लिभिङ टुगेदरमा रहेका व्यक्तिमाथि ‘प्रेमिका’की छोरीलाई बलात्कारको आरोप, प्रहरीका पूर्व सई पक्राउ – Nepal Press

लिभिङ टुगेदरमा रहेका व्यक्तिमाथि ‘प्रेमिका’की छोरीलाई बलात्कारको आरोप, प्रहरीका पूर्व सई पक्राउ

काठमाडौं। बलात्कारको आरोपमा नेपाल प्रहरीका पूर्व नायब निरिक्षक(सई) पक्राउ परेका छन्। सप्तरीका ५२ वर्षीय रमेश (नाम परिवर्तन)लाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो।

१९ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोप लागेपछि प्रहरीले रमेशलाई नियन्त्रणमा लिएको थियो। जाहेरवालाका अनुसार रमेशले उनलाई पुस १७ , १८ र १९ गते राति बलात्कार गरेका हुन्। रमेश, जाहेरवालाकी आमा कमला (नाम परिवर्तन)सँग लिभिङ टुगेदरमा थिए।

आमा गाउँ गएको र भाई होस्टलमा बसिरहेको मौकामा रमेशले आफ्नो कोठामा हरेक दिन राती ८ बजे पसेर जबर्जस्ती करणी गरेको युवतीको आरोप छ। रमेशले भने जाहेरवालालाई आफूले छोरीजसरी मान्ने गरेको भन्दै आरोप अस्वीकार गरेका छन्। कमलाले भने रमेशसँग आफ्नो सम्बन्ध स्वीकार गर्दै आफू माइत गएको समयमा छोरीमाथि जबर्जस्ती करणी भएको बताएकी छन्।

दुई वटा कोठा भाडामा लिएर बसेकामा एउटामा रमेश र आफू बस्ने गरेको र अर्को कोठामा छोरी सुत्ने गरेको उनको भनाई छ। छोरालाई साउनमा होस्टल राखेपछि मामाघरमा बस्दै आएकी छोरीलाई भदौमा ल्याएर आफूसँग राख्न थालेको कमलाको भनाई छ।

उनका अनुसार बुबा बिरामी भएपछि उनी रमेश र छोरीलाई छाडेर गाउँ गएकी थिइन्। पुस २१ गते छोरीले मिस कल गरेपछि आफुलाई घटनाबारे थाहा भएको र त्यसअघि पनि छिटो काठमाडौं आउनु भन्ने गरेको कमलाले अनुसन्धानका क्रममा उल्लेख गरेकी छन्।

यसरी भेट भएको थियो कमला र रमेशको

२०७६ पुसमा नेपाल प्रहरीको सईबाट अवकाश पाएका रमेशको परिवार र कमलाको परिवार ६र७ वर्षअघि एउटै फ्ल्याटमा डेरा गरि बस्थ्यो। तर पछि रमेश परिवारसहित डेरा सरे भने कमला पनि श्रीमानले दोस्रो विवाह गरेपछि अर्कै ठाउँमा बस्न थालिन्।

त्यहीक्रममा कमला र रमेशबीच कुराकानी हुन थालेको थियो। अनि कमलालाई आर्थिक सहयोग पनि गर्न थालेको थिए । रमेशले आफूले प्रेम प्रस्ताव राखेकामा कमलाले स्वीकार गरेपछि आफू उनी बस्दै आएको ताहाचलमा नियमित आउने जाने र शारिरीक सम्पर्क पनि हुने गरेको रमेशले बयान दिएका छन्।

२०७८ चैतमा कलङ्कीमा डेरा सरेपछि रमेशले अब म तिमीसँगै बस्न आउँछु, छोराछोरीको पढाई खर्च लगायत कोठाको भाडा पनि तिरिदिन्छु भनेपछि विवाह गरी बसौँ न भन्दा उनले नमानेको कमलाको भनाई छ। रमेशले श्रीमती भएको बताएकाले बहुविवाहको मुद्दा लाग्छ भनेर बताएपछि आफ्नो कमजोर अवस्थाका कारण दुवै जनासँगै बस्न थालेको कमलाले उल्लेख गरेकी छन्।

आरोपी रमेशले घटना हुनुभन्दा एक महिना अघि श्रीमतीलाई गाउँ पठाएर आफू कमलासँग नियमित बस्न थालेको बताएका छन्। पुस ८ गते कमलाले आफुलाई फोन गरेर माइत जान्छु भनेकामा त्यसपछि आफुहरुबीच नियमित फोन सम्पर्क भइरहेको उनको भनाई छ।

पुस १६ गते सेक्युरिटी गार्डको ड्युटी सकेर कमलालाई फोन गर्दा नउठेपछि उनी काम गर्ने स्पामा पुग्दा आमा छोरीलाई नै त्यहाँ भेटेको रमेशले उल्लेख गरेका छन्। त्यस दिन कमलाले आफु विहान मात्र काठमाडौं आईपुगेको र छोरीलाई लिएर जानु म पछि आउँछु भनेर पठाएको रमेशको दावी छ।

‘रातको ८ बजेको समयमा कमलाले फोन गरेर म कोठा आउँदिन भनेकामा मैले किन आउँदैनौँ भन्दा निजले म किन आउनु भनी मलाई गाली गलौज गरी फोन काटिन्’, रमेशले बयानमा भनेका छन्। रमेशविरुद्ध ७ देखि १० वर्षसम्मको कैद सजाय माग गर्दै अभियोग पत्र दायर भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *