सुस्ता बचाउँदाबचाउँदै ढलेका गोपाल
सुस्ता (नवलपरासी) । सुस्ता बचाउका योद्धा गोपाल गुरुङको निधनपछि सुस्ताका करिब ३०० घरधुरीले अभिभावक गुमाए । सुस्तामा भारतीय अतिक्रमण रोक्न सुविधा सम्पन्न ठाउँमा बसोबास गर्न श्रीमती र छोराछोरीको आग्रह र दबाब झेलेर सुस्तामै घर बनाएका गुरुङको गत वर्ष माघ १० गते निधन भएको थियो ।
सुस्तामा भारतले दशकौंदेखि नेपाली भूमिमाथि अतिक्रमण गर्दै आएको छ । त्यहीं सुस्ता संरक्षणको लागि संघर्षरत अवस्थामै गुरुङको निधन भएको हो । सीमा रक्षक गुरुङको कामको त्यति चर्चा नभएको र उनको योगदान र मृत्युको समाचारलाई समेत केन्द्रीय नेता तथा मिडियाहरुले उचित स्थान नदिएको गुनासो निकटस्थहरुले गरेका छन् ।
उनी सुस्तावासीमात्र थिएनन्, नारायणीपारिको टापु गाउँका नेता पनि थिए । भारतले पटक पटक सीमा मिच्दै सुस्ता हडप्ने नियतका अवरोधक र नेपाली सीमा रक्षाका पर्खाल थिए गोपाल गुरूङ । तनहुँका स्थायी बासिन्दा गुरुङ प्रहरी हवल्दार बनेर सुस्ता पुगेका थिए ।
त्यसबेला भारतीय हेपाइको प्रतिरोध सरकारी पोशाक र हतियारमा गर्न नसकिने निकर्ष निकाल्दै उनले जागिर छाडेर सुस्ता बचाउ अभियान थालेका थिए । स्थानीयले दिएको १ कठ्ठा जमिनमा सानो झुपडी बनाएका गुरुङ २५ वर्ष सुस्ता रक्षाका लागि लडे र लड्दालड्दै ढले ।
गुरुङलाई सधैं सुस्ताकै चिन्ताले सताउँथ्यो । भारतीय सुरक्षाकर्मीहरू सुस्ताको पूर्वी भागमा हतियार लिएर गस्ती गर्दा गुरुङ खुकुरी र लाठी भिरेर सिमानामा डुलिरहेका हुन्थे । गुरुङकै अगुवाइमा सुस्तावासीले छहारी पाएका थिए । जुन छहारी सधैंका लागि ढलेको एक वर्ष भइसक्यो । गुरुङ नरहे पनि उनले थालेको सुस्ता बचाउ अभियान भने अहिले पनि छ । यो अभियानलाई अहिले देशैभरबाट साथ छ ।
नेपाल प्रहरीमा हवल्दारको रूपमा कार्यरत रहेका गुरुङ २०५५ सालमा सरूवा भएर तत्कालीन त्रिवेणी सुस्ता गाविसको सुस्ता प्रहरी चौकीमा पुगेका थिए । त्यहाँ पुगेपछि दिनहुँ भारतीयको ज्यादती देखेपछि उनको भावना क्रमशः फेरिँदै गएको थियो । सबैतिरबाट नदीले घेरिएको सुस्तामा दाल, चामल किन्न र औषधिमुलो गर्न भारतीय बजार जानुपर्ने विकल्प नहुनु, नेपाली भूमिमा जान हिउँदमा डुंगाबाट जान सकिए पनि सर्वसाधारणलाई उस्तै महँगो पर्ने, वर्षामा तीन-चार वटा घोला तरेर भारतीय भूमि हुँदै गण्डक बराज पार गरेर त्रिवेणी जानुपर्ने बाध्यतालाई उनले नजिकबाट अनुभूति गरेका थिए ।
करिब एक वर्षको बसाइमा कैयौं पटक भारतीयले सुस्ताको सीमा मिचेको विषयमा उनले तालुकदार निकायमा खबर गर्नेबाहेक केही गर्न सकेका थिएनन् । त्यसपछि २०५५ सालमा उनले प्रहरीको जागिर र बन्दुक छोडेर नेपाली भूमिको सुरक्षा गर्न लाठी बोक्ने प्रतिबद्धता गरे । तर, सुस्तामा बस्ने जमिन थिएन । उनलाई लामो समय जनप्रतिनिधि बनेका टेकनारायण उपाध्यायले एक कठ्ठा जमिन दिए । त्यही जमिनमा सानो घर बनाएर सुस्त संरक्षण अभियानको नेतृत्व गरेका थिए गुरुङले ।
त्यो अभियानमा स्थानीय महिला नेतृ लैला बेगम, आदम खाँ, रवीन्द्र जैसवाललगायतले साथ दिए । गुरुङको निधनपछि आदम कावा अध्यक्ष छन् । लैला मुसलमान समुदायकी अगुवा हुन् । सुस्ता बचाउन भारतीयसँग भिड्ने, नेपालका प्रहरी प्रशासनलाई दबाब सृजना गर्ने सुस्ताको समस्या लिएर सिंहदरबार धाउने काम गोपालसँगै लैलाले पनि गरिन् ।
सुस्ता बचाउ अभियान थालेको दुई वर्षपछि भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गर्दा गुरुङको नेतृत्वमा लाठीमुंग्रीले धपाइएको थियो । २०५७ सालमा खाद्यान्न किन्न सीमावर्ती बजार भेडियारी जाँदै गर्दा भारतीय प्रहरीले जंगली जनावर शिकार गरेको आरोपमा गुरुङलाई पक्राउसमेत गरेको थियो । एक वर्ष बगाहा चौकीमा थुनेर भारतविरूद्ध गतिविधि नगर्न धम्की दिइएको थियो । तर, भारतीय जेलमा बस्दा उनले यो अभियानलाई देशव्यापी बनाउने र सुस्ताको सीमाबाट भारतीयलाई कसरी अघि बढ्न रोक्ने भन्नेबारेमा थुप्रै योजना बनाएर बाहिर निस्के र अभियानलाई पुनः सक्रिय बनाए ।
२०६२ सालमा ८४ जना सुस्तावासी जुटाएर उनले काठमाडौं माइतीघरमा धर्ना बसाए । चिसोले धर्नामा बसेका रामानन्द चमारको निधन भयो । तर, सरकारले सुस्ता बचाउन भारतीय पक्षसँग कुनै पहल नगरेको अभियानका कावा अध्यक्ष आदम बताउँछन् ।
सीमाविद्हरूका अनुसार नारायणी नदीमा २०३४ सालतिर आएको बाढीले धार बदलेर पश्चिमतिर जाँदा सुस्तालाई भारतले आफ्नो दाबी गरेको छ । भारतले नारायणीलाई सीमा नदी मान्नुपर्छ भन्ने तर्क अघि सार्दै सुस्तालाई कहिले आफ्नो त कहिले विवादित भूमिको संज्ञा दिँदै आएको छ । नारायणी नदीले धार परिवर्तन गरेको दुई वर्ष नपुग्दै भारतले सुस्ता अतिक्रमण सुरू गरेको स्थानीयको भनाइ छ ।
सुस्ता मिचेको विषयमा काठमाडौंमै धर्ना बसेका, पटक पटक डेलिगेसन गएका गोपालको आग्रहमा लोकतन्त्र स्थापना भएको करिब पाँच महिनापछि संसदीय समिति सुस्ता पुगेको अभियानका सदस्यहरु बताउँछन् । सुस्तामा सरकारी तहबाट उच्च तहको यो पहिलो निरीक्षण भ्रमण थियो ।
सुस्तामा कुल ४० हजार ९८० हेक्टर जमिन हो । १४ हजार ५०० हेक्टर भारतले अतिक्रमण गरेको छ । उक्त जमिनको लालपुर्जा नेपालीहरूसँग छ । अहिले सुस्तावासीले ७ हजार हेक्टरमात्र भोगचलन गर्दै आएका छन् । १९ हजार ४८० हेक्टर जमिनलाई भारतले विवादित भन्दै नेपालीलाई उपभोग गर्न दिएको छैन । त्यसमध्ये ५५६ बिघा जग्गाको त अहिले पनि सुस्तावासीसँग पुर्जा छ ।
गोपालकै आग्रहमा सुस्तामा २०६५ सालतिर सशस्त्र प्रहरीको बेस क्याम्प स्थापना गरिएको थियो । अहिले सडक र विद्युतलाइन विस्तार गरिएको छ । प्रदेश सरकारको पहलमा अहिले यहाँ जनता आवास कार्यक्रममार्फत अति विपन्नको लागि १५० पक्की घर निर्माण भइरहेको छ । पक्लिहवाबाट सुस्ता जोड्ने झोलुंगे पुल निर्माण अन्तिम अवस्थामा छ ।
तीनतिरबाट नदीले घेरिएको सुस्तामा बर्खामा नारायणीको बाढीले कहिले घर डुबाउँथ्यो भने सुरक्षित ठाउँमा आउन भारतकै बाटो प्रयोग गरेर गण्डक बराज हुँदै त्रिवेणी आउनुपर्थ्यो । हिउँदमा पक्लिहवादेखि नारायणीमाथि बग्ने डुंगाको सहायताले वारपार गर्नुपर्थ्यो ।
करिब ६ महिना सुस्तावासी भारत र नारायणीको नाकाबन्दीमा हुँदा, भारतीय सुरक्षाकर्मीबाट असुरक्षित हुँदा गुरुङले अभिभावक भएर सुरक्षा दिने गरेको उनका निकटस्थहरु बताउँछन् । गुरुङ बिरामी परेपछि सरकारी पक्षबाट केही वास्ता नभएको सुस्तावासीहरु बताउँछन् । उनीहरुका अनुसार मृत्युपछि पनि उनको योगदानको स्मरण हुने काम केही भएको छैन ।
गुरुङको मृत्युपछि सुस्तावासीले असुरक्षित महसुसमात्रै गरेका छैनन्, सुस्ता बचाउ अभियानको नेतृत्व कसरी अघि जाला भन्ने चिन्तासमेत गरेका छन् । भारतीय सुरक्षाकर्मी र त्यहाँका बासिन्दाको अवरोधको बदला लिएको सुस्ता बचाउ आन्दोलन नरोक्न स्थानीयको माग छ ।
गुरुङले सुस्ता बचाउन, यहाँको विषयमा जानकारी दिन निकै ठूलो लगानी गरे । सीमाविद्लाई सुस्ता घुमाउने, मन्त्री, सांसद र प्रशासक, पत्रकारलाई बोलाएर बासै सुस्तामा बसाउने र त्यहाँको वास्तविकताबारे जानकारी दिने उनको दैनिकी जस्तै थियो । कूटनीतिक रुपमा सबै पक्षसँग समदुरी राखेका गुरुङले मनोवैज्ञानिक युद्ध लडेर भारतीय पक्षसँग पनि आफ्नो क्षमता देखाएका थिए ।
यहाँबाट चुनाव जितेका प्रदेश सांसद देवकरण कलबार गोपालकै नेतृत्वमा सुस्ताले धेरै काम गर्न पाएको स्मरण गर्छन् ।
उनको भूमिका पछिसम्म स्मरण रहनेगरी इतिहासमा सुरक्षित गर्नुपर्ने लुम्बिनीका सभामुख तुलाराम घर्ती बताउँछन् । रगत, माटो र पसिनाको महत्व बुझेरै गोपाल गुरुङले सबै सुविधा त्यागेर सुस्ता रोजेको उनी बताउँछन् ।
गुरुङको इतिहास सुरक्षित बनाउन आफूले पहल गर्ने उनले बताए । गोपालकी छोरी प्रशन्न गुरुङले बुवाले गरेको योगदानको स्मरण गरिदिन आग्रह गर्दै परिवारको तर्फबाट गर्नुपर्ने समन्वय गर्ने बताइन् । गुरुङका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा विदेश छन् भने श्रीमती पोखरामा बस्छिन् ।
पछिल्लो समय नेपालीहरु संगठित भएका कारण सुस्तामा भारतीय अतिक्रमण घटे पनि हडपेको जमिन फिर्ता भएको छैन । सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले आफूहरुले २०६३ सालदेखि नै गुरुङको अभियानलाई साथ दिएको बताए । सुस्ताको संरक्षण गर्न विनास्वार्थ सबै सुविधा त्यागेका गुरुङको इतिहास संरक्षण गरिने उनको भनाइ छ ।
अतिक्रमणको विरोध गर्दै युवा अभियानले भारतमै पुगेर तत्कालीन प्रधानमन्त्रीको पुतला जलाएको, १० लाख हस्ताक्षर गरेर संयुक्त राष्ट्रसंघमा बुझाएको, राष्ट्रपति, प्रधानमन्त्री, राजदूतलाई पटक पटक ज्ञापनपत्र बुझाएका कारण पनि सरकारको ध्यान गएको गौतम बताउँछन् ।