बढ्यो मुलुक भित्रिने रकम, शोधान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचत – Nepal Press

बढ्यो मुलुक भित्रिने रकम, शोधान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचत

काठमाडौं । नेपालबाट बाहिरिने भन्दा भित्रने रकममा उल्लेख्य सुधार आएको छ । भुक्तानी सन्तुलन भनेर चिनिने शोधान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गएको ६ महिनाको अवधिमा नेपालले २ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ बढीले अन्य देशसँग मौद्रिक कारोबार गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधान्तर स्थिति ९२ अर्ब १५ करोडले बचतमा रहेको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाख अमेरिकी डलर बचत रहेको शोधान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको छ ।

निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति-संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधान्तर स्थिति हो । शोधान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्रा बाह्य प्रवाह बढी हुन जान्छ ।

राष्ट्र बैंकले चालू खाता एवम् समग्र शोधान्तर स्थितिसम्बन्धी विवरण मासिक रूपमा प्रकाशन गर्ने गरेको छ । शोधान्तर खाताले चालू खाता र पूँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ ।

यता गत आर्थिक वर्षको असार मसान्तसम्म घाटामा रहेको चालू खाता यस आर्थिक वर्षको ६ महिनासम्ममा उल्लेख्य सुधार भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनले चालू खाता १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको देखाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३५ अर्ब ५७ करोडले घाटामा थियो । गत असारसम्म पनि ७२ अर्ब १६ करोडले चालू खाता घाटामा थियो ।

अमेरिकी डलरमा चालू खाता १ अर्ब २१ करोडले बचतमा छ । समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ३० प्रतिशतले कमी आइ ३ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५३ करोड रुपैयाँले धनात्मक रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ४ अर्ब ४३ करोड कायम थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाखले धनात्मक थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *