न्यायाधीशपत्नी आरती आज पनि पुगिन् सर्वोच्च, प्रहरीले गेटबाटै लियो नियन्त्रणमा
काठमाडौं । न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरी रावल आज पनि सर्वोच्च अदालत पुगेर विरोध प्रदर्शनको प्रयास गरेकी छन् । उनलाई प्रहरीले गेटबाटै नियन्त्रणमा लियो ।
दुई दिनअघि आरतीले सर्वोच्च गेटभित्रै पसेर आत्मदाह प्रयास गरेकी थिइन् । आज भने त्यस्तो प्रयास गरेकी थिइनन् । उनले न्याय माग्दै नारावाजी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
न्यायाधीश गिरीले आफूलाई वैवाहिक बलात्कार गरेको आरोप लगाउँदै आरती कानूनी लडाइँमा छिन् । उनको मुद्दा अदालतमा विचाराधीन छ ।
स्रोतकाअनुसार आरतीले एउटा किस्ती र कचौरा लिएर गएकी थिइन् । किस्तीमा ‘भुवन गिरीलाई थुनामा राख’ भनेर लेखिएको थियो । उनले कचौरा देखाएर आफूले न्यायको भीख मागिरहेको संकेत गर्न खोजेकी थिइन् । साथै, उनले ज्याकेटभित्र सेतो टिसर्ट लगाएकी थिइन्, जसमा न्यायको मागसहितको नारा लेखिएको थियो ।
सर्वोच्च गेटमा पुगेर उनले ज्याकेट खोल्ने प्रयास गर्दागर्दै प्रहरीले नियन्त्रणमा लिए । उनले किस्ती निकाल्न पाइनन् । आइतबार सर्वोच्चभित्र आत्मदाह प्रयास गरेपछि गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो रिहालगत्तै उनी शान्तिबाटिका पुगेर निरन्तर धर्ना दिइरहेकी छन् । न्यायाधीश श्रीमान् थुनामा नराखेसम्म सडकमै बस्ने उनको अडान छ ।