विहारमा सत्तापलटसँगै लालु यादवमाथि छानबिन, छोरी भन्छिन्- विपक्षीमाथि भारतमा अब यस्तै हुन्छ
काठमाडौं । भारतको विहार राज्यमा सत्ता राजनीति फेरबदल भएसँगै राष्ट्रिय जनता दलका सुप्रिमो तथा पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवसहित उनको परिवारलाई कानूनी सिकन्जामा कस्ने प्रयास भएको छ ।
विहारका मुख्यमन्त्री नीतिशकुमारले भारतीय जनता पार्टीसँग मिलेर नयाँ गठबन्धन बनाएलगत्तै लालु यादवलाई इन्फोर्समेन्ट डिपार्टमेन्टले पटनास्थित कार्यालयमा बोलाएर बयान लिइरहेको छ ।
रेलमन्त्री भएका बेला रोजगारीका लागि जमिन प्रकरणमा अनियमितता गरेको आरोपमा लालुमाथि अनुसन्धान थालिएको हो । लालुमात्र होइन उनकी पत्नी पूर्वमुख्यमन्त्री रावडी देवी, निवर्तमान मुख्यमन्त्री तथा उनका छोरा तेजस्वी यादव, छोरी मिसा भारतीलगायतलाई पनि बयानमा बोलाइएको छ ।
मिसा मारतीले गत वर्ष आफ्नो मिर्गौला दिएर पिता लालु यादवलाई जीवनदान दिएकी थिइन् । ७५ वर्षीय नेता लालु यादवसँग आज बयान लिइएको छ भने भोलि तेजस्वीलाई बोलाइएको छ ।
यो प्रकरणमा यसअघि सीआईबीले पनि लालुमाथि छानबिन गरेको थियो । सीआईबीले पनि उनीहरुसँग बयान लिएको थियो । जमिनको साटो जागिर दिने मामिलामा खास जाति समुदायका व्यक्तिलाई जागिर दिएर जमिन लिएको आरोप छ ।
यसैबीच लालु यादवकी छोरी मिसा भारतीले इडीमार्फत आफ्नो परिवारलाई मात्र नभएर देशभरका विपक्षी दलमाथि यस्तै व्यवहार शुरु भएको प्रतिक्रिया दिएकी छन् ।