्डा नराखेपछि नेपाली कांग्रेसका वडाध्यक्षहरू बैठकमा सहभागी नहुने भनेसँगै बैठक स्थगित भएको थियो ।

यता पोखरा वडा नम्बर वडाध्यक्ष तथा नेपाली कांग्रेस दलका नेता दिवसमान प्रधानांगले पोखरेली जनताको चाहना र भावनाअनुसार काम गर्नुपर्ने कर्तव्य भएकोले विविध कारणले गर्दा रोकिएको विशेष प्रस्तावलाई सम्बोधन गरेर राजश्वलाई घटाउनको लागि कार्यदललाई दुई हप्ताभित्र घटाउन समय दिएको बताए ।

पोखरा महानगरपालिकामा कांग्रेसका वडाध्यक्षहरूको बहुमत छ । २२ जना वडाध्यक्ष रहेको कांग्रेसले मंगलबार बस्ने भनेको कार्यपालिका बैठकमा कर घटाउने एजेण्डा राख्न सुझाएको थियो । तर, महानगरले कर घटाउने बारेको एजेण्डा बैठकमा राखेको थिएन । एजेण्डा नै समावेश नभएपछि कांग्रेसका वडाध्यक्षहरूले बैठकमा सहभागी नहुने जानकारी मेयर धनराज आचार्यलाई गराएका थिए । त्यसअघि सभामा प्रश्तुत हुने कार्यसूची पास गर्न कार्यपालिका बैठक डाकिएको हो ।

त्यस्तै पोखरा महानगपालिका वडा नम्बर १७ का अध्यक्ष राधिकाकुमारी शाहीले कार्यपालिकाको बैठक नेकपा एमालेले बहिष्कार नगरेको बताइन् । समयमा नेपाली कांग्रेसका जनप्रतिनिधि नआउँदा बैठक स्थगित भएको उनले बताइन् ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने १६ र १७ गते कार्यपालिकाको बैठक बस्दै र १८ गते नगरसभा बस्ने बताए । कांग्रेसको विरोधपछि आर्थिक ऐनमा राजश्वसम्बन्धी विषयहरू समेटिने महानगरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर