ग्लोबल आईएमई, प्रभु र हिमालयन बैंकका सिईओलाई राष्ट बैंकको कारबाही
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आवको दोस्रो त्रैमाससम्म विभिन्न ६ बैंक वित्तीय संस्थाका सीईओ र संचालकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक र ३ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत र संचालक समिति परेका छन् ।
ग्लोबल आइएमई बैंकका सीईओलाई राष्ट्र बैंकले एकीकृत निर्देशनविपरीत प्रिमियम दर बढाएर ग्राहकहरुबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएपनि ग्राहकको खातामा फिर्ता नगरेको भन्दै केन्द्रीय बैंकले कारबाही गरेको छ ।
बैंकले गत आवमा पुनःनिर्देशन विपरीत प्रिमियम दर बढाइएको, सोही एकीकृत निर्देशनको निर्देशन नं. २/०७९ अनुसार कर्जा दुरुपयोग भएको, व्यवसाय संचालनमा नरहेको, लिलामी प्रकृयामा रहेको, डीई रेसियो नमिलेको अवस्थामा समेत पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको बताएको छ ।
ग्लोबल आइएमई बैंकले पुनरतालिकीकरण वा पुनरसंरचना गर्दा निष्कृय कर्जाहरुको समेत पुनरतालिकीकरण ÷पुनरसंरचना गरी उक्त कर्जाहरुलाई सक्रिय कर्जामा वर्गिकरण गरेको राष्ट्र बैंकले पत्ता लगाएको हो । यही कारण ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम नसिहत दिईएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै प्रभु बैंकले भने कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, प्रिमियम दर वृद्धि गरी व्याज असुल उपर गरेको र पुँजी पर्याप्तता गणना गर्दा विभिन्न कर्जाहरुमा क्यापिटल एडुक्वेसी फ्रेमर्वर्क २०१५ को व्यवस्था विपरीत कर्जाको जोखिमभार कम प्रदान गरी गलत रिपोर्टिङ गरेको केन्द्रिय बैंकले जनाएको छ । यसै कारण राष्ट्र बैंकले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।
यता हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत र बैंक संचालक समिति, मुक्तिनाथ विकास बैंक संचालक समिति, गरिमा विकास बैंकका संचालक र रिलायन्स फाईनान्सका संचालक कुशप्रसाद मल्लीलाई समेत सचेत गराएको छ । यसमध्ये मुक्तिनाथ विकास बैंकलाई भने १० लाख रुपैयाँ जरिवाना गरेको छ ।