ऐतिहासिक व्यापारिक मार्गबाटै जोड्न सकिन्छ कोरोला-सुनौली
बागलुङ-बुटवल ३ घन्टाको छोटो बाटो कसरी बनाउने पूर्ण ?
सिद्धार्थ राजमार्ग सञ्चालन हुनुपूर्व लुम्बिनी, गण्डकी, धौलागिरी, राप्ती अञ्चलका सबै जिल्ला र भेरी तथा कर्णालीका केही जिल्लाका मानिस आफूले वर्ष दिनसम्म उत्पादन गरेका घ्यू, अदुवा, सुठो, बेसारलगायत जडीबुटी कम्तीमा एक र बढीमा २५ दिनको बाटो भारी बोकेर रिडी, हार्थोक, रानीठाटी, ढाक्रेबास, भैंसीकट्टा (घोर्लीखरक), मस्याम, मरेक, रानीबास, दोभान हुँदै पैदल बुटवल आउँथे । आफूसँग ल्याएका वस्तु बिक्री गरी घरपरिवारलाई वर्षदिनसम्म आवश्यक पर्ने नून, तेल, लत्ताकपडा किनेर त्यही बाटो फर्किन्थे ।
उत्तर-दक्षिण जोड्ने सिद्धार्थ राजमार्ग निर्माण भएपछि बुटवलदेखि तानसेनसम्म ३९ किलोमिटर यातायातको सुविधा पुर्याइयो । तैपनि तानसेनदेखि भैरवस्थानसम्म थप ९ किलोमिटर गरी लगभग ४८ किलोमिटर घुमाउरो बाटो सहज नभएकाले विगतमा हाम्रा पुर्खाले पैदल हिँडेको ऐतिहासिक बुटवलदेखि भैरवस्थानसम्मको मोटर बाटो निर्माणको अभियान सुरु गरिएको छ । मोटरबाटो निर्माणको लागि 3S (short, safe & save) को अवधारणाअनुसार छोटो, सुरक्षित र बचतसमेत हुने भएकाले यो सडकको अवधारणा अगाडि बढाइएको हो । कतै रेखांकन त कतै ग्राभेलसम्म भएको यो बाटोलाई पूर्णता दिन सकियो भने तत्काल पाल्पाको भैरवस्थानसम्मको दूरी ४८ किलोमिटर घटेर २६ किलोमिटर हुनेछ ।
यस विषयमा आर्थिक वर्ष २०७९/८० मा पूर्वाधार सडक विकास कार्यालय पाल्पाले पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनसमेत तयार गरेको थियो । मरेक र मस्यामको छोटा दुइटा उकालोबाहेक अन्य ठाउँमा सीधा र तेर्पाएँ भएकोले यो बाटो सुचारु हुँदा बुटवलदेखि भैरवस्थान आधा घण्टामा पुग्न सकिन्छ । म बुटवल उद्योग वाणिज्य संघमा २०६३-२०६५ को कार्यकालमा अध्यक्ष थिएँ । त्यसवेला बुटवल तथा दोभान र आसपासका क्षेत्रमा पर्यटकीय विकासको सम्भावना अध्ययन गर्न आउजाउ गरेको यो पैदल बाटोलाई मोटर बाटो बनाउन सकियो भने दूरी र लागत पनि घटाउन सकिन्छ र तत्काल भैरवस्थानसम्म पर्यटकीय गतिविधि बढाउन सकिन्छ ।
यही क्रममा तत्कालीन बुटवलस्थित सडक डिभिजन कार्यलयमा कार्यरत डिभिजन इन्जिनियर मेरा भतिजा अयोध्याप्रसाद श्रेष्ठको सिफारिसमा पाल्पा सडक डिभिजनका तत्कालीन इन्जिनियर कर्णबहादुर रानाभाटले दोभान, मस्याम र भैरवस्थानसम्मको बाटोको २०६७ सालमा ७ लाख रुपैयाँ लागतमा डीडीए तयार गरी अनुमानित ७२ करोड रुपैयाँ लाग्ने रिपोर्ट दिनुभएको थियो । उक्त डीडीए रिपोर्टअनुसार दोभानदेखि मस्याम, भैंसीकट्टा र भारकोट हुँदै भैरवस्थानको दूरी ३२.८ किलोमिटर छ । जबकि दोभानदेखि तानसेन हुँदै भैवस्थानसम्मको दूरी ४१ किलोमिटर छ । तत्कालीन समयमा मुख्यसचिव लीलामणि पौडेलले सहयोग र समन्वय पनि गर्नुभएको थियो । यद्यपि आर्थिक संकटको समयमा ८-९ किलोमिटर बाटो छोटो गराउन यति ठूलो लगानी उपयुक्त नदेखिएकाले लगभग १० वर्ष यत्तिकै निष्क्रिय भयौं ।
पाल्पा सडक डिभिजनका तत्कालीन इन्जिनियर कर्णबहादुर रानाभाटले दोभान, मस्याम र भैरवस्थानसम्मको बाटोको २०६७ सालमा ७ लाख रुपैयाँ लागतमा डीडीए तयार गरी अनुमानित ७२ करोड रुपैयाँ लाग्ने रिपोर्ट दिनुभएको थियो । उक्त डीडीए रिपोर्टअनुसार दोभानदेखि मस्याम, भैंसीकट्टा र भारकोट हुँदै भैरवस्थानको दूरी ३२.८ किलोमिटर छ । जबकि दोभानदेखि तानसेन हुँदै भैवस्थानसम्मको दूरी ४१ किलोमिटर छ ।
पाल्पा भैरवस्थान रुपन्देही परिवारले २०७९ साल बैशाख २२ गते लुम्बिनी प्रदेश योजना आयोगलाई पेश गरेको निवेदनको आधारमा १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । उक्त योजनाअनुसार काम भए सडक पूर्वाधार विकास कार्यालय पाल्पाले तयार गरेको डीडीए रिपोर्टअनुसार बुटवलदेखि पाल्पाको भैरवस्थानसम्मको दूरी २६ किलोमिटर हुनेछ ।
२०७२ सालको भूकम्पपछि पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीको समन्वय र सक्रियतामा सिद्धार्थ राजमार्गको पाल्पा डुम्रेबाट कुसुम खोलासम्मको बाटो निर्माण भएपछि मोटर बाटो निर्माण गर्ने हाम्रो योजना अगाडि बढाउन सहज होला जस्तो भयो । बुटवलबाट दोभानसम्म विगतदेखि नै मोटर बाटो छ । दोभानदेखि मरेकसम्म ट्रयाक खोल्नु पर्नेछ । मरेकदेखि सिस्ने खोला हुँदै मस्यामसम्म कच्ची बाटो निर्माण भएको छ । हाम्रै सक्रियतामा पूर्वाधार सडक विकास कार्यालयले मस्यामदेखि घोर्लीखरक (भैंसीकट्टा)सम्म कच्ची बाटो खोलिएको छ । घोर्लीघाटदेखि ढाक्रेबास भैरवस्थानसम्म कच्ची बाटो बनेको छ । बुटवलबाट दोभानसम्म करिब ५, दोभानदेखि मरेक करिब ४, मरेकदेखि सिस्ने खोला हुँदै मस्यामसम्म करिब ५, मस्यामदेखि घोर्लीखरक करिब ३, घोर्लीखरकदेखि ढाक्रेबास करिब ४ (डुम्रे कुसुम खोला सडकमा पर्ने) र ढाक्रेबासबाट भैरवस्थान-पूर्णाकोटको फेदी) करिब ५ गरी करिब २६ किलोमिटर हुने पूर्वाधार सडक कार्यालय पाल्पाले गरेको पूर्वसम्भाव्यता रिपोर्टले पनि देखाएको छ । यो सडक निर्माण गर्न करिब १ अर्ब ६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
त्यस्तै तानसेन-रिडी सडकमा पर्ने भैरवस्थानको पूर्णकोट डाँडाको फेदी सिलाङ्गेको रुखमा अन्डर-वे पास गरी नारायणथोक, कुखुरेढाप, भुल्के हुँदै जोर्तेसम्म सोही 3S को सिद्धान्तअनुसार उक्त सडक भैरवस्थानदेखि भुल्के हुँदै जोर्ते अन्दाजी ५.५ र जोर्ते-रिडी करिब १४.५ गरी २० किलोमिटर हुने हुँदा बुटवलदेखि रिडी १ घण्टामा पुग्न सकिने सम्भावना छ । निर्माण अन्तिम चरणमा रहेको कालीगण्डकी कोरिडोरअन्तर्गत बागलुङ-रिडी बाटोको लम्बाइ ७५ किमि छ । बाटो पनि राम्रो भएकाले बागलुङदेखि रिडी डेढदुई घण्टामा पुगिने हुँदा बागलुङ, पर्वत, म्याग्दी जिल्लाबाट बुटवल हाल पोखरा-स्याङ्जा सडकबाट करिब ८-१० घण्टा लाग्ने यात्रा ढाईतीन घण्टामै हुनसक्छ ।
