अहिले मन्त्रिपरिषद् पुनर्गठन हुन्न : मन्त्री गुरुङ (भिडिओ)
रूपन्देही । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् ।
बुधबार प्रेस युनियनले बुटवलमा गरेको पत्रकार भेटघाटमा उनले अहिले परिवर्तन गरिहाल्ने परिस्थिति नभएको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्ष पुगेको अवसरमा मन्त्री फेर्ने बताएका थिए । उनले त्यसपछि पनि मन्त्री फेर्नेबारे चर्चा गर्दै आएका छन् ।
मन्त्री गुरुङले भने, ‘सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही ठीक छ । तर, मन्त्रीहरूको पर्फमेन्स चाहिँ देखाउनुपर्छ भन्ने भएको छ । तत्कालका लागि मन्त्री फेरबदल हुँदैन ।’
गुरुङले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा भएको ‘क्रसभोट’ ले गठबन्धनभित्र तरंग ल्याए पनि यसले खासै असर नपार्ने बताए ।
‘कोशीमा यसअघि पनि यस्तै भएको थियो,’ मन्त्री गुरुङले भने, ‘गठबन्धन दलभित्र गम्भीर समीक्षा शुरू भएको छ । गठबन्धनमा आशंका जन्माए पनि यसको च्याप्टर छिटै क्लोज हुन्छ ।’
मन्त्री गुरुङले देशको आर्थिक संकट तंग्रिँदै गएको बताउँदै श्रीलंकाजस्तो अवस्था पुग्ने भनेर गरिएका प्रचार अनावश्यक भएको बताए । कांग्रेसका भ्रातृ संगठन भद्दा र ठूला बनेको भन्दै भीड बढाउँदै पार्टी बन्न नसक्ने उनले बताए । पार्टीमा गुटगत प्रतिस्पर्धा बढ्दा संगठन भद्दा बन्न पुगेको उनको भनाइ छ ।
सकभर सहमति नभए प्रक्रियामा गएर भए पनि टीआरसी विधेयक अबको अधिवेशनबाटै टुंगो लगाउने गुरुङले बताए ।