‘लास्ट बेञ्चर’को धाक लाउने मुख्यमन्त्री भन्छन्- आइन्स्टाइनको जीवनी पढेर आउनुहोस्
मुख्यमन्त्री कार्कीका फर्स्ट बेञ्चर : एकजना स्कुल पढाउँदै अर्का सुब्बाको जागिर छोडेर विदेश भासिए
काठमाडौं । कोशीका मुख्यमन्त्री केदार कार्कीले स्कुलका विद्यार्थीहरूमाझ गरेको भाषण अहिले सामाजिक सञ्जालमा चर्चित छ । भाइरल भिडिओ क्लिपमा उनले आफू स्कुलको थर्ड बेन्चर भएर पनि मुख्यमन्त्री पड्काएको भन्दै गौरव व्यक्त गरेका छन् ।
कार्कीले भन्छन्, ‘म पनि क्लासमा लास्ट बेन्चकै मान्छे हुँ । फर्स्टमा बस्नेले त केवल लेख्ने पढ्ने मात्रै जान्यो । कसरी लोकसेवा पास गर्ने र भुँडी भर्ने मात्रै जान्यो । उ अहिले खरदार छ म मुख्यमन्त्री छु ।’
हालै झापाको साजिलाल माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि बन्न पुगेका मुख्यमन्त्री कार्कीले यो भाषण गरेका हुन् । विद्यालयमा गएर विद्यार्थीहरूलाई पढ्न निरुत्साहित गरेको आरोप मुख्यमन्त्रीलाई लागेको छ । यद्यपि, पूरा सुन्दा भने त्यति आपत्तिजनक लाग्दैन ।
उनले थपेका छन्, ‘कक्षा काठामा लिने ज्ञान विविध प्रकारका हुन्छन् । ज्ञान केवल सर्टिफिकेटमा मात्र हुँदैन । सर्टिफिकेटमा दिएको अंकले ज्ञानको मापन हुँदैन । यति नम्बर यति अंक ल्याएर पास भयो भनेर मात्रै ज्ञान आर्जन गर्न सकिँदैन । सर्टिफिकेटमा नै ज्ञान आर्जनको मापन हुन्थ्यो भने चाणक्यको अर्थशास्त्र फेल हुन्थ्यो । इकोनोमीको टिचर हुनुहुन्छ भने कान खोलेर सुन्नुस्, तपाईँले चाणक्यको अर्थशास्त्र नपढीकन तपाईँले अर्थशास्त्रमा मास्टर्स डिग्री गर्न सक्नुहुन्न । तर चाणक्यले कुन अर्थशास्त्रबाट मास्टर डिग्री पास गरेको हो बताइदिनुस् त ।’
मुख्यमन्त्रीले यस्तो भनिरहँदा दर्शक दीर्घामा रहेका विद्यार्थीहरू रमाएर हुटिङ गरेको सुनिन्छ । तर, यसरी स्कुलमा गएर विद्यार्थीकै माझमा ‘पढ्नेले भन्दा नपढ्नेले जीवनमा सफलता हासिल गर्छ’ भन्ने खालको सन्देश दिनु ठीक हो कि होइन ? यो प्रश्न मुख्यमन्त्री कार्कीलाई सोधियो । उनले आफ्नो अभिव्यक्तिको बचाउ गरे ।
मुख्यमन्त्री कार्कीको व्याख्या यस्तो छ:
एउटा क्लासमा थुप्रै मान्छे (विद्यार्थी) हुन्छन् होइन ? मानौँ ४० जना विद्यार्थी छन् भने चालिसै जना फर्स्ट बेन्चमा त बस्दैनन् । लास्ट बेन्चमा बस्ने चैँ तन्नम भन्न मिल्दैन । ऊसित पनि फरक सीप र फरक ज्ञान हुन सक्छ । नत्र त चार जना फर्स्ट बेन्चरलाई मात्रै पढाए भो नि त । परीक्षामा नम्बर कम बेसी आउला । त्यसले मात्र उसको ज्ञानको मापन हुँदैन भन्न खोजेको हुँ ।
नम्बरको आधारले हेर्ने हो भने त बीएमा मैले पढ्दाखेरि फर्स्ट इयरमा जसले टप गरेको थियो, सेकेन्ड इयरमा उ माइक्रोइकोनोमिक्समा फेल भयो । म सबैमा पास भएँ । उसको ईंग्लिस र अरू विषय राम्रो रैछ । मेरो इकोनोमिक्स राम्रो थियो । त्यसैले सबै फर्स्ट बेन्चरले मात्रै राम्रो गर्छन् र डाक्टर इन्जिनियर हुन्छन् भन्ने पनि छैन ।
दोस्रो कुरा, स्कुलको प्रमाणपत्र मात्रै दिने खालको शिक्षा हामीले अवलम्बन गरिरहेका छौँ, यसमा सुधार हुनुपर्छ । सर्टिफिकेट ओरियन्टेड होइन कि ज्ञान बढाउने खालको शिक्षा पद्धति हुनुपर्छ भन्ने हो ।
अनि तपाईँले आफ्नो स्कुलको फर्स्ट बेन्चर खरदार छ भन्नुभएको सत्य घटना हो कि काल्पनिक उदाहरण हो ?
त्यो सत्य घटना नै हो । मेरो एक कक्षादेखि पाँच कक्षासम्म एउटा फर्स्ट बेञ्चर साथी थियो । ६ कक्षादेखि अर्को स्कुल पढ्दा अर्को फर्स्ट बेन्चर साथी थियो । कलेजमा पनि फरक–फरक थिए । उनीहरूलाई ईंगित गरेको हो । र, यो एउटा प्रवृत्ति पनि हो ।
तर, तपाईँले विद्यार्थीहरूलाई नै म थर्ड बेञ्चर मुख्यमन्त्री भएँ, फर्स्ट बेञ्चर खरदार भयो भनेर सुनाउँदा पढ्नलाई नै निरुत्साहित गरेको जस्तो भएन ?
