४५ रुपैयाँको सगुन मिसाएर डबल ब्ल्याक तयार, तेस्रो अप्रेसनमा समातिए विनोद – Nepal Press

४५ रुपैयाँको सगुन मिसाएर डबल ब्ल्याक तयार, तेस्रो अप्रेसनमा समातिए विनोद

काठमाडौं । ब्रान्डेड मदिराका नक्कली उत्पादन गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ९ जनालाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौं उपत्यकाभित्र पछिल्ला २ वर्षमा तेस्रो पटक नक्कली मदिरा उत्पादकमाथि अप्रेसन गरेको हो ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवीका २८ वर्षीय मनोज खत्री, ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुलीको कमलामाईका २८ वर्षे गौरव तामाङ, सिन्धुपाल्चोकको चौताराका २७ वर्षे मोहन खड्का, काठमाडौंको कागेश्वरीका ३५ वर्षे सुमन नगरकोटी, सिन्धुलीको कमलामाईका ४० वर्षे लेखविक्रम थापा, रामेछापको मजुवाका २३ वर्षे महेश खत्री, रामेछापको खाँडादेवीका २० वर्षे मनिष खत्री र सिन्धुपाल्चोकको चौताराका २८ वर्षे रोशन कार्की रहेका छन् ।

यीमध्ये विनोद, मनोज र गौरव अघिल्ला दुई वटा घटनामा पनि संलग्न थिए । मनोज पहिलो पटक पक्राउ पर्दा ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए भने दोस्रो पटक पक्राउ पर्न सकेका थिएनन् । विनोद पहिलो पटक पक्राउ परेका हुन् । गौरव पनि फरार थिए । प्रहरीले विनोद मुख्य व्यक्ति भएको दाबी गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहरा- ५ थलीस्थित विनोद बस्ने गरेको कोठामा छापा मार्दै नक्कली मदिरा बरामद गरेको थियो । त्यहाँ गोल्डेन ओक, फाइटर, सिग्नेचर, खुकुरी रम, ३६५ ब्ल्याकलगायत मदिरा बरामद भएको थियो । प्रहरीले त्यहाँबाट मदिरा बनाउन प्रयोग गर्ने सामानहरु, सगुन ब्रान्डको मदिरा पदार्थ, चिनी-पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीको खाली बोतल, राजस्व अन्तःशुल्कको स्टिकर, लेवलिङ तथा प्याकेजिङ गर्न प्रयोग गरिने स्टिकरहरु पनि बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।

प्रहरीका अनुसार गिरोहले ४५ रुपैयाँ पर्ने सगुन रक्सी मिसाएर नक्कली मदिरा उत्पादन गर्ने गरेको थियो ।

‘तयार हुने ब्रान्ड र सगुनको मात्रा आधा-आधा मिलाएर नक्कली रक्सी उत्पादन हुने गरेको पाइएको छ । गिरोहले सगुन मिसाइसकेपछि त्यसमा चिनी डढाइएको झोल पनि मिसाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, एसएसपी राठोरले भने ।

क्लब र रेस्टुरेन्टहरुमा पुग्थ्यो रक्सी, यसरी तयार हुन्थ्यो राजस्व अन्तःशुल्क स्टिकर

प्रहरीले नक्कली मदिरा बजारमा रहेको सूचना पाएपछि एउटा खरिद गरेर परीक्षणका लागि पठाएर अनुसन्धान सुरु गरेको थियो ।

परीक्षणका क्रममा मदिरा नक्कली भएको पाइएपछि अप्रेसन थालिएको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए ।

‘गिरोहले बजारबाट ५० रुपैयाँ हाराहारीमा विभिन्न ब्रान्डका रक्सीका खाली बोतल किन्ने गरेको पाइयो । उनीहरुले भारतबाट नक्कली राजस्व अन्तःशुल्क बनाएर ल्याउने र तयार भएका रक्सीका बोतलमा लगाउने गरेको अनुसन्धानका क्रममा पाइएको छ । नेपाली बजारमै प्रयोगमा आइसकेका मदिराका बोतलबाट राम्रोसँग निकालिएका स्टिकर पनि गिरोहले खरिद गर्ने गरेको देखिन्छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

गिरोहले दिउँसो मदिरा तयार गर्ने र राति मदिरा विक्रेतासम्म पुर्‍याउने गरेको पनि प्रहरीले दाबी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर