सानुभाइ समूहद्वारा ठमेलमा पुनः कुटपिट
काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटेका सहयोगी मानिने सानुभाइ भनिने युवराज गुरुङ नेतृत्वको समूहले ठमेलमा केही दिनअघि एक व्यक्तिलाई कुटपिट गरेको छ ।
शनिबार बिहान साढे ३ बजे प्लेब्वाई क्लबको पार्किङमा बागलुङ घर भएका युवकलाई सानुभाइसहितको समूहले कुटपिट गरेको हो ।
पीडित युवकको अनुहार र शरीरका विभिन्न भागमा निलडाम रहेको प्रहरीले जनाएको छ । पिटाइ खाएका युवकले ७ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् । पिटाइ खाने युवक प्लेब्वाईकै पूर्वबाउन्सर हुन् ।
प्रारम्भिक अनुसन्धानमा दुई समूहबीचको पुरानो रिसइबीका कारण घटना भएको पाइएको छ ।
नुवाकोटको तरुण दलका एक नेताको समूह र गुरुङबीचको विवादमा ती युवक पिटिएको अनुसन्धान अधिकारी बताउँछन् । नुवाकोटका तरुण दलका नेता सुरेश डंगोल समूहले गुरुङ समूहलाई केही समययता पछ्याइरहेको अनुसन्धान अधिकारी बताउँछन् ।
‘घटना भएको दिन डंगोल समूहले आफू नआएर केही युवालाई त्यहाँ पठाएको देखिन्छ । तर, घटना हुँदा एक जनाले मात्र पिटाइ खाइरहेको देखिन्छ’, ती अधिकारीले भने ।
यसअघि गत असारमा सानुभाइसहितको समूहले ओम्निया क्लबका सञ्चालकमाथि हातपात गरेको थियो । त्यसपछि प्रहरीले उनीसहितको समूहलाई पोखराबाट समातेको थियो ।