हाकिम बन्न दुई डाक्टरको तँछाडमछाडले गौर अस्पताल अस्तव्यस्त, ३ महिनादेखि कसैले पाएनन् तलबभत्ता
जनकपुरधाम । रौतहटको गौरस्थित प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) बन्न दुई डाक्टरबीचको तँछाडमछाडले अन्य डाक्टर र कर्मचारी तलबभत्ताबाट वञ्चित भएका छन् ।
अस्पतालका मेसु डा. मुरारी ठाकुर गत साउन २ मा सरुवा भएर जलेश्वर प्रादेशिक अस्पताल पुगेका छन् । उनको सरुवापछि मेसु बन्न डा. कृष्णा साह र डा. सञ्जिवकुमार सिंहबीच होडवाजी छ । असोज ३० मा साहलाई मन्त्रालयले मेसुको जिम्मेवारी दियो । र, डा. सिंहलाई मन्त्रालय तान्यो । उनले मेसुको मागसहित अदालतमा मुद्दासमेत हालेका छन् ।
विवाद अदालतसम्म पुगेपछि अस्पतालका डाक्टर र अन्य कर्मचारीको तलबभत्ता ३ महिनादेखि रोकिएको छ । तलबविहीन भएपछि डाक्टरहरले अल्टिमेटमसहित आन्दोलनको चेतावनी दिएका छन् ।
११ जना डाक्टरले अस्पताल प्रशासनलाई निवेदन लेख्दै माघ ७ गतेभित्र तलबभत्ता नदिए काम नगर्ने बताएका छन् । पटकपटक तलबका लागि लिखित र मौखिकरूपमा माग गर्दा बेवास्ता गरेको गुनासो उनीहरूको छ । निवेदनमा ओभरटाइम, नाइट भत्ता, इन्सेन्टिभ, आईसीयू तथा अप्रेसनलगायतका भत्ता नपाएको उल्लेख छ ।
अस्पतालका सूचना अधिकारीसमेत रहेका निमित्त मेसु अनुठा राय यादव अदालतमा मुद्दा परेकाले सबै कर्मचारी तलबबाट वञ्चित भएको बताउँछन् ।
उनले नेपाल प्रेससँग भने, ‘डा. कृष्णाले मेसुको अख्तियारी पाउनुभएको थियो । उहाँले तीन महिनाको तलब पनि खुवाउनुभयो । तर, डा. सञ्जिवले मेसु पाउनुपर्ने भन्दै अदालतमा उत्प्रेषण मुद्दा हालेपछि सबै कर्मचारी तलबबाट वञ्चित भएको अवस्था छ ।’
आफूले चाहेर पनि विवाद समाधान हुन नसक्ने उनले बताए ।
यादवले भने, ‘मुख्यमन्त्री र प्रदेशका स्वास्थ्य मन्त्रालयलाई सबै कुरा थाहा छ । उहाँहरूले मात्र समस्या समाधान गर्न सक्नुहुन्छ । तपाईँ मिडियाकर्मीहरूले पनि पहल गरिदिनुस् ।’