मन र अध्यात्मको सम्बन्ध – Nepal Press

मन र अध्यात्मको सम्बन्ध

जिन्दगी खोला जस्तै बगिरहेछ । जीवनको यथार्थ धरातल र जीवनका चाहना खोलाका दुई किनारा जस्ता छन्, जो आपसमा कहिल्यै मिल्दैनन् । ज्यामितीय गणितका दुई सरल रेखा जसरी आपसमा अनन्तसम्मै भेट गर्दैनन्, ठीक त्यस्तै गरेर जीवनको अवस्था र जीवनका चाहनाका बीचमा आजको मानव जीवन अल्झिन पुगेको छ । जीवनका अविरल धारामा प्रत्येक व्यक्तिका जीवनका सिद्धान्त र व्यवहार अनि व्यक्तिका चाहना स्वयंमा निकै महत्त्व राख्ने खालका हुन्छन् भने व्यक्तिगत तवरले ती सबै सोच सम्माननीय अनि सत्यका अत्यन्तै निकट रहेको जस्तो लाग्ने गर्छ ।

यति हुँदाहुँदै पनि मानव जीवन यतिसम्म क्लान्त, जर्जर र संघर्षयुक्त बन्न पुग्यो कि मानव जीवनलाई शान्त र सुखी अनि आनन्दित बनाउन सृष्टिको आदिम कालदेखि नै मानव मन अनवरत लागिरहेकै छ र समस्याबाट मुक्ति पाउने मानव आत्मविश्वास पनि सगरमाथा जस्तै अटल बनिरहेको छ । यतिका सारा प्रयत्न भए केका लागि ? मानव जीवनलाई सुख दिन, संसारको भलाइ गर्न । तर, के मानवले आफ्नो जीवनमा सुख, शान्ति र आनन्दको अनुभूति गर्न सक्यो त ? सोच्नुपर्ने बेला आएको छ ।

एकपछि अर्को गर्दै भौतिक जीवनमा भौतिक सफलता हात पार्दै आएको आजको मानव अभौतिक जीवनलाई खुशी पार्न भने सकेको पाइँदैन । भौतिक रूपले भौतिक सुखका अनेक साधनहरू तयार पारेर मानव जीवनलाई सरल र सहज बनाउने कोसिस गरिएको भए पनि, जागतिक जगतमा निकै ठूलो फड्को मारिएको भए पनि, आध्यात्मिक जगत वा भनौं अभौतिक जगतमा भने खासै फड्को मार्न सकेको देखिँदैन । मनोविज्ञानका माध्यमले अभौतिक जगतका क्षेत्रमा केही उल्लेख्य सफलता हात लागेको भए पनि मनोविज्ञान पनि अझै अधुरै रहेको महसुस गर्न सकिन्छ । आजको मानव जीवनमा सबै कुरा उपलब्ध भए पनि मानव मनको सुख, शान्ति र आनन्द चाहिँ मानव प्रयत्नबाट अझै पनि निकै दूर रहेको छ । यसको एकमात्र कारण जागतिक परिवर्तनशीलता नै हो ।

जागतिक परिवर्तन

‘ब्रह्म सत्यं जगन्मिथ्या’ भन्ने वाक्य हामीमध्ये धेरैले सुनेका छौं । अर्थात्, ब्रह्म यानी आत्मतत्त्व सत्य छ र त्यसदेखि बाहेकको जति पनि दृश्यमान वा अदृश्यमान जगत छन्, ती सबै मिथ्या हुन् । सत्य वस्तुमा कुनै पनि किसिमको परिवर्तन वा विकार हुँदैन । जति पनि कुरामा परिवर्तन वा विकार हुन्छन्, ती सबै कुराहरू मिथ्या हुन् अर्थात् ती कुराहरू पूर्ण सत्य होइनन् । दृश्यमान जगतका सारा वस्तुमा परिवर्तन त देखिएकै कुरा हो । त्यस्तै गरेर अदृश्यमान जगतअन्तर्गत रहेका कुरामा पनि परिवर्तन हुने गर्छ । अदृश्यमान जगतमा रहने मुख्य विषय हो, मन र बुद्धि । मन र बुद्धिमा पनि परिवर्तन हुन्छ । हामीले पनि बेलाबखतमा महसुस गरेकै कुरा हो- मेरो मन परिवर्तन भयो र मैले यस्तो कार्य गरें । यस्तै गरेर बुद्धिमा पनि क्रमिक परिवर्तन हुने गर्छ । सांसारिक दृश्यपदार्थ सारामा विकार (परिवर्तन) देखिन्छ भने असांसारिक पदार्थ मानिएको मन र बुद्धिमा पनि परिवर्तन हुन्छ र परिवर्तनशील सबै कुराहरू मिथ्या हुन् । आत्मतत्त्वबाहेक अन्य सबै कुरा परिवर्तनशील नै छ ।

सांसारिक दृश्यपदार्थ सारामा विकार (परिवर्तन) देखिन्छ भने असांसारिक पदार्थ मानिएको मन र बुद्धिमा पनि परिवर्तन हुन्छ र परिवर्तनशील सबै कुराहरू मिथ्या हुन् । आत्मतत्त्वबाहेक अन्य सबै कुरा परिवर्तनशील नै छ ।

परिवर्तनशील जगतको कुरा बुझ्नु यसकारण पनि आवश्यक छ कि मानव जीवन र मानव मन पनि परिवर्तनशील नै छ । बालकबाट युवक हुँदै वृद्ध हुनु शारीरिक परिवर्तन हो भने मनको परिपक्वतालाई लिएर हुने परिवर्तन मानसिक परिवर्तन हो । घटना, शिक्षा तथा जन्मजात स्वभाव आदिका कारणले मन र बुद्धिमा परिवर्तन हुने गर्छ । यस्ता परिवर्तनशील कुराले जगतका परिवर्तनशील कुरालाई नै जान्न सकिन्छ । परिवर्तनशील उपकरणले अपरिवर्तनशील कुरालाई जान्न वा बुझ्न सकिँदैन । मन र बुद्धिको पनि निश्चित सीमा हुन्छ । तर, आत्माको कुनै सीमा वा परिधि हुँदैन । त्यसैले आत्मा अतीन्द्रिय छ, सर्वव्यापक छ र सर्वप्रकाशक छ । भौतिक जगतमा भने हाम्रो जीवन हरेक दिन नवीन छ । हरेक परिवर्तनमा, हरेक भावभङ्गिमामा प्रत्येक क्षण सबै कुरा नवीन छ । नितान्त नवीन छ जीवनका प्रत्येक पल-पल । सारा जगत नै परिवर्तनशील हुँदा, सारा जगत नै दैनन्दिन नवीनतम हुँदै गर्दा उक्त नवीनपनबाट मानव जीवन कसरी अछुतो रहन सक्छ ?

एक पटक तरिसकेको खोलोलाई हामी पहिलेकै कालमा, पहिलेकै रीतले, पहिलेकै भावले पुनः तर्न सक्तैनौं । हिजो देखिएको उषाकालीन सूर्योदय भोलि देखिनेछैन भने भोलि देखिने सूर्योदय अर्कै सूर्योदय हुनेछ । आजको अहिलेको जस्तै चर्को वा मधुरो घाम, अहिलेको ऋतु फेरि पनि आउँछ । तर, यही समय, यही भाव, यही सोच, यही उमेर त्यो समयमा आउने छैन । अस्तित्वमा अतितको सदैव अभाव रहने भएकाले वर्तमानकाल अस्तित्वमा हुँदा वर्तमानकाल र भूतकाल एकसाथ रहन सक्दैन ।

त्यस्तै कुनै एक कालसँग अर्को काल साथमै रहन सक्दैन । भूतकाल अतीतमै हुन्छ भने भविष्यकाल भविष्यकै गर्भमा हुन्छ । विगत, आगत र अनागत एकसाथ रहन असम्भव छ । जीवनका प्रत्येक क्षण नूतन छन् । तर, हाम्रो मन भने एकदमै पुरातन छ । पुरातन मन र नूतन जगतबीचको सामञ्जस्य मिलाउन नसक्दा आजको संसार विक्षिप्त छ, मान्छेको जीवनबाट सुख, शान्ति, अमनचयन र आनन्दको भाव हराएर गएको छ । कारण मन पुरानो छ र जगत परिवर्तनशील छ । जसरी परिवर्तनशील उपकरणले परिवर्तनशील चिजलाई मात्रै बुझ्न सकिन्छ, त्यसरी नै पुरानो मनले पुरानै चिजलाई मात्रै बुझ्न, महसुस गर्न र व्यवहार गर्न सकिन्छ । पुरातन मन लिएर नूतन संसारका नूतन क्षणहरूलाई महसुस गर्न असम्भव हुन्छ ।

परिवर्तनशील उपकरणले अपरिवर्तनशील कुरालाई जान्न वा बुझ्न सकिँदैन । मन र बुद्धिको पनि निश्चित सीमा हुन्छ । तर, आत्माको कुनै सीमा वा परिधि हुँदैन । त्यसैले आत्मा अतीन्द्रिय छ, सर्वव्यापक छ र सर्वप्रकाशक छ ।

मन अतीतको बिम्ब हो । मनमा अतीतका सारा कुराका लेश बसेको छ, स्मृतिका रूपमा । मन स्मृतिहरूको अनुभवका आधारमा चल्ने गर्छ । यदि जीवनलाई वास्तविक रूपले मनको आँखाले हेर्ने हो भने जीवन र जगतमा सारा कुरा मृत, बेकारको, जड र अत्यन्त जीर्ण र पुरातन देखिनेछ । तर व्यक्तिमा एउटा प्रवृत्ति के हुन्छ भने दृष्टिकर्ताका रूपमा उसले आफूलाई नूतन ठान्ने गर्छ । तर, ऊसँग संसार हेर्ने उपकरणका रूपमा पुरातन मन विद्यमान रहेको हुन्छ । यही पुरातन उपकरण र नवीन जीवनको मेल गर्न नसक्दा नै आजको मानिस सत्यबाट त्यति नै टाढा छ, जति विष पिएर अमरत्वको कल्पना गरिन्छ ।

आत्मा अमर छ । आत्माको यही अमरत्वलाई लिएर नै, यसैको प्रकाशत्वलाई लिएर नै दृष्टिकर्ताले आफूलाई सदैव नूतन महसुस गर्ने गरेको हुन्छ । यसको सहायताले नै हाम्रो मन आफूलाई अमर ठान्ने गर्छ । मर्नु पर्नेछ भन्ने सोच अत्यन्तै कम मात्रामा आउने गर्छ । मृत्युको महसुस पनि हाम्रो मनले गर्न मान्दैन । किनकि हाम्रो मन अमरतत्त्वबाट प्रकाशित भएको छ । अमरतत्त्वबाट प्रकाशित भएको भए पनि मन भने निरन्तर पुरानो र जीर्ण बन्दै गएको हुन्छ । दैनन्दिन मन पनि पुरातनको यात्रामा नै जान्छ । विकार रहनाले नै मनलाई पूर्ण सत्य मान्न सकिँदैन ।

स्मृतिको साहित्यले गर्दा मन मलिन बन्न पुगेको छ । मनलाई पुरानो बनाउने तत्त्व नै स्मृति हो । शुद्ध मन आत्मसाक्षात्कारको करण हो । मनलाई मलिन बनाएर स्मृतिको अकण्टक राज्य चल्दा जीवन दैनान्दिक कठिन बन्दै गएको हुन्छ । जब जीवनको स्वाभाविक आन्तरिक लय बिग्रन पुग्छ तब हाम्रो जीवन मनबाट चल्न थाल्छ । जब मनमा रहेर जीवन चल्न थाल्छ, जीवनले हरेक कुरालाई स्मृतिका बोझका रूपमा बोक्न सुरु गर्छ । जीवनलाई स्वाभाविक लयमा ल्याउन मन र स्मृतिलाई अलग गरेर अघि बढ्नुपर्ने हुन्छ ।

जब मन र स्मृति आपसमा अलग हुन्छ, जीवनमा हरेक कुरा नवीन हुन्छ । दैनिक गर्ने कार्यदेखि भेटिने मान्छेसम्ममा नवीनता नजर आउन थाल्नेछ । जगतको परिवर्तनलाई सहजसाथ अवलम्बन गर्न सुरु हुन्छ र जीवनमा नवीन स्फुर्ति र आनन्दको श्रृंखला सुरु हुन पुग्छ । आज भेटिएको व्यक्तिलाई भोलि भेट्दा उक्त व्यक्तिमा थप नवीनपन पाइनेछ । सम्बन्धहरूमा सदाबहार सुखको प्राप्ति र व्यवहार पनि यसैबाट हुनसक्छ । नवीन चिजमा, स्वस्थ तथा तरोताजा चिजमा रुचि हुनु मनको स्वभाव नै पनि भएकाले स्मृतिलाई मनबाट अलग गराएर अलिकति फरक हिसाबले जिउने हो भने जीवनका हरेक पक्षमा नूतनता भेटिनेछ अनि भेटिनेछ वास्तविक प्रेम र आनन्द अनि सुखको मुहान पनि ।

केही चेतन तत्त्वका कुरा गरौं अब । चेतन तत्त्वको धारा कहिल्यै पुरातन हुँदैन । यो सदैव एकैनासको रहन्छ । चेतनतत्त्व अर्थात् आत्मतत्त्वमा कुनै पनि किसिमको परिवर्तन वा विकार नहुने भएकाले यो अपरिवर्तनीय छ ।

केही चेतन तत्त्वका कुरा गरौं अब । चेतन तत्त्वको धारा कहिल्यै पुरातन हुँदैन । यो सदैव एकैनासको रहन्छ । चेतनतत्त्व अर्थात् आत्मतत्त्वमा कुनै पनि किसिमको परिवर्तन वा विकार नहुने भएकाले यो अपरिवर्तनीय छ । अविनाशी र अपरिवर्तनीय चेतनतत्त्वको प्रकाशले प्रकाशित हुने मानव मनले जब जीवनको वास्तविकता अर्थात् वर्तमानलाई स्वीकार गर्न थाल्छ, तब व्यक्तिको जीवनमा सबै कुरा नयाँ नयाँ हुनेछ । हरेक दिन उसले संसारका हरेक कुरामा नवीन कुरा प्राप्त गर्छ । प्रेम होस् वा अन्य कुनै कार्य वा होस् अन्य कुनै सम्बन्ध । ती सबैमा व्यक्तिले नवीनपनको अनुभूति गर्ने हुन्छ । यदि भोक लाग्यो भने व्यक्तिले सुरुमा भोकको महसुस गर्ने हुन्छ । त्यो भोक पनि नवीन खालको हुन्छ । भोक शान्त गर्न उसले भोजन गर्छ । त्यो भोजन पनि बिल्कुल नयाँ हुनेछ । सामुन्ने अस्तित्वमा जुन कुरा रहन्छ, त्यसमा पुरानो कुनै तत्त्व नै हुँदैन । अस्तित्वमा अतीतको झल्कोसम्म पनि हुँदैन । हर कुरा नयाँ, हरेक दिन नयाँ, समग्र जीवन नै नयाँ र जीवन नै आनन्दमय हुनेतर्फ अग्रसर हुन्छ । जीवनमा खोजिएको सुख र शान्ति अनि आनन्द यहीनेर मिल्नेछ ।

तैपनि मान्छेको मन नै हो । मनमा सबैभन्दा नजिक रहने चिज हो मोह । मोहले मनलाई अति शीघ्र प्रभावित गर्ने हुन्छ । सम्पत्तिको मोह, काम वासनासम्बन्धी मोह तथा लोकसम्मानको मोह गरी मुख्य तीन किसिमका मोहले मानव मन ग्रस्त भएको हुन्छ । यी सबै मोह आसक्ति हुन् । यिनै आसक्तिलाई आध्यात्मिक क्षेत्रमा अविद्या, अज्ञान वा माया भन्ने गरिन्छ । यी निकृष्ट खालका मोह हुन् । यीभन्दा माथि आत्ममोह र अध्यात्ममोह पनि हुन्छ । यी दुई मोह पनि अविद्या नै हुन् । तर, पहिलेका तीन मोहभन्दा केही उत्कृष्ट हुन् । आत्मामोह भन्नाले आफूप्रतिको मोह भन्ने बुझिन्छ । सांसारिक जीवनमा मानव मन सदैव अरूप्रति नै आसक्त हुन्छ, आफूप्रति खासै आसक्त भएको हुँदैन । व्यक्तिका सारा प्रयत्न अरूलाई आफूतर्फ आकर्षित गर्नमा नै हुन्छ । अरूको ध्यान कसरी आफूतर्फ खिच्ने भन्ने ध्याउन्नमै मानव मन ज्यादा रुचि राख्ने गर्छ ।

यदि मान्छेलाई आत्ममोह भएको भए मानव समाजमा विविध किसिमका नशाका सेवन हुने थिएन । असत्यको मार्गमा कोही चल्ने थिएनन् । आफ्ना विचार, मन र शरीरलाई नष्ट गर्नेतर्फ कोही लाग्ने थिएन । समाजमा लालच, घृणा, क्रोध, दुराचार जस्ता कुराहरू हुने थिएनन् । व्यक्तिले मन र शरीरलाई सदैव पवित्र राख्ने थियो र संसारमा रहेर पनि संसारिक चिजलाई उपभोग गर्दै आसक्तिराहित्यमा निष्कर्म गर्ने थियो । यदि व्यक्तिमा खासमा म को हुँ ? म कस्तो छु ? म कस्तो हुनुपर्छ ? भन्ने जस्ता प्रश्न उठ्न सकेको खण्डमा व्यक्तिमा आत्ममोहको अवस्था सृजना हुन जान्छ भने आत्ममोहकै यात्रामा रहँदा व्यक्तिमा अध्यात्ममोहले जन्म लिन पुग्छ । अध्यात्ममोहको जन्म हुनुको अर्थ हो – वेदान्त चिन्तन वा आत्मचिन्तनतर्फबाट परमात्मातत्त्वतर्फ मिलनको यात्रामा अग्रसर । मुक्तिको मूल कारणमा अध्यात्ममोह नै मुख्य कुरा रहन्छ ।

सुख र दुःखबाट पूर्ण रूपमा छुटकारा पाएर सदैव प्रसन्न रहनु र अनासक्त भावले संसारमा विचरण गर्न सक्नुमा नै जीवनको सर्वोच्च निरतिशय आनन्द छ । त्यो निरतिशय आनन्द जसमा केवल अस्तित्वको मात्रै बोध छ । अस्तित्व नै सबै कुरा छ । अस्तित्वमा नै सबै कुरा प्राप्त हुनसक्छ । अस्तित्वमा विगत छैन र अनागत पनि छैन । विशुद्ध रूपमा अस्तित्वलाई स्वीकार गरेर जीवनलाई अघि बढाउन सकियो भने जीवनले खोजेको सुख, शान्ति र अमनचयन भेट्न सकिनेछ । जब अस्तित्वलाई नै धूमिल बनाउने कोसिस हामीबाट गर्न सुरु हुन्छ, तब त्यहाँ दुःख छ । त्यही नै परम कष्ट छ, पीडा र वेदना छ र छ सबैभन्दा ठूलो अज्ञान ।

[email protected]


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *