मध्यपुर थिमि नपाले सामुदायिक विद्यालयको शौचालय सफा गर्ने
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले आफू मातहत रहेका सरकारी एवं सामुदायिक विद्यालयका शौचालय आफैंले सफा गर्ने भएको छ । शौचालय फोहर हुँदा विद्यार्थी तथा शिक्षकहरुको मनोविज्ञानमै असर परेपछि नगरपालिकाले गुणस्तरीय शिक्षाको प्रत्याभूति दिन विद्यालयका शौचालय सफा गर्ने भएको हो ।
मध्यपुर थिमिका मेयर सुरेन्द्र श्रेष्ठले विद्यालय शौचालय सफा गर्ने संस्थाको लागि नपाले टेन्डर आह्वान गरिसकेको बताए । उनले चालू शैक्षिक सत्रभित्रै सार्वजनिक विद्यालयका शौचालय सफा हुने जानकारी दिए ।
मेयर श्रेष्ठले आफ्नो क्षेत्रका सामुदायिक विद्यालयको शौचालय सफा गर्ने मध्यपुर थिमि काठमाडौं उपत्यकाको पहिलो नगरपालिका बन्ने दाबीसमेत गरे ।
‘काठमाडौं उपत्यकामा अहिलेसम्म कुनै पनि स्थानीय सरकारले आफ्नो क्षेत्रका सामुदायिक विद्यालयको शौचालय आफैंले सफा गरेको छैन । स्थानीय सरकारले आफ्नो क्षेत्रको सरसफाइमा काम गर्दै आएका छन् । तर, शैक्षिक क्षेत्र लक्षित गरेर विशेषीकृत सफाइसम्बन्धी काम गरेका छैनन्’, उनले भने, ‘जुन मध्यपुर थिमि नगरपालिकाले गर्ने भएको छ ।’
मध्यपुर थिमिमा १९ वटा सरकारी एवं सामुदायिक विद्यालय छन् । यी सबै विद्यालयको शौचालय सफा गर्ने र ससाना विद्यार्थीहरुलाई दिवा खाजा खुवाउने जिम्मा नगरपालिकाले लिने मेयर श्रेष्ठले बताए ।
विद्यालयका कार्यक्रममा जाँदा अधिकांश विद्यार्थीहरुले शौचालय साह्रै फोहर भएको गुनासो गरेको उनको भनाइ छ ।
‘विद्यालयका कार्यक्रममा जाँदा अधिकांश विद्यार्थीहरुले शौचालय फोहर हुँदा आफूहरुको अध्ययनअध्यापन प्रभावित भएको गुनासो गरे’, मेयर श्रेष्ठले थपे, ‘यसले हामीलाई केही गर्नैपर्ने नैतिक दबाब पर्यो । त्यसपछि नगरपालिकाले नै विद्यालयका शौचालय सफा गर्ने कन्सेप्ट अगाडि बढाएका हौं ।’
विद्यालय शौचालय सफा गर्न नगरपालिकाले कार्यविधिसमेत बनाइसकेको नपाको सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्रप्रसाद भट्ट बताउँछन् । सोही कार्यविधिअनुसार टेन्डर आह्वान गरिसकिएको उनले जानकारी दिए ।
कार्यविधिअनुसार सम्झौता हुने संस्थाले विद्यालय शौचालय सफा गर्दा सम्बन्धित विद्यालय तथा विद्यार्थीबाट कुनै पनि गुनासो आउन नहुने शाखा प्रमुख भट्ट बताउँछन् ।
‘दिनमा कति चोटि सफा गर्ने भन्ने सम्झौता हुने संस्थाको कुरो हो’, उनले भने, ‘विद्यालय तथा विद्यार्थीबाट शौचालय फोहर भयो भन्ने कुनै गुनासो आउनुभएन । यस्ता गुनासो आए काम गर्ने संस्थालाई एक्सन लिनुपर्ने हुन्छ ।’
पछिल्लो समय सामुदायिक विद्यालयमा तनाव दिने विषय नै शौचालयको सफाइ भएको शाखा प्रमुख भट्टको भनाइ छ ।
‘शौचालय फोहर भएपछि विद्यार्थीहरुमा विभिन्न संक्रमण पनि त्यहीबाट हुने भयो’, उनले भने, ‘यसले विद्यार्थीहरुको पठनपाठन पनि प्रभावित हुने भयो ।’
सफा गर्ने संस्था छनोटअघि नगरपालिकाले सार्वजनिक विद्यालयको शौचालयको अवस्था जाँच गर्ने भएको छ । यस क्रममा कतै शौचालय अपुग भए निर्माण गर्ने र पूर्वाधार अभाव भए स्तरोन्नति गरिने नपाले जनाएको छ ।
‘सफाइसम्बन्धी सम्झौता हुनुअघि विद्यालयमा रहेको शौचालयको अवस्था कस्तो छ भन्ने निरीक्षण हुन्छ’, उपमेयर विजयकृष्ण श्रेष्ठले भने, ‘त्यसपछि अपुग भएको विद्यालयमा थप शौचालय निर्माण गरिनेछ । पूर्वाधार अभाव भए त्यसको क्षमता बढाउने तथा स्तरोन्नति गर्ने कार्य हुनेछ ।’
विद्यालयको शौचालय सफा गर्ने प्रक्रिया अघि बढाएको नपाले छात्राको लागि आवश्यक स्यानिटरी प्याड भने विद्यालयको मागअनुसार आपूर्ति गर्दै आएको जनाएको छ ।
उमेर पुगेका छात्राहरु पिरियडको समयमा भोग्नुपर्ने समस्याका कारण नियमित विद्यालय आउन पाउँदैनन् । पिरियड कुन बेला, कहाँ हुन्छ निश्चित हुँदैन । कहिलेकाहीं कक्षा कोठामै पनि हुनसक्छ । त्यस्तो बेला ती छात्रालाई तत्काल स्वस्थकर स्यानिटरी प्याड आवश्यक पर्ने हुन्छ । सबैले घरबाट बोकेर आउन सम्भव पनि हुँदैन ।
मध्यपुर थिमि नपा क्षेत्रका सबै सार्वजनिक विद्यालयमा छात्राहरुको लागि स्यानिटरी प्याडको व्यवस्था भएको शाखा प्रमुख भट्ट बताउँछन् ।
‘सबै विद्यालयमा आवश्यक स्यानिटरी प्याड उपलब्ध हुने व्यवस्था गरेका छौं’, उनले भने, ‘त्यसको लागि विद्यालयको मागअनुसार नपाले स्यानिटरी प्याड उपलब्ध गराउँदै आएको छ ।’