आलेनले एकै खेलमा १६ छक्का प्रहार गर्दै गरे टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको विश्व कीर्तिमान बराबरी
काठमाडौं । न्युजिल्यान्डका फिन आलेनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने विश्व कीर्तिमान बराबरी गरेका छन् ।
पाकिस्तानविरुद्धको खेलमा आलेनले १६ छक्का प्रहार गर्दै अफगानिस्तानका हज्रातुल्लाह जजाईको कीर्तिमान बराबरी गरेका हुन् । जजाईले सन् २०१९ को फेब्रुअरीमा आयरल्यान्डविरुद्ध ११ चौका र १६ छक्कासहित एक सय ६२ रन बनाएका थिए । अफगानिस्तानले पहिला ब्याटिङ गर्नक्रममा जजाईबाट उक्त रन बनेको थियो ।
आलेनले पनि पहिला ब्याटिङ गर्नेक्रममा १६ छक्का र ५ चौकासहित एक सय ३७ रन जोडे। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा हंगेरीका जिसन कुकिखेलले १५, अस्ट्रेलियाका एरोन फिन्चले १४, स्कटल्यान्डका एचजी मुन्सेले १४, दक्षिण अफ्रिकाका आरई लेभीले १३ तथा वेस्ट इन्डिजका इ लेविस र नेपालका कुशल मल्लले १२/१२ छक्का प्रहार गरेका छन् ।
आलेनको शानदार प्रदर्शनपछि पाकिस्तानलाई २ सय २५ रनको लक्ष्य दिएको न्युजिल्यान्ड यो खेलमा ४५ रनले विजयी भयो ।