राष्ट्र बैंकमा जागिर खान चाहने तर फर्म भर्न नजान्ने ! बैंकले भन्यो- आवश्यक कागजात पुर्याएर फर्म भर्नू
काठमाडौ । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा खुलाएको भ्याकेन्सीमा आवेदकहरूले फर्म भर्न नजानेको पाइएको छ ।
केन्द्रीय बैंकले कागजात अपुग भएकाले पुन फर्म भर्न सूचना जारी गरेको छ । नेपाल राष्ट्र बैंकमा जागिर खान चाहनेहरूले अनलाइन मार्फत मागिएको फर्म नै भर्न नजानेको पाइएको हो ।
केन्द्रीय बैंकले ती आवेदकले भरेको अनलाइन फर्ममा तोकिएको विवरण पेश नगरेको र आवश्यक कागजात प्रविष्ट नगरेको भन्दै पुनः आवेदन सच्याएर भर्न सूचित गरेको छ ।
विज्ञापन नं. ११ मा सहायक निर्देशनका लागि आवेदन दिएका ४० जनाको फर्म मिलेको छैन । यस्तै विज्ञापन नं. १२ मा आवेदन दिएका ६७ जनाको पनि फर्ममा आवश्यक कागजात पुगेको छैन । विज्ञापन नं. १३ मा आवेदन दिएका २२८ जनाको पनि आवेदन फर्म मिलेको छैन ।
विज्ञापन नं. १४ मा ३६ जना, १५ मा १८ जना, १६ मा १८४ जना, १७ मा १६ सय ६८ जना, १८ मा ९७ जना र विज्ञापन नं। १९ मा ४ सय २ जनाको आवेदन फर्ममा आवश्यक कागजात नपुगेको केन्द्रीय बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले विज्ञापन नम्बर ११/२०८० देखि १९/२०८० सम्मको लागि विभिन्न पदमा आवेदन माग भएको थियो ।