प्रधानमन्त्री कपमा सुदूरपश्चिमको लगातार दोस्रो जित
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।
भैरहवास्थित सिद्धार्थ क्रीकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १३४ रनले पराजित गरेको हो । सुदूरपश्चिमले यसअघि पहिलो खेलमा लुम्बिनी प्रदेशमाथि ५ विकेटको जित निकालेको थियो ।
सुदूरपश्चिमले दिएको २७८ रनको लक्ष्य पछ्याएको कर्णाली ३७ ओभर २ बलमा १४३ रनमा समेटियो । कर्णालीका लागि दिवान पुनले सर्वाधिक ३८ रन बनाए । कर्णालीलाई सस्तो मै समेट्न सुदूरपश्चिमका शेर मल्लले ४ विकेट लिए। १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिन सफल भए । विकास आग्रीले २, नारायण जोशी, भोजराज भट्ट र नरेन भट्टले १-१ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २७७ रन बनाएको थियो । सुदूरपश्चिमका ३ ब्याटरले अर्धशतक प्रहार गरेका थिए । खडक बोहरा, टेक रावत र किरण ठगुन्नाले अर्धशतक प्रहार गरेका हुन् ।
बोहराले ८०, रावतले ५९ र ठगुन्नाले ५० रनको योगदान दिए । नारायण जोशीले अविजित ३१, कप्तान राजु रिजालले १९ र नरेन भट्टले १५ रन बनाए । बलिङमा कर्णालीका दिनेश अधिकारी, युनिश सिंह, प्रकाश जैसी र दीपेन्द्र रावतले १/१ विकेट लिए।