केही नेताको बन्धकका कारण मुलुक संकटमा पर्दै गएको छ : गगन (भिडिओ)
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुक केही नेताहरूको बन्धकमा परेका कारण संकटमा पर्दै गएको टिप्पणी गरेका छन् ।
संवाद यात्राका क्रममा आइतबार विराटनगरको गुँरास पुस्तकालयमा आयोजित कार्यक्रममा महामन्त्री थापाले अहिलेको समस्या भनेको सीमित मानिसको मुलुक कब्जामा रहेको आरोप लगाए । पार्टी र्निर्वाचन र संचालन पद्धति नमिलेका कारण पनि देश केही नेताहरूको सिण्डिकेट बन्न पुगेको उनको जिकिर छ ।
‘पालैपालो सत्ता सञ्चालन गर्ने प्रक्रियाका कारण मुलुकमा थप समस्याहरू सृजना भएको छ’, उनले भने ।
महामन्त्री थापाले मुलुकको अर्थतन्त्र सुधारका लागि नेपाली कांग्रेसले चाडै नै ‘सुवर्णशम्सेर आर्थिक सम्मेलन’ गर्न लागेको जानकारी दिए । मुलुकको समस्या समाधानको जिम्मा नेपाली कांग्रेसले नै लिनुपर्ने अवस्था आएको बताउँदै उनले अहिलेको यथास्थितिलाई जारी राख्न नहुने जिकिर गर्नुभयो ।