न्यायाधीश गिरीविरुद्धको मुद्दामा भोलि सर्वोच्चमा पेसी, थुनामा राख्ने/नराख्नेबारे आदेश हुने – Nepal Press

न्यायाधीश गिरीविरुद्धको मुद्दामा भोलि सर्वोच्चमा पेसी, थुनामा राख्ने/नराख्नेबारे आदेश हुने

काठमाडौं । श्रीमान्‌ले आफूलाई वैवाहिक बलात्कार गरेको आरोपसहित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल लामो समयदेखि कानूनी तथा सडक संघर्षमा छिन् । गत आइतबार उनले सर्वोच्च अदालतभित्रै पसेर आत्मदाह प्रयास गरिन् भने आज पनि प्रदर्शन गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लियो ।

आरतीले श्रीमान्‌विरुद्ध दिएको बलात्कारको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । यसअघि जिल्ला प्रहरी कपिललस्तुमा दिएको जाहेरीका आधारमा प्रहरीले गिरीलाई काठमाडौंबाट पक्राउ गरेको थियो । तर, काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दियो । उक्त आदेशविरुद्ध आरतीले उच्च अदालत ललितपुरमा पुनरावेदन गरिन् । उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेपछि आरती सर्वोच्चमा पुगेकी छन् ।

जिल्ला र उच्चको आदेशविरुद्ध आरतीले सर्वोच्चमा गरेको पुनरावेदनमा भोलि पेसी तोकिएको छ । त्यसैको छेकेमा उनी लगातार सर्वोच्च अदालतमा पुगेर प्रदर्शन गरेकी हुन् । आरतीको मुख्य माग भनेको न्यायाधीश गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने रहेको छ । उनले आफ्नो मुद्दालाई प्रत्येक साता सुनवाइ गर्ने गरी अग्राधिकारमा राख्नुपर्ने माग पनि गरेकी छन् । यसका लागि आज निवेदन दिन सर्वोच्च जाने गिरीले नेपाल प्रेससँग बताइन् । यसअघि निवेदन दिन जाँदा सर्वोच्चका रजिस्टारले फर्काइदिएका थिए ।

आरती न्यायाधीश गिरीकी कान्छी पत्नी हुन् । जेठी श्रीमतीबाट गिरीका चार सन्तान छन् । कान्छी आरती भने निसन्तान छिन् । गिरीसँग आफ्नो विवाह २०७५ सालमा भएको तर आफूलाई श्रीमान्‌ले यौनदासीका रूपमा मात्र व्यवहार गरेको आरतीको आरोप छ । विवाहपश्चात आफ्नो गर्भ बसेपछि श्रीमान्‌ले गर्भपतन गर्न दबाब दिएको तर नमान्दा कुटपिट गरेको दाबी उनले गर्दै आएकी छन् । कुटपिटबाट आफ्नो गर्भ खेर गएको उनी बताउँछिन् । आफ्नो गर्भ खेर गएश्चात श्रीमान्‌ले बन्ध्याकरण गरेको पनि उनको दाबी छ ।

आरतीलाई भुवनले अंश दिएका छन् तर औपचारिक सम्बन्ध विच्छेद भइसकेको छैन । न्यायाधीश गिरीले बाँके जिल्ला अदालतमा हालेको सम्वन्धविच्छेदको मुद्दा पनि अदालतमा विचाराधीन छ । डिभोर्सकै प्रक्रियामा पनि आफूलाई गिरीले बलात्कार गरेको भनेर आरतीले अर्को मुद्दा दिएकी छन् । उक्त अहिलेसम्म मुद्दामा पेसी राखिएको छैन ।

डिभोर्सको मुद्दा चलिसकेको अवस्थामा यदि श्रीमान्‌ले श्रीमतीलाई जबरजस्ती करणी गरेको खण्डमा त्यसलाई ‘वैवाहिक बलात्कार’ नभएर सीधै ‘बलात्कार’ मान्ने कानूनी व्यवस्था छ । वैवाहिक बलात्कारभन्दा बलात्कारमा कडा सजाय हुन्छ ।

न्यायाधीश गिरीले पनि रावलमाथि कुनै मुद्दा हाल्न बाँकी राखेका छैनन् । उनले आफ्नो कोठाबाट पैसा चोरी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए भने बाँके जिल्ला अदालतमा रावलमाथि मानहानीसम्बन्धी सातवटा मुद्दा हालेका छन् ।

बलात्कारको मुद्दा परेपछि रावललाई कपिलवस्तु जिल्ला अदालतबाट तानेर न्यायपरिषद्‌मा ल्याइएको थियो । अहिले पनि उनी निलम्बित अवस्थामा छन् । उनको गाडीलगायत सबै सुविधाहरू खोसिएको स्रोतले बतायो । उनले मासिक तलबको आधा रकम भने पाइरहेको बुझिएको छ ।

भोलि सर्वोच्चले यदि जिल्ला र उच्चको आदेश उल्टाइदियो भने गिरी फेरि थुनामा जानुपर्ने हुन सक्छ । होइन भने उनी बाहिरै रहेर मुद्दा लड्न सक्नेछन् । आरतीले भने गिरीलाई थुनामा राख्ने आदेश नभएको खण्डमा आमरण अनशनमा जाने बताइरहेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर