एकलासको चितामा बत्ती निभाई जाऊ…
पूर्वराजा ज्ञानेन्द्रको ‘फेभरेट सिंगर’ थिए योगेश वैद्य, ५ घण्टामै तयार भएको थियो ‘सपना भुलाई...’
सपना भुलाई सारा आँसु पिएर जाऊ
मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ
आज संगीतकर्मीहरूले यस कालजयी गीतलाई संयुक्तरूपमा गाएर स्वर्गीय गायक योगेश वैद्यलाई अन्तिम श्रद्धाञ्जली दिए । संगीत नाट्यप्रतिष्ठानको प्रांगणमा दर्जनौं संगीतकर्मीले लाइभ बाजासहित गीत गाउँदा माहौल भावपूर्ण मात्रै बनेको थिएन, एक कुशल र असल सर्जकप्रतिको सांगीतिक सम्मान पनि प्रकट भइरहेको थियो ।
वैद्य एकदमै अन्तरमुखी स्वभावको भएको संगीतकर्मीहरू बताउँछन् । उनका गीतकै संख्या जोडजाड पार्ने हो भने पनि सय कटाउन मुस्किल हुन्छ । तर, थोरै गीत गाए, धेरै नेपालीको मनमनमा बसे । अहिले भाइरल हुनकै लागि गाइने सर्जकहरूको भिडमा वैद्य नेपाली संगीतको संजीवनी बुटी भएको संगीतकार वसन्त सापकोटाको भनाइ छ ।
संगीतकार तथा गीतकार टीका भण्डारीका अनुसार गायक वैद्य संगीतमा यति गम्भीर थिए कि एउटै गीत बनाउन उनलाई पाँच-छ महिना लाग्थ्यो । वैद्यको विश्वास थियो- एउटा गीत पूर्णतया बन्नका लागि समय, साधना र धैर्यताको आवश्यकता पर्छ । गीतको हरेक शब्दहरूलाई छिचोलेर त्यसको भावलाई संगीतमा सजाएपछि मात्रै पूर्ण गीत बन्न सक्छ ।
तर, अहिले करोडौं नेपालीको प्रियमध्येको एक गीत ‘सपना भुलाइ सारा’ भने जम्मा ५ घण्टामा बनेको थियो । प्रसंग २०४२ सालको हो । जतिवेला भण्डारी भर्खरै जागीरे बनेर रेडियो नेपाल छिरेका थिए । र त्यही समयमा वैद्यको कालजयी गीत तयार हुँदै थियो ।
भण्डारीका अनुसार एक दिन वैद्य संगीतकार नातीकाजीको कोठामा गएका थिए । नातीकाजी हार्मोनियममा गीत बनाइरहेका थिए । त्यसवेला नातीकाजीको कोठामा गीतहरूको चाङ नै हुन्थ्यो । कागजमा लेखिएका गीतहरूको थुप्रोबाट मनपरेको गीत छानेर संगीत भर्थे नातीकाजी ।
यही सिलसिलामा वैद्यले भूइँमा लडिरहेको एउटा कागजको चिर्कटो देखे । त्यहाँ लेखिएको गीत थियो, ‘सपना भुलाई सारा’ ।
गीतका शब्द पढ्नसाथ वैद्यलाई अत्यधिक मनपर्यो । उनले नातीकाजीलाई भने, ‘नातीकाजी दाइ, यो गीत म गाउँछु ।’
नातीकाजीले भने, ‘हो त ? गाउने हो त तपाईंले ?’
भण्डारीका अनुसार पाँच-छ महिना एकै गीतका लागि लगाउने वैद्यलाई यो गीतको शब्द यतिधेरै मनपर्यो कि उनले भोलिपल्ट पनि फलोअप गरे । वैद्यको आतुरता देखेर नातीकाजीले पनि संगीत तयार गरिहाले । अनि जम्मा ५ घण्टामा रेकर्ड भयो यस गीत ।
यस गीतको गीतकार शिव अधिकारी थिए । तर, भण्डारी स्वयंलाई नै थाहा छैन, गीतकार अधिकारी कहाँ छन् ? लाइमलाइटमा कतै छैनन् । अधिकारीको अर्को दोस्रो गीत पनि छैन जस्तो लाग्छ भण्डारीलाई ।
भण्डारी भन्छन्, ‘त्यसवेलादेखि वैद्य दाइले मलाई चिन्नुभएको थियो । अनि मलाई माया पनि औधि गर्नुहुन्थ्यो । किनभने म पढेर संगीत क्षेत्रमा आएको थिएँ । उहाँको कुरा पनि जहिल्यै दार्शनिक र गम्भीर हुन्थ्यो ।’
भण्डारीका अनुसार वैद्य शालीन र भद्र थिए । गफ पनि दार्शनिक गर्थे । सामान्य कुरामा जाँदै जाँदैन थिए । वैद्य भन्थे, ‘जब स्रष्टाले आफ्नो जीवन महसुस गरेर अन्तरहृदयबाट गीत र संगीतलाई लिँदैन, तबसम्म प्रस्तुतिमा वास्तविकता आउँदैन ।’
भण्डारीले वैद्यको एक दर्जन बढी गीतमा वाद्यवादन गरे ।
भण्डारीले नै वाद्यवादन गरेको एक गीत छ, ‘माटो भन्नु मुटु रैछ’ । भूपेन्द्र रायमाझीद्धारा संगीतबद्ध, भीम खरेलको शब्दमा वैद्यले गाएको यो राष्ट्रिय गीतमा भण्डारीले मेण्डलिन बजाएका थिए ।
रायमाझी पनि रेडियो नेपालमा जागिरे थिए । वैद्यको धेरै गीतहरूमा वाद्यवादन पनि गरेका छन् । तर, गीत, संगीतसँगै रायमाझीको वैद्यसँगको सम्बन्ध भने तत्कालीन राजदरबारसँग जोडिन्छ ।
त्यसवेला विशेष उत्सवहरूमा दरबारमा सांगीतिक कार्यक्रमहरू हुन्थे । जहाँ प्रेमध्वज प्रधान, नातिकाजी, रायमाझी, वैद्यहरू प्रस्तुति दिन जान्थे । रायमाझी भन्छन्, ‘त्यतिवेला तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई एकदमै मनपर्ने गायक हुनुहुन्थ्यो उहाँ । प्रेमध्वज दाइ पनि वैद्यलाई ज्ञानेन्द्रको फेभरेट गायक भन्नुहुन्थ्यो ।’
तत्कालीन पूर्वराजा वीरेन्द्र, अधिराजकुमार ज्ञानेन्द्रकहाँ गएर गीत गाउने क्रममा वैद्यलाई ज्ञानेन्द्रले निकै रुचाएपछि बेग्लै पनि बोलाउँथे । रायमाझी, वैद्यहरू ज्ञानेन्द्रलाई गीत सुनाउन पनि जान्थे । अर्कातिर ज्ञानेन्द्र आफैं पनि संगीतकार थिए । रायमाझीका अनुसार गीतमा नाम राख्थे, तर संगीतकारमा राख्न चाहँदैन थिए । तर, आफूले लेखेको लय भने आफैं गाएर सुनाउँथे ।
रायमाझी भन्छन्, ‘राजाको भाइलाई गीत सुनाउन पाउँदा खुसी हुन्थ्यौं । रेडियो नेपालमा दरबारको सचिवले क-कसले गाउने भनेर सूचि पठाउँथ्यो । त्यसअनुसार नै गइन्थ्यो । वैद्य पनि दरबारमा गएर गाउने भनेपछि काम गर्ने ठाउँको माहौल अर्कै हुन्थ्यो । मलाई चाहिँ ज्ञानेन्द्र शाहले ‘गुड गिटारिङ’ भनेर भन्नुहुन्थ्यो ।’
वैद्यबारे रायमाझी थप्छन्, ‘उहाँ संगीतलाई अथाह प्रेम गर्ने स्रष्टा हो । संगीतको अलवा शब्ददेखि हरेक कुरामा दख्खल राख्ने गर्नुहुन्थ्यो । शब्द अनुसारको संगीत भएको छ कि छैन हेर्नुहुन्थ्यो ।’
उहाँ गोल्डेन भ्वाइस भएको गायक हो- वसन्त सापकोटा, संगीतकार
उहाँ एकदमै अन्तरमुखी स्वभावको हुनुहुन्थ्यो । उहाँका धेरै सृजना छैनन् । तर, जति छन्, अब्बल छन् । उहाँ छ, सात महिना लगाएर गीत तयार गर्नुहुन्थ्यो रे । यति धेरै मिहेनत गर्ने स्रष्टा हो उहाँ ।
उहाँ नेपाली संगीत क्षेत्रको कालजयी गीतको गायक हो । उहाँको स्वरको मीठा अर्कै तहको । गोल्डेन भ्वइस हो उहाँको । उहाँको स्वर यति सुमधूर छ कि अहिले पनि लाग्छ, स्वर त यस्तो हुनुपर्छ । स्वर मीठो भएकाले पनि उहाँका गीतहरू कालजयी भएका हुन् ।
अहिलको पुस्ताले उहाँबाट सिक्नलाई धेरै कुरा छन् । पहिलो त भाइरल हुन छाडेर धैर्यता बोकेर हिँड्न सिकौं । साधना गरौं, अनि निखारता आउँछ । आफ्नो व्यवहार पनि राम्रो बनाऔं, जसको कारण समाजले पनि त्यही अनुसारले कलाकारलाई हेर्ने दृष्टिकोण बनाउँछ ।