पढ्नलाई निरुत्साहित होइन, थर्ड बेञ्चरलाई प्रोत्साहित गरेको हो । तपाईँले भनेको जस्तो हो भने त एपिजे अब्दुल कलामको जीवनी कसैले पढ्नै भएन । जर्ज बर्नाड शा, अब्राहम लिंकन, विल गेट्सको जीवनी पनि पढ्नु भएन । उनीहरूको जीवनी पढ्दा त डिस्करेज हुने भइयो नि । तर के गर्नुहुन्छ, आइन्स्टाइनकै पढ्नुपर्छ । आइन्स्टाइनको म्याथ पढेर नम्बर ल्याउँदै छौं । तर उनको जीवनी पढ्यो भने त पढ्नु पर्दैन भनेर बुझिन्छ कि मिहिनेत गर्नुपर्छ भन्ने बुझिन्छ ? के भन्दा आइन्स्टाइनको जीवनीले ?
केपी ओलीले क्लासमा धेरै पढ्न पाउनुभएन होला । तर, बाहिरी ज्ञानले उहाँलाई काम गरिरहेको छ नि । त्यसैले ज्ञान भनेको क्लासभित्र र किताबको पानामा मात्र हुँदैन भन्ने हो । ज्ञान र सफलता बुकमा मात्रै खोज्ने हो भने कुशल भुर्तेलले देशको नाम चम्काउँदैन थियो होला । दीपेन्द्र ऐरीले विश्व कीर्तिमान बनाउँदैन थियो होला । होइन र ?
त्यो त हो ।
त्यस कारण ज्ञान भनेको किताबले मात्र ज्ञानको मापन गर्दैन भन्ने हो ।
सोसल मिडियामा त तपाईँमाथि चर्कै टिप्पणीहरू भइरहेका छन् नि ?
त्यो त अब के गर्नुहुन्छ कति काटेर हाल्छन् । पूरै हेर्नुभयो भने मेरो भनाइको अर्थ बुझिहाल्नु हुन्छ । केही सेकेन्डको क्लिप मात्र हेरेर धारणा बनाउनेलाई के भन्न सकियो र ।
पढाइमा अरूसँग कम्पिटिसन अहिले पनि गर्न सक्छु । लेख्न पर्यो भने पनि कोही आए हुन्छ मसित भिड्न । पढेरै कलेजमा राजनीतिक गरेको हो । स्ववियू सभापति लड्या हो ।
फर्स्ट बेञ्चर चौधरी स्कुलमा पढाउँदैछन्
मुख्यमन्त्री कार्कीले सुनसरीको इनरुवा–६ स्थित जनता माध्यमिक विद्यालयबाट माध्यमिक तहको अध्ययन गरेका हुन् । पछि उनले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरे ।
कार्कीका सहपाठी र उनकै शब्दमा ‘फस्ट बेन्चर’ भनिएका मातृका चौधरी अहिले सुनसरीको खनारस्थित शारदा माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक छन् । उनी त्यस बेलाका ‘सेकेन्ड ब्वाइ’ हुन् ।
चौधरी जनता मावि मधेसाका २०४७ सालका एसएलसी ब्याच हुन् । उनी केदार कार्की लास्ट बेञ्चर भएकाले त्यसबेला सँगै पढेको वा नपढेको खासै याद नगरेको बताउँछन् ।
‘उनी(कार्की) लास्ट बेन्चमा बस्थे रे, मन्त्री–मुख्यमन्त्री भएपछि समकालीन साथीहरूले सोधी खोजी गरी पत्ता लगाएछन्,’ चौधरीले भने, ‘अहिले आएर उनले आफैँले लास्ट बेन्चमा बस्थेँ भनेछन्, उनले सत्य नै बोलेका हुन् ।’
तर त्यस बेलाका फस्ट बेन्चर खरिदारमै सीमित भएर भुँडी भर्न ठिक्क भएको कुरा चाहिँ असत्य भएको चौधरीले बताए ।
उनको पालामा चार जनाले एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए । ‘फर्स्ट ब्वाइ’ ज्ञानेन्द्र अधिकारी निजामती सेवामा सुब्बा भएका थिए । अधिकृत हुने बेलामा उनी अस्ट्रेलिया गएको चौधरी बताउँछन् । त्यस्तै थर्ड ब्वाइ दिनेश पौडेल धरानको तीनकुनेमा ओभरसियर पढी अहिले नेपाल विद्युत् प्राधिकरणमा सातौँ तहको अधिकृत छन् । चौथो प्रदीप निरौला एमएस्सी उत्तीर्ण गरी विराटनगरकै निजी कलेज पढाउँछन् ।
कार्की मधेसा छाडेर मोरङको टंकिसिनवारीमा सिफ्ट भएकाले अलिक अगाडि नै सम्पर्क टुटेको उनका विद्यालयका साथीहरू बताउँछन् । क्याम्पस तहको अध्ययन भने कार्कीले महेन्द्र मोरङ क्याम्पसबाट पुरा गरेका हुन् । क्याम्पसमा लामो समयसम्म विद्यार्थी राजनीति गरे । वर्षैपिच्छे एड्मिसन गरिरहने भएकाले ‘केदार कार्की म सँगै पढेको हो’ भन्ने धेरै भेटिन्छन् ।
मलाई यो भनाई राम्रो लाग्यो।