यो बाटो चीनको कोरोला नाकादेखि बेलहिया नाकासम्म सरल, सहज र सबैभन्दा छोटो दुई अन्तर्राष्ट्रिय नाका जोड्ने मार्ग हुनसक्छ । यस क्षेत्रका केही यातायात व्यवसायीका संस्थाहरुको गतिविधिको कारणले बागलुङ, पर्वत, म्याग्दी, कास्की स्याङ्जालगायतका साविक गण्डकी अञ्चलस्थित जिल्लाका व्यवसायीहरु बुटवल-भैरहवा बजारको साटो नारायणगढ (अधिकतम ५ घण्टा) र वीरगञ्ज (अधिकतम ८ घण्टा) लाई आफ्नो व्यापारिक व्यवसायिक गन्तव्यस्थल बनाउन बाध्य भए । यसप्रकार कालीगण्डकी कोरिडोर तथा रिडीबाट बुटवलसम्म व्यापारिक मार्ग निर्माण भएमा अधिकतम ४ घण्टामा आवतजावत गर्न सकिन्छ । अहिले परिकल्पना गरिएको व्यापारिक मार्ग निर्माण हुँदा यसमा दूरी कम हुने र यात्राको समय पनि कम लाग्ने, ढुवानी लागत पनि घट्ने हुन्छ । त्यसैले पूर्ववत यस क्षेत्रको बजारलाई विस्तार गर्न सकिन्छ ।
बुटवलबाट दोभानसम्म करिब ५, दोभानदेखि मरेक करिब ४, मरेकदेखि सिस्ने खोला हुँदै मस्यामसम्म करिब ५, मस्यामदेखि घोर्लीखरक करिब ३, घोर्लीखरकदेखि ढाक्रेबास करिब ४ (डुम्रे कुसुम खोला सडकमा पर्ने) र ढाक्रेबासबाट भैरवस्थान-पूर्णाकोटको फेदी) करिब ५ गरी करिब २६ किलोमिटर हुने पूर्वाधार सडक कार्यालय पाल्पाले गरेको पूर्वसम्भाव्यता रिपोर्टले पनि देखाएको छ ।
कोरोला नाका पूर्ण रुपले व्यवस्थित हुने र कोरोला नाकासम्म मोटरेवल बाटो निर्माण भएमा तिब्बती र चिनियाँ बौद्ध धर्मावलम्बीहरु भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म सोही मार्ग भइ आवतजावत गर्ने ठूलो सम्भावना रहन्छ । यसबाट पर्यटन विकासका साथै यातायात सेवा, स्थानीय उत्पादनको बजारीकरण एवं अन्य व्यवसायिक गतिविधि अगाडि बढाउन सकिन्छ । जसको कारणले लगानीको अवसरका साथै ठूलो संख्यामा रोजगारीको अवसरसमेत सिर्जना गर्छ ।
नेपाल भौगोलिक विविधताको कारणले तराई, पहाड र हिमाली क्षेत्रमा विभाजित छ । सोहीअनुसार उचाइको आधारमा हावापानीमा पनि विविधता छ । यहाँ कृषि एवं जडीबुटीका उत्पादनहरुको बजारीकरण हुने ठूलो सम्भावना छ । जस्तैः हिमाली क्षेत्र मुस्ताङको स्याउ, ओखर, जडीबुटीलगायत पहाड र तराईका जिल्ला तथा भारतमा समेत निकासीको सम्भावना रहन्छ । तराई तथा भारतका उत्पादन हिमाली तथा चीनमा पनि निकासी गर्न सकिने सम्भावना छ । त्यस्तै कोरोला नाका भइ आयात हुने सस्तो तथा आकर्षक चिनियाँ उत्पादनको बुटवल एउटा ठूलो व्यापारिक बजार बन्नसक्छ ।
नेपालमा यातायात क्षेत्रको विकासको क्रममा रिडीबाट बुर्तिबाङसम्म ७२.५ किमि पक्की बाटो निर्माण भइसकेको छ । उक्त बाटो १.५ घण्टामै आवतजावत गर्न सकिन्छ । यस्तै बुर्तिबाङबाट करिब २.५ घण्टा, पश्चिमतिरका पूर्वी रुकुमबाट करिब ३ घण्टा, रोल्पाबाट करिब ३.५ घण्टा, पश्चिम रुकुमबाट करिब ४ घण्टा, सल्यानबाट करिब ४ घण्टा, जाजरकोटबाट करिब ५ घण्टा र डोल्पाबाट करिब ८ घण्टामा बुटवल आवतजावत गर्न सकिन्छ । जसले पूर्ववत घ्यू, सोठीलगायतका जडीबुटीका भारी बोकेर ल्याइ बिक्री गरी वर्षदिनलाई पुग्ने नून, तेल, किराना-विसाता, लत्ताकपडा, धातु एवं औषधिजन्य वस्तु खरिद गरी फेरि भारी बोकी लैजाने पुरानो परम्परालाई अब यो सडकको माध्यमबाट यातायातका साधनले ढुवानी गर्न सकिने भएको छ । यसले यस क्षेत्रका बजारको पुनरावृत्ति भई व्यवसायिक चहलपहल अत्यधिक बढ्नेछ । मध्यपहाडी तथा हिमाली जिल्लामा उत्पादन हुने कृषि उपज, जडीबुटी तथा खानीजन्य वस्तु र परम्परागत राडीपाखी, खसीबोका, च्याङग्रालगायत उपभोग्य एवं औद्योगिक कच्चा पदार्थको रुपमा तराई र भारतीय बजारमा समेत निर्यात गर्न सकिन्छ ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र धाम मुस्ताङको मुक्तिनाथसम्म यही मार्ग प्रयोग गरी तराई तथा भारतीय हजारौं धार्मिक पर्यटक भित्र्याउन सकिन्छ । पहाडी जिल्लामा साहसिक पर्यटन (बन्जी जम्पलगायत) को पनि थालनी भएको छ । यस बाटोको निर्माणले यसलाई अझै व्यापक बनाउन एवम् पाल्पाको भैरवस्थान, रुरु क्षेत्र, गुल्मीको रेसुङ्गा, रुकुमको पुथा हिमाल, रहस्यमय कमल ताल, स्यार्पु ताल, तकसेरा गाउँ, बागलुङको ढोरपाटन आरक्षण शिकार क्षेत्र, डोल्पाको से-फोक्सुण्डो ताललगायतका पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिनेछ । पर्यटकीय चहलपहल बढेपछि ती क्षेत्रमा समेत पर्यटन उद्योग स्थापना हुने र फस्टाउनेछ । जसले आर्थिक चलायमान बढाउन मद्दत गर्नेछ ।
कोरोना महामारी, रुस-युक्रेन युद्ध र नगद प्रवाहको कमीले यस क्षेत्रको व्यापार, व्यवसाय अत्यधिक प्रभावित छ । जसले गर्दा व्यवसायीहरु पलायन भइरहेका छन् । बुटवलका अनेक व्यापारिक सटरहरु खाली रहन गएका छन् । यो बाटो निर्माण पूर्ण भएमा बुटवललगायत यस क्षेत्रमा व्यापक रुपमा आर्थिक चहलपहल बढाउने छ र रुपन्देही, परासी र कपिलवस्तु जिल्लाको आन्तरिक व्यापार निकै फस्टाउने छ । साथै पैदलमार्ग भएर आउने पर्यटकलाई लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा समेत गन्तव्य तय गर्न सहज हुनेछ । यो बाटो निर्माण भएमा नेपालको मध्यभूमिमा रहेको बाटो जोडिने स्थानहरुको विकासले कायापलट हुनेछ । स्थलमार्ग भएर सबैभन्दा बढी पर्यटक बेलहिया नाकाबाट भित्रिने भएकाले यस क्षेत्रको पर्यटन विकासमा पनि यस सडकले उल्लेखनीय भूमिका निर्वाह गर्नेछ ।
(श्रेष्ठ सो सडक निर्माण समितिका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् ।)