खराब कर्जा नियन्त्रण गर्न बैंकहरुलाई सकस, अर्थतन्त्र नसुधारेसम्म असुल गर्न नसकिने विज्ञको चिन्ता
काठमाडौं । वाणिज्य बैंकहरुको खराब कर्जा ह्वात्तै बढेको छ । गत वर्ष (२०७९/८०) को ६ महिना भन्दा चालू वर्ष (२०८०/८१) को ६ महिनामा बैंकहरुको खराब कर्जा औसतमा १ प्रतिशतले बढेको छ ।
तर बैंक नै पिच्छे हेर्ने हो भने १६ वटा बैंकको खराब कर्जा ह्वात्तै बढेको छ । कुमारी बैंकको सबैभन्दा बढी खराब कर्जा देखिएको छ । एनसीसी बैंकलाई गाभेको कुमारीको खराब कर्जा करिब ५ प्रतिशत नजिक छ ।
खराब कर्जा बैंकको वित्तीय स्वास्थ्य मापन गर्ने एउटा आधार पनि हो । धेरैजसो मर्जर र एक्विजिसनमा गएका बैंकहरुको खराब कर्जा बढेको देखिन्छ ।
२० वटा वाणिज्य बैंकको औसत खराब कर्जा ३.२३ प्रतिशतलाई आधार मान्दा वाणिज्य बैंकहरुको खराब कर्जा १ खर्ब ४४ अर्ब ८३ करोड रुपैयाँ पुगेको देखिन्छ । अहिले वाणिज्य बैंकहरुको ४४ खर्ब ८४ अर्ब रुपैयाँ कर्जा लगानीमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।
आर्थिक मन्दीका कारण कर्जा असुलीमा समस्या भोगेका बैंकहरुलाई खराब कर्जा नियन्त्रणमा लिन हम्मे हम्मे परेको उनीहरुले प्रकाशित गरेको पुस मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ ।
कर्जा उठाउन धितो लिलामीको सूचना प्रकाशित गर्दै आएका बैंकहरुले अन्ततः अपेक्षित रुपमा कर्जा असुली गर्न सकेनन् । लिलामीमा निकालेको धितो समेत बिक्री नहुँदा बैंकहरुले एउटै धितोका लागि पटक पटक लिलामीको सूचना निकाल्नु परेको थियो । धितो लिलामी नहुँदा बैंकहरुको गैरबैंकिङ्ग सम्पत्ति पनि बढ्दै गएको छ ।
बैकिङ विज्ञ भुवन दाहाल नेपाल राष्ट्र बैंकले पुर्नतालिकीकरण गरेको कर्जा समेतलाई आधार मान्ने हो भने प्रत्येक बैंकको ५ प्रतिशतसम्म खराब कर्जा रहेको बताउँछन् । अर्थतन्त्र सुधार नभएरसम्म खराब कर्जामा सुधार नआउने उनको भनाइ छ । अर्थमन्त्री, बैंकर्स, उद्योगी व्यवसायी एक हप्तासम्म वार्ता गरेर कसरी अघि बढ्ने भन्ने खाका बनाउनु जरुरी रहेको दाहालले बताए ।
यता, अर्का विज्ञ अनलराज भट्टराई अब वित्तीय क्षेत्रमा पनि सुधार गर्नुपर्ने जरुरी देखिएको बताउँछन् । कोरोना कालमा ह्वात्तै गएको कर्जा प्रवाहको असर अहिले देखिएको बताउँदै भट्टराईले अर्थतन्त्र सुधार गर्नेपर्ने जरुरी देखिएको बताए । अर्थतन्त्र सुधार भएपछि खराब कर्जामा पनि सुधार आउँदै जाने उनको बुझाइ छ ।
नेपाली बैंकहरूले ३ महिनादेखि भाका नाघेको कर्जालाई निष्क्रिय कर्जा अर्थात खराब कर्जाको रुपमा देखाउनु पर्छ । यो व्यवस्थाअनुसार ३ महिनादेखि ६ महिनासम्मको भाका नाघेको कर्जालाई कमसल कर्जा, ६ महिनादेखि बढीमा एक वर्षसम्म भाका नाघेको कर्जालाई शंकास्पद र १ वर्ष बढीको भाका नाघेको कर्जालाई खराब कर्जा भनेर वर्गीकरण गरिएको छ ।
५ प्रतिशत वा सो भन्दामाथि खराब कर्जा भएका वित्तीय संस्थाले लाभांश वितरण गर्न नपाउनेसम्मका व्यवस्था केन्द्रीय बैंकले गरेको छ । अहिले कुमारी बैंक लगायत केही बैंकको हकमा लाभांश वितरण गर्न नपाउने सम्मको सम्भावना देखिएको छ ।
कुन बैंककाे कति छ खराब कर्जा ?