बुद्ध ज्ञान साइकल यात्रीहरूलाई  लुम्बिनीमा स्वागत – Nepal Press

बुद्ध ज्ञान साइकल यात्रीहरूलाई  लुम्बिनीमा स्वागत

रुपन्देही । ‘बुद्ध ज्ञान साइकल यात्रा’का यात्रीहरूलाई   संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनी मायादेवी मन्दिर अगाडि खादा लगाएर स्वागत एवं सम्मान गरेका छन् ।

साइकल सिटी भैरहवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनी सहित बुद्धसँग सम्बन्धित स्थलहरूलाई समेटेर शुक्रवार देखि दुईदिने ‘बुद्ध ज्ञान साइकल यात्रा’ गरेको थिए।

गौतम बुद्धसँग जोडिएका रुपन्देही, कपिलवस्तु र नवलपरासी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रवारदेखि भएको साइकल यात्राका यात्रीहरूलाई उपाध्यक्ष डा. लामाले स्वागत एवं सम्मान गरेका हुन् ।

उपाध्यक्ष डा. लामाले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्न र बुद्ध सँग सम्बन्धित महत्त्वपूर्ण क्षेत्रहरूलाई उजागर गर्न ‘बुद्ध ज्ञान साइकल यात्रा’ले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

महत्त्वपूर्ण ऐतिहासिक पुरातात्त्विक क्षेत्रहरूमा यात्रीहरूको परिक्रमाले  लुम्बिनी सहितक अन्य लुम्बिनी सँग सम्बन्धित अन्य क्षेत्रहरू समेतको विकास, प्रचार-प्रसार एवं पर्यटन प्रवर्द्धनमा सिर्जनात्मक सहयोग पुगेको भन्दै उपाध्यक्ष डा.लामाले यात्रीहरूलाई धन्यवाद व्यक्त गरेका हुन् ।

‘बुद्ध ज्ञान साइकल यात्रा’मा एक चिनियाँ, १७ भारतीय, १६ जना महिला, दुईजना १४ वर्षमुनिका सहित देशभरका विभिन्न सहरबाट गरी दुई सय २० भन्दा बढी साइक्लिस्ट सहभागी रहेका थिए।

शुक्रवार बिहान भैरहवाको बुद्धचोकबाट सुरु भएको यात्रा नवलपरासीको रामग्राम, रुपन्देहीको देवदह, निग्लिहवामा हुँदै दोस्रो दिन तिलौराकोट, सग्रहवा, कुदान, गोटिहवा, लुम्बिनी आइपुगेका हुन् । उक्त यात्रा भैरहवा पुगेर समापन हुने छ।

आन्तरिक र बाह्य पर्यटकको नजरमा लुम्बिनीबाहेकका अन्य स्थान सधैँ ओझेलमा परेको हुनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट साइक्लिस्टहरूलाई सहभागी गराएर साइकल यात्रा गराएको उनले बताए।  हरेक वर्ष हुने यस कार्यक्रममा आगामी दिनमा बौद्ध मुलुकका साइक्लिस्टलाई सहभागी गराएर कार्यक्रम गर्ने साइकल सिटी सिद्धार्थनगरका सहसचिव राजेश खरेलले बताए।

भैरहवाको बर्मेलिटोलबाट सुरु यात्राको लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री सिके गुप्ताले उद्घाटन गरेका थिए। यात्रामा सहभागी साइक्लिस्टहरूलाई मन्त्री गुप्ता, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खानले नेपालको झन्डा र बौद्ध झन्डा हल्लाएर बिदाइ गरेका थिए। सहभागीले शनिवार मायादेवी मन्दिरको अवलोकन गरी भैरहवा फर्किएपछि यात्रा समापन गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *