राजा वीरेन्द्रपछि भारतकाे गणतन्त्र दिवसमा प्रमुख अतिथि हुन कुनै नेपाली नेताले पाएनन् माैका
प्रमुख अतिथि वीरेन्द्र होइन आफू हुनुपर्ने गिरिजाप्रसाद काेइरालाको चाहना
काठमाडौं । आज भारतमा धुमधामसँग गणतन्त्र दिवस मनाइँदैछ । सन् १९५० जनवरी २६ मा गणतन्त्र भारतको संविधान जारी भएको अवसरलाई गणतन्त्र दिवस मान्ने भारतले हरेक वार्षिक सार्वजनिक समारोहमा विदेशी प्रमुख अतिथि बनाउने परम्परा छ । यो वर्ष फ्रान्सका राष्ट्रपति इम्यानुइल म्याक्रों प्रमुख अतिथि भएर आएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र म्याक्रोंका ‘ब्रोमान्स’ तस्विरहरु अहिले मास मिडियादेखि सोसल मिडियासम्म यत्रतत्र छरिएका छन् । भारतको गणतन्त्र दिवसमा फ्रान्सले प्रमुख अतिथि पाएको यो छैटौं किस्ता हो ।
भ्लादिमिर पुटिनदेखि नेल्सन मण्डेलसम्म, आङसान सुकीदेखि सिन्जो आबेसम्मले मौका पाएको भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथि हुनेहरुको सूचीमा नेपालका दुई अनुहार छन् । पहिलो अनुहार राजा त्रिभुवन हुन् । सन् १९५१ मा भारतको दोस्रो गणतन्त्र दिवसको प्रमुख अतिथि राजा त्रिभुवन भएका थिए ।
नेपालमा राणातन्त्र अन्त्य गरेर प्रजातन्त्र स्थापना भएको समयमा त्रिभुवन प्रमुख अतिथि भएका थिए । त्रिभुवन प्रमुख अतिथि भएको झण्डै आधा शताब्दीको अन्तरालमा प्रमुख अतिथि भएका थिए राजा वीरेन्द्र । उनी सन् १९९९ को गणतन्त्र दिवसको उत्सवमा प्रमुख अतिथि भएका थिए ।
नेपालका दुई राजा प्रमुख अतिथि भएको दिवसमा अफगानिस्तानका राजा एक र भूटानका राजा चार पटक प्रमुख अतिथि भएका छन् । श्रीलंकाका प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म प्रमुख अतिथि भएका छन् । पाकिस्तानका नेतादेखि माल्दिभ्सका राष्ट्रपतिसम्म प्रमुख अतिथि भएका छन् ।
नेपालबाट भने राजाबाहेक प्रधानमन्त्री तथा राष्ट्रपतिहरुले भारतीय गणतन्त्र दिवसको प्रमुख अतिथि हुने अवसर पाएका छैनन् । नेपालमा प्रजातन्त्र आएपछि प्रमुख अतिथि भएका त्रिभुवन र संवैधानिक राजतन्त्रसहित बहुदलीय प्रजातन्त्र आएपछि राजा वीरेन्द्रमात्रै प्रमुख अतिथि भए । नेपालमा लोकतान्त्रिक गणतन्त्र आएपछि भने यस्तो मौका कुनै पनि प्रधानमन्त्री तथा राष्ट्रपतिले पाएका छैनन् ।
यस्तो छ राजा वीरेन्द्र प्रमुख अतिथि भएको कथा
सन् १९९९ मा राजा वीरेन्द्र भारतीय गणतन्त्र दिवसको प्रमुख अतिथि भएर पुग्दाका भारतका लागि नेपाली राजदूत थिए डाक्टर भेषबहादुर थापा । उनै थापाको कूटनीतिक कनेक्सन र मेहनतले राजा वीरेन्द्र प्रमुख अतिथि हुन पाएका थिए । तत्कालीन भारतीय राष्ट्रपति केआर नारायणनसँग भएको व्यक्तिगत सम्बन्धले यो सम्भव भएको थापाले तीन महिना अगाडि फाइन प्रिन्टबाट प्रकाशन भएको आत्मकथा ‘राष्ट्र-परराष्ट्र: एकतन्त्रदेखि गणतन्त्रसम्म’मा उल्लेख गरेका छन् ।
थापा अमेरिकाका लागि नेपाली राजदूत हुँदा नारायणन पनि अमेरिकाका भारतीय लागि राजदूत थिए । त्यही उनीहरुको सम्बन्ध बलियो भयो । पछि भारतको लागि नेपाली राजदूत भएर पुगेका थापाले उनै नारायणनलाई राष्ट्रपतिको रुपमा पाएका थिए । कुनै बेलाका समकक्षी थापा र नारायणन क्रमशः राजदूत र राष्ट्रपति भएपछि पनि व्यक्तिगत सम्बन्ध उत्तिकै रह्यो । त्यही सम्बन्धको कारणले नेपाल भ्रमणमा आएका नारायणनले थापालाई भने, ‘गणतन्त्र दिवसमा विश्वका धेरै मुलुकका राष्ट्राध्यक्षलाई प्रमुख अतिथि बनाइसक्यौं, यहाँसम्म कि भूटानका राजासमेत प्रमुख अतिथि भइसके । तर, नेपाललाई भारतले बिर्सिरहेको रहेछ । म भारत फर्केपछि सरकारसँग यो विषयमा कुरा गर्छु ।’
राजदूत थापा र राष्ट्रपति नारायणनको कति हदसम्मको व्यक्तिगत सम्बन्ध थियो भन्ने प्रसंगमा थापाले लेखेका छन्, ‘राजाको भ्रमणको अवसरमा राजदूतको हैसियतमा मैले राजाको सम्मानमा रात्रिभोजको आयोजना गरेको थिएँ । त्यस्ता भोजमा भारतीय राष्ट्रपति कहिल्यै आउँदैनथे । तर, राष्ट्रपति स्वयम् आएका थिए ।’
राजा होइन आफू प्रमुख अतिथि हुनुपर्ने गिरिजा चाहना
सन् १९९९ जनवरी २६ मा राजा वीरेन्द्रले भारतीय गणतन्त्र दिवसमा प्रमुख अतिथि पाउने कुरामा नेपाल सरकार र खासगरी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले निको नमानेको थापाले उल्लेख गरेका छन् । राजाको सट्टामा आफैं जान पाए हुने भन्ने कोइरालाको चाहना भएको थापाले संकेत गरेका छन् ।
उनले भनेका छन्, ‘नेपाल सरकारले भित्री मनले त्यो विषय रुचाएको थिएन । तर, इन्कार गर्नसक्ने अवस्था पनि थिएन । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । राजाको सट्टा प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाउनुपर्छ भन्ने आशय कोइरालाको थियो ।’
सार्क क्षेत्रका १२ संस्करणका १२ प्रमुख अतिथि
हालसम्म भारतको गणतन्त्र दिवसमा सार्क क्षेत्रबाट प्रमुख अतिथि हुनेहरुमा नेपाल, भूटान, श्रीलंका, अफगानिस्तान, पाकिस्तान, माल्दिभ्सका अनुहार छन् । जसमा सबैभन्दा धेरै भूटानका राजा चार पटक, नेपालका राजा दुई पटक, श्रीलंकाका प्रधानमन्त्री र राष्ट्रपति दुई पटक प्रमुख अतिथि भएका छन् ।
यस्तै पाकिस्तानले पनि दुई पटक प्रमुख अतिथि हुने मौका पाएको छ । अफगानिस्तान र माल्दिभ्सले भने एकएक पटकमात्रै प्रमुख अतिथि हुन मौका पाएका छन् ।
भारतको गणतन्त्र दिवसमा सार्क राष्ट्रका प्रमुख अतिथि
- सन् १९५१ – नेपालका राजा त्रिभुवन
- सन् १९५४ – भूटानका राजा जिग्मे दोर्जे वाङचुक
- सन् १९५५ – पाकिस्तानका गभर्नर जनरल मालिक गुलाम महोमद
- सन् १९६५ – पाकिस्तानका खाद्य तथा कृषिमन्त्री राना अब्दुल हमिद
- सन् १९६७ – अफगानिस्तानका राजा महोमद जाहिर शाह
- सन् १९७४ – श्रीलंकाकी प्रधानमन्त्री शिरिमाओ बन्दरानाइके
- सन् १९८४ – भुटानका राजा जिग्मे सिङ्गे वाङचुक
- सन् १९८८ – श्रीलंकाका राष्ट्रपति जेआर जयेवर्दने
- सन् १९९१ – माल्दिभ्सका राष्ट्रपति महोमद अब्दुल गैयुम
- सन् १९९९ – नेपालका राजा वीरेन्द्र
- सन् २००५ – भूटानका राजा जिग्मे सिङ्गे वाङचुक
- सन् २०१३ – भूटानका राजा जिग्मे केशर नाम्ग्याल वाङचुक