दरबार हत्याकाण्डबारे ओलीको टिप्पणी- दीपेन्द्रको प्रेम कहानी भनेर वाहियात कुराको पछाडि कुद्ने ? (भिडिओ) – Nepal Press

दरबार हत्याकाण्डबारे ओलीको टिप्पणी- दीपेन्द्रको प्रेम कहानी भनेर वाहियात कुराको पछाडि कुद्ने ? (भिडिओ)

राजा फर्काउने आन्दोलनबारे ओलीले प्रश्न गरे- राजा कता फर्काउने ? लेफ् राइट अघि-पछि कता ?

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दरबार हत्याकाण्डमा भयानक षड्यन्त्र रहेको दाबी गरेका छन् । हत्याकाण्डको जाँचबुझ आयोगले मुख्य जिम्मेवार ठहर्‍याएका दीपेन्द्रलाई उनले ‘विचरा’ को संज्ञा दिए ।

ओलीले आज आफूले अभिनय गर्ने फिल्म ‘नमेटिने घाउ’ को पत्रकार सम्मेलनमा पत्रकारहरूसँग गफगाफ गर्ने क्रममा दरबार हत्याकाण्डबारे टिप्पणी गरेका हुन् । हालैमात्रै पूर्वराजा ज्ञानेन्द्रले हत्याकाण्डमा भ्रम फैलाएर आफूहरूलाई आरोपित गरिएको भनेर गुनासो गरेको विषयमा पत्रकारले ओलीको प्रतिक्रिया मागेका थिए ।

ओलीले जवाफ दिए, ‘दरबार हत्याकाण्ड राजनीतिक दलहरूले गरेको होइन । यति भन्न सकिन्छ विचरा दीपेन्द्र ! नेपालीहरूले विवेक गुमाउनु हुँदैन । दीपेन्द्र आफैँ मरेर मरेपछि हान्यो ? एउटा राजा हुन लागेको मान्छे त्यसरी मर्छ ? अगाडि-पछाडिबाट उसैले गोली हान्छ, ३-३ वटा राइफल एउटा पेस्तोल एकैजनाले बोकेर कुद्छ, यस्तो कुरापनि पत्याउने ?’

ओलीले थपे, ‘१९ गतेको घटना, २६ गते जाँचबुझ आयोग जाँदा पानी परिरहेको थियो । त्योबेला एउटा ओभानो टोपी दीपेन्द्र मारिएको भनिएको पोखरी छेउमा तैरिरहेको थियो । ५/७ दिनदेखि पानी परिरहेको थियो । दीपेन्द्रको टोपी डुबेको पनि छैन, भिजेको पनि छैन । त्यस्तो पनि नाटक हुन्छ ? दीपेन्द्रको प्रेम कहानी भनेर यस्ता वाहियात कुराको पछाडि कुद्न हुन्छ ? त्यो भयानक षड्यन्त्र थियो ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था फर्काउने भनेर सुरू गर्न लागेको आन्दोलनका विषयमा पनि ओलीलाई सोधिएको थियो । उनले यसलाई आफ्नो अस्तित्व देखाउनका लागि गरिएको गतिविधिको संज्ञा दिए ।

‘राजसंस्था कता फर्काउने ? लेफ्ट राइट पूर्व-पश्चिम अगाडि-पछाडि कता ? लुटको राज्य सम्झिएर यसो मुख मिठ्याउने कुरामात्र हो । सिरियस विषय होइन’, उनले भने, ‘आफ्नो अस्तित्व देखाउनलाई कोही पूर्वपश्चिम अभियान भनेर हिँड्दैछन् । कोही आन्दोलनका कुरा गर्छन् । कोही नारायणघाट-बुटवल पैदल यात्रा गरेँ भन्थे, गरे होलान् । यो सबै आफ्नो अस्तित्व रक्षाको कुरा हो । राजतन्त्रसँग सरोकार होइन । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर