भरतपुर महानगर र माडी नगरपालिकाबीच पाँच वर्षे भगिनी सम्बन्ध सुरु – Nepal Press

भरतपुर महानगर र माडी नगरपालिकाबीच पाँच वर्षे भगिनी सम्बन्ध सुरु

चितवन । यहाँका दुई स्थानीय तह भरतपुर महानगरपालिका र माडी नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । आज बिहीबार माडी नगरपालिकामा एक कार्यक्रम गरि दुई पालिकाले औपचारिक रुपमा भगिनी सम्बन्ध थालेका हुन् ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले भगिनी सम्बन्धको समझदारी पत्रमा हस्ताक्षर गरेर सम्बन्ध थालेका हुन् । दश बुँदे समझदारी बनाएर भगिनी सम्बन्ध कसरी अघि बढाउने भन्ने उल्लेख गरिएको छ ।

माडीको विकासमा साझेदारी गर्ने सकरात्मक सोच र उदेश्यका साथ भगिनी सम्बन्ध कायम गरिएकाले यो सम्बन्धमा अझै प्रगाढ हुँदै जाने आशा गरिएको भरतपुर महानगरकी प्रमुख दाहालले बताइन् ।

उनले माडीलाई पर्दा भरतपुरले र भरतपुरलाई पर्दा माडीलाई सहयोग गर्ने गरी विभिन्न समानताका विषयमा एक भएर अगाडि बढ्ने अठोट लिएको उनको भनाइ थियो ।

माडी नगरपालिका प्रमुख महतोले माडी र भरतपुरको सम्बन्ध ५ वर्षमात्र नभइ लामो समयसम्म अगाडि बढोस् भन्ने चाहना राखेको बताइन् । माडी नगरपालिकाको लागि पहिलो भरतपुर महानगरसँग पहिलो सम्झौता भएकाले ऐतिहासिक रहेको समेत उनले बताइन् ।

भगिनी सम्बन्धको अवधि पाँच वर्षको रहने छ । भरतपुर महानगरपालिकाको १९ वटा वडा र माडी नगरपालिका चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ । यी दुई जोडीएका स्थानीय तह हुन् । माडी र भरतपुर महानगरको सीमाना चितवन राष्ट्रिय निकुञ्जले छुट्याएकोे छ ।

यी दुई नगरको प्रकृति मिल्ने भएकोले विकास निर्माण तथा सेवा मुलक कार्यमा संयुक्त योजना बनाउने लक्षय लिइएको महानगरकी प्रमुख दाहालले बताइन् । भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ मनाउँदै छ । भरतपुरमा घुम्न आउने पर्यटकहरु माडीमा आउने वातावरण मिलाउन सहज हुने माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले बताईन् । उनले माडी र भरतपुरको बिकासका लागि भगिनी सम्बन्धले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

सो समझदारी पत्रमा भरतपुर महानगरपालिका र माडी नगरपालिकामा रहेका रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व र विशेषताका आधारमा दुवै स्थानिय तहबाट प्रचार प्रसार गरिने उल्लेख गरिएको छ । यस्तै कृषि, पशुपालन, उद्यमशीलता, शिक्षा, लगाएतका सेवामुलक कामहरुमा सहकार्य गर्ने उल्लेख छ । दमकल र एम्बुलेन्स सेवाको सञ्चालन तथा बस्ती बिकासका लागि भू उपयोग योजना तर्जुमा गरी अगाडी बढ्ने समझदारी पत्रमा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *