संघीयता कार्यान्वयनका विषयमा गठबन्धनका शीर्ष नेता र मुख्यमन्त्रीहरूबीच बालुवाटारमा छलफल – Nepal Press

संघीयता कार्यान्वयनका विषयमा गठबन्धनका शीर्ष नेता र मुख्यमन्त्रीहरूबीच बालुवाटारमा छलफल

काठमाडौं । संघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी निवास बालुवाटामा राखेको बैठकमा संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्याबारे छलफल भएको हो।

बैठकमा संघीयता कार्यान्वयनमा देखिएको समस्या समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा संघीयता कार्यान्वयनमा देखिएको समस्याबारे मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरूलाई ध्यानाकर्षण गराए।

छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, जसपा नेता मनिष सुमन, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ सहभागी थिए।

राष्ट्रिय समन्वय परिषद् दोस्रो बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं आएको बेलामा प्रधानमन्त्रीले छलफल गरेको प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

बुधवार भएको परिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले परिवर्तनको मुख्य संवाहक हुनुका नाताले आफू संघीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

उनले भनेका थिए, ‘संघीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूले मप्रति भरोसा गर्नुभएको छ, यही शक्तिका साथ सङ्घीयता कार्यान्वयनमा लाग्छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर