आपतकालीन सेवाका लागि एकीकृत प्रणाली विकास गरिने, सहसचिव पाण्डेको नेतृत्वमा कार्यदल गठन – Nepal Press

आपतकालीन सेवाका लागि एकीकृत प्रणाली विकास गरिने, सहसचिव पाण्डेको नेतृत्वमा कार्यदल गठन

काठमाडौं । अप्ठ्यारोमा परेका व्यक्तिले मोबाइल वा टेलिफोनबाट सूचना पठाएपछि उक्त सूचना केन्द्रीय प्रणालीमा पुग्ने र आवश्यक आपतकालीन सेवा लिन सक्ने गरी एकीकृत प्रणाली विकास गरिने भएको छ ।

उक्त प्रणाली अन्तर्गत एम्बुलेन्स, दमकल, प्रहरी सेवा, प्रारम्भिक स्वास्थ्य जस्ता सेवा एकीकृत रुपमा उपलब्ध गराइने छ । तर तत्कालका लागि भने एम्बुलेन्स, दमकल र प्रहरी सेवा समावेश गरिने गृह मन्त्रालयले जनाएको हो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सोमबार गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले आपतकालीन सहायता सेवा प्रवाहका सम्बन्धमा १५ दिनभित्र अवधारणापत्र र कार्ययोजना पेश गर्न एक कार्यदल गठन गरेको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा गठन गरिएको ११ सदस्ययीय कार्यदलमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, संचार तथा सूचना प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरीका एक–एक र नेपाल प्रहरीका दुई जना प्रतिनिधी रहेका छन् । सूचना तथा संचार विज्ञ विजय गौतमसमेत कार्यदल सदस्य छन् ।

अत्यावश्यक सहायता सेवाका लागि हाल नेपाल प्रहरीको १००, दमकलको १०१, एम्बुलेन्सको १०२ र ट्राफिक प्रहरीको १०३ नम्बर प्रयोगमा छन् । तर नयाँ सेवा सुरु भएपछि सबै नागरिकले एउटै नम्बर प्रयोग गरेर आफूलाई परेको समस्या केन्द्रीय प्रणालीमा पठाउन सक्नेछन् ।

केन्द्रीय सूचना प्रणालीले प्राप्त सूचनालाई तत्कालै सम्बन्धित निकायमा पठाउने छ । आपतकालीन सेवा प्रवाहका लागि विभिन्न उपप्रणालीसमेत प्रयोगमा ल्याइने जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *