समाजवादी मोर्चा डोटीको संयोजकमा एनान
डोटी । समाजवादी मोर्चा डोटीको संयोजकमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कमलबहादुर गड्सिला एनान छानिएका छन् ।
बिहीबार सम्पन्न डोटी जिल्लास्तरीय सन्देशसभाले एनान संयोजक रहने गरी ९ सदस्यीय जिल्ला संयोजन समिति चयन गरेको हो । संयोजन समितिको सदस्यमा माओवादी केन्द्रबाट एनानसहित डबल बोगटी र गीता नेपाली चयन भएका छन् ।
यस्तै एकीकृत समाजवादीबाट शिवराज खड्का र गोरख सार्की, नेकपाबाट मोहन सी र दीपेन्द्र सी तथा जनता समाजवादी पार्टीबाट श्रीचन्द्र श्रेष्ठ र रेनुका श्रेष्ठ सदस्य छानिएको जिल्ला संयोजक एनानले जानकारी दिए ।
केन्द्र, प्रदेश र जिल्ला हुँदै स्थानीय तहसम्म सन्देशसभा गर्ने कार्ययोजनाअनुसार जिल्लासभा भएको संयोजकले बताए ।
त्यस्तै समाजवादी मोर्चा घटकका चार दलहरूलाई स्थानीय तहको जिम्मेवारी बाँडफाँटसमेत गरिएको छ । एनानका अनुसार बोगटान फुड्सिल, जोरायल र सायल गाउँपालिकाको जिम्मेवारी माओवादी केन्द्रलाई दिइएको छ ।
केआईसिंह र आदर्श गाउँपालिका तथा दिपायल सिलगढी नगरपालिका एकीकृत समाजवादीलाई, शिखर नगरपालिका र बडिकेदार गाउँपालिका नेकपालाई र पूर्वीचौकी गाउँपालिकाको जिम्मेवारी जनता समाजवादी पार्टीलाई दिइएको छ ।
सन्देशसभालाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री माया भट्ट, नेकपाका केन्द्रीय सदस्य विकल्प सीलगायतले सम्बोधन गरेका थिए ।
जिल्ला संयोजन समितिले जिल्लाका नौ वटै स्थानीय तहमा सन्देशसभा र मोर्चाको संगठन विस्तार गरिने एनानले जानकारी दिए ।