संसदीय समितिमा सञ्चारमन्त्रीको जवाफ- टेरामक्स रोक्न निर्देशन दिएँ, एमडीएमएसको निर्णय हुँदैछ (भिडिओ) – Nepal Press

संसदीय समितिमा सञ्चारमन्त्रीको जवाफ- टेरामक्स रोक्न निर्देशन दिएँ, एमडीएमएसको निर्णय हुँदैछ (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अर्बौं अनियमितताको आशंका गरिएको टेरामक्स खरिद प्रक्रिया कार्यान्वयनमा मन्त्रालयले रोक लगाएको र एमडीएमएसबारे छानबिन भइरहेको बताएकी छन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा मन्त्री शर्माले टेरामक्स प्रविधि जडानका लागि खरिद प्रक्रियामा प्रश्न उठेर संवैधानिक निकायबाटसमेत छानबिन भइरहेकाले कार्यन्वयन रोक्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको बताइन् ।

उनले अदालतले पनि गोपनीयताको कानून र कार्यविधि स्पष्ट नभएसम्म अघि नबढ्न भनेको स्मरण गर्दै नेपाल टेलिकमलगायत टेलिकम अपरेटरले पनि ग्राहकको गोपनीयतामा प्रश्न उठाएपछि रोकिएको जानकारी दिइन् ।

मन्त्रालयले पनि कानून र कार्यविधि बनाएरमात्र अघि बढ्ने निर्यण गरेकाले यो लागू नभएको मन्त्री शर्माले जानकारी दिएकी छन् ।

उनले एमडीएमएस प्रणालीको खरिददेखि सामग्रीबारे छानबिन समिति बनाइएको र त्यसमा गडबडी भएको निष्कर्ष निकालेको बताएकी छन् । अहिले पनि एमडीएमएस निर्णयको प्रक्रियामा रहेको मन्त्रीले जानकारी दिइन् ।

एनसेलको ८० प्रतिशत शेयर खरिद-बिक्रीबारे छानबिनका निम्ति समिति बनाइएको र त्यसले काम गरिरहेको उनले जानकारी दिइन् । मन्त्री शर्माले आफू आएपछि मन्त्रालयभित्रका बेथिति हटाउन पहल गरेको र प्राधिकरणका अनियमतताको छानबिन थालिएकोले अध्यक्षले राजीनामा दिएको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *