चेम्बरको नेतृत्व हस्तान्तरणपछि राजेशकाजी : आफ्नो कामको बयान आफैं के गर्नु ? (भिडिओ)
नेपाल चेम्बर अफ कमर्स भन्नेबित्तिकै सबैले राजेशकाजी श्रेष्ठ सम्झिन्छन् । उनले चार कार्यकाल चेम्बरको नेतृत्व गरे । तर, हिजोबाट चेम्बरले नयाँ नेतृत्व पाएको छ ।
श्रेष्ठ विगतमा राज्यमन्त्रीसमेत भएका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहको मन्त्रिमण्डलमा उनलाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएको थियो । अहिले पनि उनी राजनीतकि दलका नेतादेखि पत्रकारसँग समेत उत्तिकै घुलमिल छन् ।
नेतृत्वमा नरहे पनि चेम्बरबाट आफू अलग भने नहुने श्रेष्ठ बताउँछन् । उनीसँग मन्त्री बन्दाको अनुभवदेखि आगामी योजनालगायतका विषयमा नेपाल प्रेसले गरेको कुराकानी:
चार वर्ष निरन्तर नेपाल चेम्बर अफ कमर्शको नेतृत्वमा रहनुभयो । अब फेरि पनि नेतृत्वमा आउनुहुन्छ कि अरु नै केही योजना छन् ?
अब फेरि संस्थाको नेतृत्व नगर्ने निष्कर्षमा पुगेको छु । चार कार्यकाल भइसक्यो, अब अरुलाई नेतृत्व सम्पनुपर्छ । यद्यपि, चेम्बर अफ कमर्शबाट बाहिरिने भन्ने होइन । सल्लाहकारको भूमिकामा रहेर संस्थाको हितमा काम गर्छु नै ।
चार वर्षसम्म एउटै पदमा रहेर काम गर्दा अफ्ठेरो लागेन ?
लागेन । जुन बेला चेम्बरभित्र पसें, त्यतिबेला नेतृत्वका लागि चुनाव हुन्थ्यो । तर अरु संगठनमा जस्तो चेम्बरमा राजनीति हुँदैनथ्यो । राजनीति कम भएपछि राम्रो काम गर्ने मान्छे निरन्तर हुनु स्वभाविक हो । म चुनाव लडेर, राजनीति गरेर नेतृत्वमा बसेको होइन । चारै कार्यकाल निर्विरोध भएको हुँ ।
चार कार्यकालमा सम्झन योग्य के काम गर्नुभयो ?
चेम्बर अफ कमर्शको काम भनेको व्यापारी, उद्योगी, व्यवासायी र सरकारबीच समन्वय गर्ने हो । अन्तर्राष्ट्रिय व्यापारमा आएको परिवर्तन तथा प्रभावबारे सरकारलाई जानकारी गराउने र आवश्यक सुुझाव दिने हो । जुन काम मेरो नेतृत्वले प्रभावशाली ढंगमा गरेको छ । आफूले गरेको कामको बयान आफैंले के गर्नु ! पक्कै पनि राम्रो काम गरेकैले साथीहरुले चार कार्यकाल मलाई निर्विरोध अध्यक्ष बनाएका हुन् । मूलतः संस्थाको मसँगै साथीहरु पनि सन्तुष्ट हुनुहुन्छ, यहीं हो महत्वपूर्ण कुरा ।
तपाईंको बुझाइ तथा अनुभवमा नेपाली उद्योगी-व्यवसायीका मुख्य समस्या के हुन् ?
नेपालमा उद्योग-व्यवसायमैत्री कानुनको अभाव छ । उद्योग दर्तादेखि नवीकरण, करजस्ता कुरामा समस्या छन् । स्वादेशी उद्योगलाई प्रमोशन गर्न सरकारले ल्याउनसक्ने समान्य राहत कार्यक्रम पनि ल्याएको छैन । उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थदेखि विदेशबाट ल्याउने सामानको करलगायत धेरै कुरामा समस्या छ ।
लकडाउनका बेला चेम्बरले साना व्यावसायीको गुनासो सुनेन भन्ने गुनासो थियो नि !
त्यस्तो होइन । हामीले सबैभन्दा प्राथमिकता दिएकै सना व्यवसायीलाई हो ।
संस्थाको नेतृत्व गर्दा आफ्नो व्यवसायलाई कसरी व्यवस्थापन गर्नुभयो ?
चेम्बर अफ कमर्शमा लाग्नुअघि पनि व्यापार नै गर्थें, अहिले पनि गरिरहेकै छु । पछिल्लो समय छोराहरुले व्यापार, व्यवसायमा साथ दिइरहेका छन् । अब पनि गर्ने त व्यापार नै हो ।
बेलाबेलामा व्यापार, व्यावसायमा उतार चढाव आइरहेकै हुन्छ । भूकम्प, कोरोनाजस्ता प्रकोप र राजनीतिक अस्थिरताले व्यापारमा समस्या पारिरहेको हुन्छ । यस्तो बेला परिवारिक साथ र सहयोगले ढाडस मिल्छ ।
२०४५ सालमै सुरेन्द्रवीर मालाकारले मलाई नेपाल चेम्बर अर्फ कमर्शमा जाऊ भन्नुभएको थियो । त्यतिबेला बिरामी भएर उम्मेदवारी दिन पाइनँ । त्यसपछि उहाँलाई सहयोग गरें । पछि आफैं नेतृत्वमा आएँ । त्यसपछि निरन्तर संस्थागत काम र व्यापारलाई सँगसँगै अघि बढाइरहेको छु ।
उद्योग वाणिज्य महासंघ हुँदाहुँदा उही प्रकारको चेम्बर चाहिँ किन चाहिएको हो ?
खासमा चेम्बरले नै उद्योग वाणिज्य महासंघ जन्माएको हो । चेम्बर र महासंघ दुवैको अध्यक्ष अध्यक्ष लोकनाथ जोशी हुनुहुन्थ्यो । पछि दुई संस्था कार्यगत एकता गरेर अघि बढिरहेको छ ।
तपाईं तत्कालीन राजको शासनमा उद्योग राज्यमन्त्री हुनुभयो । त्यो कसरी सम्भव भएको थियो ?
त्यतिबेला दरबारबाट फोन आयो, मन्त्री बन्न प्रस्ताव आयो, जतिबेला म भर्खर चेम्बरको अध्यक्ष चुनिएको थिएँ । साथीहरूसँग छलफल गरें, मन्त्री बन्नु नै राम्रो हुने कुरा भयो ।
वास्तवमा निजी क्षेत्रको नेतृत्वभन्दा मन्त्री भएर काम गर्न गाह्रो रहेछ । ऐन कानुन आपसमा बाझिएर काम गर्न गाह्रो हुँदोरहेछ । त्यसैले मन्त्रीहरुले बोल्दारैछन्, काम गर्न नसक्ने रहेछन् । त्यो कुरमा आफैं मन्त्री भएपछि बुझें ।
तैपनि मैले सकेसम्म केही काम गरें । कार्पेट नियातकर्तालाई विदेश जान र आउनका सहजै पाँच वर्षका लागि भिषा दिलाउने काम भयो । तातोपानी नाकामा आवतजावतलाई सहज बनायौं । वाणिज्य र उद्योगका कार्यालयबीच आपसमा समन्वय गरेर काम गर्ने अभ्यासको सुरुवात गर्यौं ।
मन्त्री हुँदाको अनुभव बताइदिनुस् न !
त्यस्तो विल्कुल नौलो त केही भएन । मन्त्री हुँदा दिउँसो झण्डा भएको गाडी प्रयोग गर्थें, बेलुका आफ्नै गाडी चलाउथें । मन्त्री हुँदा एउटा पिएसओ र सुरक्षाकर्मी दिने चलन हुनेरहेछ, मैले त्यो चहिँदैन भनेको थिएँ । तर लिनै पर्दो रहेछ ।
धेरै मान्छे भेट्न आउने रहेछन् । मलाई भेट्ने मान्छे घरमै आउने भएकाले सुरुमा सरकारी क्वाटरमा पनि बसिनँ । पछि क्वाटरमै बसें ।
अहिले राजनीतिक दलहरुसँग तपाईंको सम्बन्ध कस्तो छ ?
म कुनै राजनीतिक पार्टीमा छैन । कुनै पार्टीबाट केही पाएको नि छैन । सम्बन्धका हिसाबले सबै दल र तिनका नेतासँग राम्रै छ ।
मेरो व्यक्तिगत सम्बन्ध कस्तो छ भन्दा पनि नेतृत्वले निजी क्षेत्रको मर्म बुझेर काम गर्नुपर्छ । खासगरी अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मान्छे व्यापार, व्यावसायसँगै निजी क्षेत्रलाई बुझेको हुनुपर्छ ।
परिवारलाई कतिको समय दिनुहुन्छ ?
संस्थागत र व्यावसायिक जिम्मेवारी हुँदा परिवारलाई समय दिन गाह्रै हुने रहेछ । अहिले चेम्बरका साथीहरुलाई बढी जिम्मेवारबोध गराउँदै परिवारलाई समय दिन थालेको छु । अब यो मात्रा झन् बढ्छ ।
अब चेम्बरको जिम्मेवारीबाट बाहिरिएपछि राजनीति गर्ने त सोच्नु भएको छैन ?
छैन । म राजनीतिक मान्छे पनि होइन । भोलि राजनीति पनि गरिएला, तर अहिले कुनै योजना बनाएको छैन ।
कोरोनाका कारण थलिएको व्यापार व्यवसाय उकास्न के गर्नु पर्ला ?
कोरोनाका कारण सरकारले ठूलो आर्थिक क्षति व्यहोर्यो । अब भने सरकारले निजी क्षेत्रलाई उत्साही बनाउने गरी नीति तथा बजेट ल्याउनु पर्छ ।
आगामी आर्थिक वर्षमा सरकारले उपभोक्तमैत्री बजेट ल्याउनु पर्छ । कोरानाका कारण बन्द भएका ४० देखि ६० प्रतिशत उद्योग अझै सञ्चालनमा आएका छैनन् । बन्द भएका उद्योग खोल्दै नयाँ उद्योग स्थापना गर्ने गरी बजेट तथा कार्यक्रम ल्याउन आवश्यक छ ।
त्यस्तै कच्चा पदार्थ आयतमा ०.२५ भन्सार कायम गर्नुपर्छ । पहिले १० प्रतिशत भएको भ्याटलाई घटाएर ७ मा झार्ने कुरा थियो, त्यो बढाएर १३ पुर्याइएको छ, त्यो घटएर १० प्रतिशत बनाउनु पर्छ । त्यस्तै विलासिताका साधनबाहेकमा अन्तशुल्क कर लगाउनु हुँदैन ।
बढ्दो व्यापार घाटा कम गर्न के गर्न सकिएला ?
विदेशबाट कच्चा पदार्थ ल्याएर सामान विदेश नै पठाउनु पर्ने वाध्यता छ । यसकारण व्यापार घाटा बढ्दो छ । हामी अरु उद्योग सँगसँगै जलविद्युत्, पर्यटन र कृषिमा बढी लगानी गर्नुपर्छ, जसले व्यापार घाटा घटाउनु मद्दत गर्छ ।
हेर्नुहोस् भिडियोमा :